नवाैंपटक जिब्रो छेड्ने तयारीमा बुद्धकृष्ण

0
Shares

भक्तपुर ।

आगामी वैशाख २ गते मध्यपुरथिमि नगरपालिका–८ बोडेमा मनाइने जिब्रो छेड्ने जात्रामा यस वर्ष स्थानीय बुद्धकृष्ण वाग श्रेष्ठले नवौंपटक जिब्रो छेड्ने भएका छन् ।

श्रेष्ठले यसबारे जानकारी दिँदै बोडेको वर्षौंदेखिको परम्परालाई निरन्तरता दिन जिब्रो छेड्न तयारी गरेको बताउनुभएको हो । प्राचीन जात्रामा बोडेका श्रेष्ठ जातिले मात्रै जिब्रो छेड्नुपर्ने प्रचलन रहेको छ । जात्रालाई लोप हुनबाट जोगाउन यस वर्षसमेत गरी नवौंपटक जिब्रो छेड्ने तयारी भएको उहाँले बताउनुभयो ।

चैत मसान्तको दिन बोडे महालक्ष्मी मन्दिर प्राङ्गणमा लिङ्गो उठाएपछि जिब्रो छेड्ने व्यक्तिले निराहार व्रत बसेर २ गते मध्याह्नमा कर्मीनाइकेले विभिन्न देवगणको पूजा गरेपछि बोडेको पाँचो गणेशको दक्षिण फर्केको पाटीमा नकर्मीले एक महिनाअघि बनाएर तेलमा डुबाइराखेको १० इन्च लामो सुइरोले हजाराैं मानिसकै अगाडि जिब्रो छेड्ने परम्परा रहेको छ ।

यसअघि आठपटक जिब्रो छेडाइसकेका बुद्धकृष्णले नयाँ व्यक्ति तयार नभएपछि यस वर्ष पनि आफैंले जिब्रो छेडाउन लागेको बताउनुभयो । उहाँले अर्को वर्ष भने आफूले विश्राम लिने जानकारी दिनुभयो ।‘नेवारी संस्कारमा जोर पटकलाई शुभ नमानिने भएकाले यस वर्ष नवौंपटक छेडाउन तयार भएको हुँ, अर्को वर्ष विश्राम लिन्छु होला ।’ –उहाँले भन्नुभयो । कोरोना भाइरस संक्रमणका कारण २०७६ सालमा बुद्धकृष्णले जिब्रो छेडाउन पाउनुभएन ।

जिब्रो छेडेपछि चन्द्राकारकोे भ्वाय् अर्थात् महाद्वीप बोकेर टोल–टोल घुम्ने र भाँगु टोलमा पुगेर पाँचो गणेश मन्दिरमा जिब्रो छेडेको सुइरो निकालेर महालक्ष्मी मन्दिरको ठोकेपछि यो जात्रा सम्पन्न हुने परम्परा रहेको छ ।जिब्रोको घाउमा महालक्ष्मी मन्दिरको माटो झिकेर लगाई जिब्रो छेड्ने व्यक्तिले नाट्यश्वरको पूजा गरेपछि मात्र खानेकुरा खाने प्रचलन रहेको छ । प्वाल भएको जिब्रोमा महालक्ष्मीको माटो लगाएर घाउ निको हुने र त्यसमा अन्य औषधि लाउनु नपर्ने विश्वास रहँदै आएको छ । बोडेको नीलवाराहीसँग यो जात्रा जोडिएकाले पनि यो जात्रालाई निरन्तरता दिनसके बोडे बासिन्दाका लागि शुभ हुने विश्वास रहँदै आएको छ ।