बाजुरा
संघ र प्रदेश सरकारको गठबन्धनको निरन्तरता बाजुरामा दिइने भएको छ । आगामी वैशाख ३० गते हुने स्थानीय सरकारको निर्वाचनका लागि सत्ता साझेदार दलबीच गठबन्धन हुने भएको हो ।
नेपाली कांग्रेसका सभापति रामसिंह रावल, नेकपा माओवादी जिल्ला इन्चार्ज केशव विक र नेकपा समाजवादीका जिल्ला अध्यक्ष गगन रावलबीच जिल्लाका नौवटै स्थानीय तहमा गठबन्धन गरी संयुक्तरूपमा जाने लिखित सहमति भएको छ ।‘आगामी २०७९ वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा सरकारमा रहेका पाँच दलीय गठबन्धनका शीर्ष नेताहरूबीच भएको छलफल सहमती र निर्णयलाई बाजुरा जिल्लामा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा समाजवादी र जनता समाजवादी पार्टी हार्दिक स्वागत गर्दछ’ – बुधवार दिउँसो प्रकाशित संयुक्त विज्ञप्तिमा उल्लेख छ । केन्द्रबाट जारी विज्ञप्तिलाई आत्मसात् गर्दै देश र जनताको हितलाई सर्वोपरि राख्ने तथा अराजक, दम्भलाई क्षणभंगुरसहित बनाउने प्रण गर्ने विज्ञप्तिमा उल्लेख छ ।
२०७४ को स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट ६ वटा स्थानीय तह र नेकपा एमालेबाट तीन वटा स्थानीय तह जितेका थिए । नेकपा माओवादी केन्द्रले तीन वटा वडा जितेको थियो । स्वामीकार्तिक गाउँपालिकाका अध्यक्ष उपाध्यक्षसहित नेकपा समाजवादीमा प्रवेश गरेका छन् भने त्यस्तै दुुईटा वडाअध्यक्षले पनि समाजवादी प्रवेश गरेका छन् ।यसैबीच हिमाली गाउँपालिकाबाट गाउँपािलका अध्यक्ष गोविन्दबहादुर शाही नेपाली कांग्रेसबाट सर्वसम्मत एकल उम्मेदवार चयन भएका छन् भने नेकपा एमालेबाट अजबहादुर मल्ल पनि सोही पालिकाको अध्यक्षको उम्मेदवारमा सर्वसम्मत सिफारिस भएका छन् । २०७४ को स्थानीय निर्वाचनमा गोविन्द बहादुर मल्लले १ हजार ७ सय ७६ प्राप्त गरी ३ सय मतान्तरले अजबहादुर मल्ललाई हराएका हुन् ।
बाजुराका झिनोरूपमा केही वडा अध्यक्ष पदका उम्मेदवार सर्वसम्मत सिफारिस भएका छन् भने ६९ वडामध्ये झण्डै ६५ वडामा वडाअध्यक्ष समेत सिफारिस हुन सकेका छैनन् । एक सातादेखि नेपाली कांग्रेस र नेकपा एमालेको संसदीय बोर्डको बैठक चलिरहेको छ । पछिल्लो समयमा स्थानीय तहमा नीतिनिर्माण पनि गर्ने र सेवा सुविधा पनि ह्वात्तै बढेकाले जनप्रतिनिधिका आकांक्षी बढेको दलका नेता कार्यकर्ताले बताएका छन् ।
जिल्ला स्तरमा गठबन्दनधारीबीच सहमती भए पनि त्यसको साझा एजेन्डा घरघरसम्म कसरी लैजाने भन्ने ठोसरूप दिई सकेको छैन ।२०७४को मतभारका आधारमा उम्मेदवार पद बाँडफाँट गर्ने भनिए तापनि कहाँ कस्ले कति पदलेने भन्ने छलफल चलिरहेको नेकपा समाजवादीका केन्द्रीय सदस्य एवं पूर्व सांसद हिकमतजंग शाहीले बताउनुभयो । कांग्रेस एमाले दलभित्र गुटैपिच्छे उम्मेदवारका आकांक्षी हुँदा छनौट गर्न सकस भएको ती दलका नेता कार्यकताले बताएका छन् ।
प्रतिक्रिया