मकवानपुरमा १९ मतदान स्थल अति संवेदनशील



हेटौंडा ।

मकवानपुरका १० स्थानीय तहमा १ सय ६५ मतदान स्थल र ३ सय ५६ मतदान केन्द्र कायम भएका छन् । ती मतदान स्थल मध्ये सुरक्षाका दृष्टिले १९ वटा अति संवेदनशील, ६० वटा संवेदनशील र बा“की ८६ वटा कम संवेदनशील (सामान्य) रहेको स्थानीय प्रशासनले बताएको छ ।

जिल्लाभित्र स्थानीय तह निर्वाचन भयरहित, शान्तिपूर्ण र सौहार्दपूर्ण वातावरणमा सम्पन्न गर्न गृह मन्त्रालयबाट प्राप्त स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा योजना, २०७८ का आधारमा मकवानपुरको स्थानीय तह निर्वाचन विशेष सुरक्षा योजना जिल्ला सुरक्षा समितिबाट पारित गरी कार्यान्वयनमा ल्याइएको छ ।

विशेष सुरक्षा योजनाका आधारमा जिल्लाभित्रका करिब ४० प्रतिशत भन्दा बढी मतदान स्थल तथा मतदान केन्द्रको निरीक्षण प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको नेतृत्वमा जिल्ला सुरक्षा समितिका पदाधिकारीबाट भइसकेको र बाँकी मतदान स्थल तथा मतदान केन्द्रको निरीक्षण जारी छ ।

स्थानीय तह निर्वाचनलाई भरपर्दो एवम् विश्वसनीय बनाउन जिल्लाभित्र इजाजतप्राप्त हातहतियार चैतसम्म नजिकको प्रहरी एकाइमा बुझाउन हतियार धनीका लागि चैत ११ गते सूचना प्रकाशन गरिएपछि हातहतियार बुझ्ने कार्य भइरहेको प्रशासनले जनाएको छ । जिल्लामा १ हजार ४ सय ७३ म्यादी प्रहरी छनोट गरी सोमबारबाट जिल्ला प्रहरी कार्यालय मकवानपुरद्वारा तालिम प्रदान गर्ने कार्य प्रारम्भ गरिएको छ । यसका साथै स्थानीय तह निर्वाचनका समयमा जिल्लाका विभिन्न मतदान स्थल/मतदान केन्द्रमा खटिने कर्मचारीको विवरण तयारीको कार्यसमेत भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्