अर्थहीन परिवर्तनले जनता शान्त र सन्तुष्ट छैनन् : पूर्वराजा ज्ञानेन्द्र

0
Shares

काठमाडौं ।

पूर्वराजा ज्ञानेन्द्र शाहले अर्थहीन परिवर्तनले नेपाली जनता सन्तुष्ट नभएको टिप्पणी गरेका छन् । नयाँ वर्ष २०७९ को अवसरमा शुभकामना सन्देश दिँदै पूर्वराजा शाहले चर्का नारा, गहकिला आशा, आश्वासन तथा अर्थहीन परिवर्तन वा रुपान्तरणको प्रकृयाले नेपाली जनमानसलाई शान्त र सन्तुष्ट पार्न नसकेको टिप्पणी गरेका हुन् ।

वर्ष बदलिँदा हाम्रो हर्ष पनि बढ्नु पर्ने उनको तर्क छ । भित्ताको पात्रो फेरिएपछि जनजीवनमा स्तर वृद्धि हुनुपर्ने पूर्वराजाले धारण व्यक्त गरेका छन् । नेपालीको घर–घरमा बढ्दो महंगी र थपिँदो आर्थिक बोझले जीवन गुजरा गर्न अत्यन्त कठिन भएको उनले जनाएका छन् ।

‘हाम्रो अर्थविद्हरू तथा उद्यमीहरूले गलत मौद्रिक र कमजोर वित्तीय नीतिका कारण अर्थ व्यवस्था जटिल बन्दै गएको चिन्ता गरिरहेका छन् । नेपालीको घर घरमा बढ्दो महंगी र थपिदो आर्थिक बोझले जीवन गुजरा गर्न अत्यन्त कठिन भएको दुखेसो छ । नेपाली सबैको भलो होस, सबै नेपालीको सपना साकार होस् र प्रत्येक प्रयास उपलब्धिमा परिणत होस् यही हाम्रो अभिलासा हो,’ उनीद्वारा जारी शुभकामना सन्देशमा भनिएको छ ।

यसका साथै उनले उनले देशको स्थायित्व, शान्ति र राष्ट्रिय अस्मितामा कुनै न कुनै स्तरको प्रभाव पर्न जाने अवस्थालाई सम्झेर सदैव चनाखो हुनुपर्ने बताएका छन् ।