पत्रकारिता क्षेत्रमा राज्यको लगानी हुनुपर्छ: महासंघ अध्यक्ष पोख्रेल

0
Shares

इलाम । 

नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोख्रेलले पत्रकारिता क्षेत्रमा राज्यको लगानी हुनुपर्नेमा जोड दिनुभएको छ । राज्यले अभिभावकीय भूमिका निर्वाह गर्नुपर्ने भए पनि राज्य सधैं शासकीय स्वभाव र शासकीय सोचका साथ प्रस्तुत हुँदा नेपाली पत्रकारिता अघि बढ्न नसकेको उहाँको जिकिर थियो ।

नेपाल पत्रकार महासंघ इलाम शाखाले हरेक वर्ष वैशाख १ गत प्रदान गर्दै आएको आशिष स्मृति पत्रकारिता पुरस्कार वितरण समारोहमा अध्यक्ष पोख्रेलले प्रवृत्ति र चरित्रका घटनाले २०७८ साल पत्रकारिता क्षेत्रका लागि त्यति सुखद् नभएको उल्लेख गर्नुभयो । २०७८ सालमा प्रेस स्वतन्त्रता उल्लङ्घका ७२ वटा र श्रमसँग जोडिएका ३ सय बढी केसहरू महासंघमा आएको जानकारी गराउनुभयो । उहाँले सरकारसँग आम सञ्चार प्रतिष्ठान निर्माण गर्न सरकारलाई दबाब दिइरहेको पनि उल्लेख गर्नुभयो । पत्रकारहरू चुनावमा होमिने सम्भावना धेरै रहेको जनाउँदै यदि पत्रकार चुनाव लड्न खोजे पत्रकार महासंघको आबद्धतालाई तोडेर जान आग्रह गर्नुभयो ।

चुनावमा दलहरूबाट आउने घोषणापत्रमा त्यसको सूक्ष्म अध्ययन गर्दै प्रेस स्वतन्त्रताको पक्षमा दलहरूको धारणालाई विश्लेषण गर्न जरुरी रहेको उल्लेख गर्नुभयो । यता, आशिष स्मृति पत्रकारिता पुरस्कारबाट इलामका पत्रकार भगिरथ भण्डारी नगद १० हजार रूपियाँसहित पुरस्कृत हुनुभयो ।

तत्कालीन रेडियो नेपालका इलाम संवाददाता आशिष राईको २०५९ साल वैशाख १ गते खोलामा डुबेर असमायिक निधन भएपछि नेपाल पत्रकार महासंघ इलाम शाखाले अक्षय कोष खडा गरी उहाँको स्मृतिमा मेची अञ्चलमा क्रियाशील एकजना पत्रकारलाई पुरस्कृत गर्दै आएको छ । यो पुरस्कारबाट हालसम्म इलाम, झापा, पाँचथर र ताप्लेजुङ्गका १६ जना पुरस्कृत भइसकेका छन् । पुरस्कार वितरण कार्यक्रममा महासंघका प्रदेश १ अध्यक्ष लिलाबल्लभ घिमिरेले नेपाली पत्रकारिता सबैभन्दा ठूलो जोखिम र चुनौतीमा रहेको बताउनुभयो ।

उहाँले युटुबे र सामाजिक सञ्जाललाई पाठकले विश्वास गरे नेपाली पत्रकारिताका लागि ठूलो दुर्भाग्य हुने चिन्ता व्यक्त गर्नुभयो । कार्यक्रममा महासंघ प्रदेश १ उपाध्यक्ष हिमा चेम्जोङ्ग, जिल्ला समन्वय समिति इलामका प्रमुख गणेश बराल, इलाम नगरपालिकाका मेयर महेश बस्नेत, महासंघ झापा जिल्ला अध्यक्ष एकराज गिरी, महासंघ इलामका पूर्वसभापति एवं प्रदेश १ का पूर्व उपाध्यक्ष सोमनाथ सुसेली, अग्रज पत्रकार देवीक्षेत्री दुलाललगायतले स्वर्गीय पत्रकार राईले छोटो समयमा नेपाली पत्रकारितामा पु¥याएको उच्च योगदानको चर्चा गर्नुभएको थियो ।