शुरू भयो चट्याङको विनाश



हेटौंडा । 

मकवानपुरको बिकट राक्सिराङ गाउँपालिकामा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा राक्सिराङ गाउँपालिका वडा नम्बर–१ सानोभावर, गडुवान निवासी करिब ४० वर्षीया सुकुमाया मोक्तान रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

प्रहरीका अनुसार आइतबार साँझ चट्याङ लागेर उहाँ गम्भीर घाइते हुनुभएको थियो । घाइते उहाँको हेटौंडा उपमहानगरपालिका वडा नम्बर–११ स्थित चुरेहिल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । मृतक मोक्तानका ६० वर्षीय पति वीरबहादुर थिङ घाइते हुनुभएको प्रहरीले जनाएको छ । मृतक मोक्तानको शव पोष्टमार्टम गरी परिवारको जिम्मा लगाइएको प्रहरीले बताएको छ ।

चुम्बकीय शक्तियुक्त प्रशस्त खनिज पदार्थ तथा खानीहरुका कारण परेको चट्याङले मकवानपुरमा हालसम्म २ सय ६० जनाको ज्यान लिइसकेको छ । विगत ४ दशकयताको चट्याङका घटना र  त्यसबाट भएका क्षतिको विवरण सार्वजनिक गरिएको विपद् पूर्वतयारी तथा प्रतिकार्य योजनाअनुसार ५० वटा घटनामा परी उनीहरूको ज्यान गएको हो ।

घटनामा २० जना घाइते भएका थिए । चट्याङबाट करिब २ सय घर प्रभावित भए । २७ घर चट्याङले पूर्ण रुपमा क्षति गराउनुका साथै १ सय २० भन्दा बढी चौपाया मरेका छन् । चौपायाको मात्र करिब ९ लाख बराबर क्षति भएको योजना प्रतिवेदनमा उल्लेख छ ।

मकवानपुर चुरे पहाड र महाभारत पहाडको काखमा रहेको, कुलेखानी जलविद्युत् आयोजना, शक्तिशाली अर्थिङ गरिएका उद्योगसमेत रहेकाले मकवानपुरलाई चट्याङको जोखिमयुक्त जिल्लाका रुपमा हेरिएको छ । चट्याङको सबभन्दा बढी प्रभाव फागुनदेखि साउनसम्म देखिने भएकाले उक्त अवस्थालाई विचार गरेर जिल्ला दैवी प्रकोप उद्धार समितिले विस्तृत कार्य योजना बनाएको थियो ।

कार्य योजनाअनुसार चट्याङबारे अध्ययन गरी रोकथामका लागि वैज्ञानिक पद्धति अवलम्बन, पीडितलाई सुरक्षित स्थानमा राखी सहयोग पुर्‍याउने, अर्थिङको व्यवस्था गरी समुदायलाई सुरक्षित बनाउने र चट्याङ प्रभावितलाई अस्पतालमा छुट्टै वार्डको व्यवस्था गर्नेलगायत उल्लेख गरिएको थियो ।

वर्षा याम र बादल लागेका बेला सजग रहन तथा विद्युतीय सामग्रीबाट टाढा रहन सूचना सामग्री तयार गरी नागरिकलाई सूचित गरिने भनिए पनि त्यसो हुन सकेको छैन । मकवानपुरमा घटेका २१ प्रकारका प्रकोपमध्ये चट्याङलाई दैवी प्रकोप उद्धार समितिले पाँचौँ नम्बरमा सूचीकृत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्