चुनाव रोक्न सरकारले धेरै कोसिस गर्‍यो : अध्यक्ष ओली 

पाँच दलीय गठबन्धन जति ठूलो भएको भनिए पनि एमाले जति नपुग्ने दाबी



बझाङ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनाव रोक्न सरकारले धेरै कोसिस गरेको बताएका छन् । बझाङको चैनपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले कानुन परिवर्तन गरेर, अध्यादेश ल्याएर चुनाव पर सार्न खोजिएको बताए ।

अहिलेको सरकारले स्थानीय तह जनप्रतिनिधि विहीन बनाउन खोजेको भन्दै ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई भने, ‘म आग्रह गर्न चाहन्छु, त्यस्तो प्रयास नगर्नुस्, ।’

अध्यक्ष ओलीले देशभरि एमालेको पक्षमा जनलहर उर्लिएको बताएका छन् । एमालेलाई जिताउनका लागि जनता चुनावको प्रतीक्षामा रहेको उनको दाबी छ । भारतले मिचेको भूमि फिर्ता ल्याउन खोज्दा आफ्नो सरकार सिध्याउन खोजेको समेत ओलीको आरोप छ ।

ओलीले जिल्लाका मतदातालाई सम्बोधन गर्दै विकासका लागि एमालेलाई मतदान गर्न आग्रह गरेका छन् । एमाले प्रतिपक्षमा भए पनि जनआर्कषर्ण भएको उनले बताए । नेकपा एमाले जनताको पार्टी भएकाले एमालेमा गोलबद्ध हुन उनले बझाङवासीलाई आग्रह गरेका छन् ।

उनले एमाले बालबालिकादेखि वृद्धवृद्धाको पक्षधर पार्टी भएको बताए । उनले आफूहरू आधुनिक नेपाल निर्माणको अभियानमा लागेको बताएका थिए ।‘जब एमाले पहिलो पटक सरकारमा सहभागी भयो, आफ्नो गाउँ आफै बनाऊँ अभियान, सामाजिक सुरक्षा भत्ता वितरणलगायतका उत्कृष्ट कार्यक्रम ल्यायो,’ उनले भने ।

एमालेले नेतृत्व गरेको समयमा मुलुकले उत्कृष्ट विकास गरेको ओलीको दाबी थियो । एमाले नेतृत्वको सरकार सधैँ निर्माण कार्य गरेर अर्थतन्त्रको विकास गर्ने तर अहिलेको गठबन्धन सरकारले अर्थतन्त्र समाप्त गरेको उनले बताए । उनले अहिलेको गठबन्धनलाई पाँच भाइको खन्चुवा गठबन्धन भएको संज्ञा दिएका छन् ।

अध्यक्ष ओलीले सेती नदीमा आएको बाढीले बझाङ र बैतडीमा अथाह क्षति गर्दा पनि वर्तमान सरकारले कुनै काम नगरेको आरोप लगाए । ‘प्रधानमन्त्री, गृहमन्त्री, प्रदेश सरकारका मुख्यमन्त्री बाढी प्रभावित ठाउँमा पुगे पनि कुनै काम गरेनन् । सेती नदीमा तटबन्ध निर्माण गरी खेतीयोग्य फाँट जोगाउन एमाले प्रतिबद्ध छ । भत्केका घर एमालेले निर्माण गर्छ,’ उनले भने । अध्यक्ष ओलीले बझाङका साथै सुदूरपश्चिममा पर्यटनको प्रचुर सम्भावना भएको बताएका थिए ।

वर्तमान सरकार चुनाव सार्ने कोसिस गरिरहेको समेत ओलीले आरोप लगाए । पाँच दलीय गठबन्धन जति ठूलो भएको भनिए पनि एमाले जति नपुग्ने उनको दाबी छ ।

नेकपा (एमाले) बझाङले आयोजना गरेको विशाल जनसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्न पुगेका ओलीले आफू २६ वर्षपछि बझाङ पुगेको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्