मुगुका होमस्टे पर्यटनको पर्खाइमा



मुगु  । 

मुगु भन्ने बित्तिकै पर्यटकीय सम्भावना बोकेको जिल्ला र रैथाने अर्गानिक बाली उत्पादन हुने ठाउँ भनेर धेरैले चिन्छन् । मुगु आउनले पर्यटक यहाँका रमणीय पर्यटकीयस्थल घुमेर अघाउँदैनन् ।

रैथाने खाद्यान्नको स्वाद जीवनभरका लागि बोकेर फर्कन्छन् ।मुगु आउने पर्यटक रारा ताललाई प्राथमिकतामा राखेर आए पनि फर्कने बेला भनेर मुगुको अर्कै तस्विर बोकेर फर्कन्छन् । यहाँ रारा ताल मात्रै छैन, राराजस्तै दर्जनौं पर्यटकीय स्थल पर्यटकको पर्खाइमा छन् । यिनै पर्यटकीयस्थलका साथै मुगुका सामुदायिक हामेस्टेहरू पर्यटकको पर्खाइमा छन् ।मुगुमा एक नगरपालिकासहित तीन गाउँपालिका छन् । तीमध्ये कार्मारोङ्ग गाउँपालिका पुग्ने पर्यटक धेरै हुन्छन् । यस गाउँपालिकाको वडा नम्बर ८ मा रहेको माग्री गाउँमा कार्मारोग सामुदायिक होमस्टे सञ्चालनमा छ ।

पछिल्लो समय सामुदायिक होमस्टेमा पर्यटक नआउँदा सुनसान बनेका छन् । माग्री गाउँमा केही वर्ष पहिला सञ्चालन गरिएका दुई दर्जनभन्दा बढी सामुदायिक होमस्टे हिजोआज पर्यटक नआउँदा सुनसान छ ।विगतका वर्षहरूमा होमस्टेमा ओइरो लाग्ने गरेको पर्यटक आजभोलि पुग्न सकेका छैनन् । रारा घुम्न आउने पर्यटकले मुगमकामारोङ्ग गाउँपालिकामा रहेका कोइकी हिमाल, छायाँनाथ मन्दिर, तिहार गुम्बा, ऋणमोक्ष मन्दिर, त्यहाँको लामा समुदायको रीतिरिवाज, चालचलन, सांस्कृतिकलगायत अन्य पर्यटक स्थलहरूमा अवलोकन गर्न सक्छन् ।

जंगली जनावर, वन्यजन्तु, वनस्पति आदिको अवलोकन र घुम्न आउने पर्यटकलाई बास बस्न सकस पर्ने हुँदा उनीहरूलाई लक्षित गरी माग्री गाउँमा लाखौं खर्चेर सामुदायिक होमस्टे बनेको थियो । तर, महामारी र अन्य कारणले होमस्टे बन्द भई व्यवसाय नै चौपटमा परेको होमस्टे सञ्चालक पेमा कुन्साङ तामाङले बताउनुभयो ।

रैथाने बाली पहिलो प्राथमिकतामा

होमस्टेमा आउनेहरूलाई आरमदायी बाससँगै स्थानीय उत्पादन फापर, कोदाको रोटी, सिस्नो, नाफल, आलु, कागुनो, चिनोबाट बनाएको ढिडो, रोटी, भात, खुवाउने र स्थानीय सांस्कृतिक रीतिरिवाजको प्रदर्शनीसमेत गर्ने गुम्बा, मठ–मन्दिर, हिमाल, वन्यजन्तु, वनस्पति अवलोकन समेत गराउने स्थानीय होमस्टे सञ्चालकहरूको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्