पिप्लेले यो वर्ष पनि जित्यो राजर्षि जनक


हेटौंडा । 

हेटौंडाको पिप्ले युवा क्लबले यो वर्ष पनि राजर्षि जनक कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । गत आइतबार भएको फाइनल खेलमा पिप्लेले ‘ए’ डिभिजन लिग च्याम्पियन मच्छिन्द्र क्लबलाई सडनडेथमा माथ खुवाएको हो । स्टार खेलाडीले भरिएको मच्छिन्द्रलाई हराउने क्रममा पिप्लेका गोलरक्षक अशोक बरालले दुई वटा प्रहार रोकेका थिए । बरालले विमल घर्तीमगर र देवेन्द्र तामाङको प्रहार रोकेका थिए । मच्छिन्द्रका छिरिङ गुरुङको प्रहार बारमा लागेर फर्किंदा सुजल श्रेष्ठ, विजय धिमाल र ओमुलाजा करिमको प्रहारमात्र गोल भएको थियो ।

पिप्लेका अशोक खवास, समिराज थोकर, अमिर श्रेष्ठ र रूपबहादुर लामाको प्रहार गोल भएको थियो । पिप्लेका कुलदीप कार्कीको प्रहार बाहिरिएको थियो भने अजायी मार्टिन्सको प्रहार मच्छिन्द्रका गोलरक्षक विशाल श्रेष्ठले बचाएका थिए । निर्धारित समय र टाइब्रेकरमा पनि बराबरी भएपछि सडनडेथमार्फत् उपाधि विजेताको टुंगो लगाइएको हो ।

खेलको १५ मिनेटमै मार्टिन्सको प्रहार पोलमा लागेर फर्किंदा पिप्ले अग्रता लिनबाट चुकेको थियो । ४३ औं मिनेटमा विमल घर्तीमगरको वान भर्सेस वान प्रहारलाई पिप्लेका गोलरक्षक बरालले बचाउ गरेका थिए ।

विजेता पिप्ले युवा क्लबले नगद १० लाख १ हजार रुपियाँ प्राप्त गरेको छ भने उपविजेता मच्छिन्द्रले ५ लाख ५ सय रुपियाँ पाएको छ । प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी पिप्ले युवा क्लबका रुपबहादुर लामा घोषित भए । लामाले नगद ५१ हजारसहित ट्रफी प्राप्त गरे । फाइनल खेलका ‘म्यान अफ दी म्याच’ पिप्लेका गोलरक्षक बराल घोषित भए । उनले नगद १० हजारसहित ट्रफी प्राप्त गरे ।

प्रतियोगिताका उत्कृष्ट गोलरक्षक मच्छिन्द्रका श्रेष्ठ, उत्कृष्ट डिफेन्डर वागमती युवा क्लब सर्लाहीका अमर श्रेष्ठ, उत्कृष्ट मिडफिल्डर मच्छिन्द्रका सुजल श्रेष्ठ, उत्कृष्ट फरवार्ड मच्छिन्द्रकै विमल घर्तीमगर र उत्कृष्ट प्रशिक्षक पिप्लेका सुबिन घिमिरे घोषित भए । विधागत् उत्कृष्ट खेलाडी र प्रशिक्षकले जनही २५ हजारसहित ट्रफी प्राप्त गरे ।