तनहुँमा २७औं वन्यजन्तु सप्ताह शुरू


तनहुँ । 

तनहुँमा बिहीबारदेखि २७औं वन्यजन्तु सप्ताह शुरू भएको छ । ‘मानव–वन्यजन्तु सहअस्तित्व ः हाम्रो साझा दायित्व’ भन्ने मूल नाराका साथ भानुभक्त प्राणी उद्यानको आयोजनामा वन्यजन्तु सप्ताह शुरू भएको हो ।

सप्ताहको शुभारम्भ गर्दै प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले मानवले वन्यजन्तुको सहअस्तित्व स्वीकार गर्नुपर्ने बताउनुभयो । मानव र वन्यजन्तुको सहअस्तित्व स्वीकार नहुँदा विभिन्न घटना घट्न भएकाले दुवैको अस्तित्व बराबर छ भन्ने बुझ्न आवश्यक रहेको प्रमुख जिल्ला अधिकारी अर्यालले बताउनुभयो । मानव र वन्यजन्तुको सहअस्तित्वका लागि जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्नेमा उहाँको जोड थियो ।

प्राणी उद्यानका संरक्षण अधिकृत भोजराज पन्थले वन्यजन्तुको संरक्षण गर्नुपर्ने बताउँदै मानव र वन्यजन्तुको सहअस्तित्वबारे सचेतना जगाउने उद्देश्यले सप्ताहको समयमा विविध कार्यक्रम गरी सचेत गराउने पन्थले जानकारी दिनुभयो ।नेपाल पत्रकार महासंघ तनहुँका अध्यक्ष उज्ज्वल पौडेलले जिल्लामा मानव र वन्यजन्तुबीचको द्वन्द्व समस्याका रूपमा रहेकाले यसको न्यूनीकरणका लागि सञ्चारमाध्यमको तर्फबाट सचेतना जगाउन सहयोग गर्ने बताउनुभयो ।

भानुभक्त प्राणी उद्यानले वन्यजन्तु सप्ताहको अवसरमा सात दिनसम्म विविध कार्यक्रमको आयोजना गर्नेछ । सप्ताहको अवसरमा चरा अवलोकन गर्नुका साथै उद्यान सिमाना निरीक्षण तथा अनुगमन, सरसफाई, विद्यालय शिक्षा कार्यक्रम, वन डढेलोसम्बन्धी सचेतनात्मक कार्यक्रम, स्थानीय सरोकारवालासँग छलफल कार्यक्रम सञ्चालन गरिने उद्यानका रेन्जर दिपेश मिजारले जानकारी दिनुभयो ।