कांग्रेसको प्रवास समन्वय एवं प्रचार समिति गठन


काठमाडौं । 

नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै प्रवास समन्वय एवं प्रचार–प्रसार उपसमिति गठन गरेको छ । कांग्रेसले यसअघि नै प्रवासमा रहेका नेपाली मतदातालाई स्वदेश फर्किएर चुनावमा भाग लिन र नेपाली कांग्रेसका उम्मेदवारलाई विजयी गराउन आह्वान गरेको थियो ।

वैशाख ३० को निर्वाचनमा स्वदेश फर्कन नसकेमा विदेशबाटै भए पनि कांग्रेसको पक्षमा मतदान गर्न सघाउ पु¥याउन आग्रह गरिएको छ । उपसमितिको संयोजकमा जनसम्पर्क समिति अमेरिकाका सभापति गोरख विष्ट छन् भने बेलायत, क्यानडा, जापान, जर्मनी, मलेसिया, यूएई, बहराइन, नर्वे, साइप्रस, इजरायल, कतार, अस्ट्रेलिया, कुवेत, बेल्जियम, दक्षिण कोरिया, स्पेन, नेदरल्यान्ड, पोर्चुगल स्विजरल्यान्ड, डेनमार्क, मकाउ, साउदी अरब, पोल्यान्ड, इटली, हङकङलगायत ३६ देशका जनसम्पर्क समितिका संयोजकलाई उपसमितिको सदस्यमा मनोनयन गरिएको छ ।

८४ सदस्यीय उपसमितिमा विभिन्न देशमा रहेका जनसम्पर्क समितिका सदस्य नेताहरुलाई सदस्यमा मनोनीत गरिएको छ ।
काग्रेस प्रवक्ता डा. प्रकाशशरण महतका अनुसार स्थानीय तह निर्वाचनका लागि प्रवास समन्वय प्रचार–प्रसार उपसमितिअन्तर्गत प्रवास मिडिया समन्वय सञ्जालसमेत गठन गरिएको छ ।