कांग्रेसको घोषणापत्र ११ गते, उम्मेदवारी दर्ता १२ गते


काठमाडौं । 

नेपाली कांग्रेसले वैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि वैशाख ११ घोषणापत्र जारी गर्ने भएको छ भने वैशाख १२ गते उम्मेदवारी दर्ता गर्ने तयारी गरेको छ । निर्वाचन आयोगले उम्मेदवारी मनोनयन दर्ता गर्ने मिति वैशाख ११ र १२ गते तोकेको छ ।

महामन्त्री गगन थापाको संयोजकत्वमा गठित स्थानीय तह घोषणापत्र तयारी समितिका सदस्य मधु आचार्यले वैशाख ११ गते लोकतन्त्र दिवसको दिन घोषणापत्र जारी हुने बताउनुभएको छ । ‘वैशाख ११ गते घोषणापत्र जारी गर्छौंं र १२ गते उम्मेदवारी दर्ता हुन्छ’, केन्द्रीय सदस्यसमेत रहेका आचार्यले भन्नुभयो– ‘घोषणापत्र तयारीका लागि समितिले शनिबार अपाङ्गता भएका व्यक्तिहरुसँग छलफल गरेको छ ।’

शनिबारको छलफलमा स्थानीय तहले निर्माण गर्ने जति पनि सार्वजनिक भवन छ त्यो सबै विश्वव्यापी मान्यताअनुसारको अपाङ्गमैत्री हुनुपर्ने, जुन घरमा अपाङ्ग भएका व्यक्ति छन् त्यो घरलाई अपाङ्गमैत्री बनाउन स्थानीय सरकारले निश्चित रकमा अनुदान दिने व्यवस्था गर्नुपर्ने, शिक्षा, स्वास्थ्य निःशुल्क हुनुपर्ने, स्थानीय सरकारले लिने करमा विशेष छुटको व्यवस्था हुनुपर्नेलगायतका विषय प्रमुखताका साथ उठेको थियो ।

गठबन्धनमा रहेका दलहरु तालमेल गरी निर्वाचनमा जाँदा कांग्रेसले जारी गरेको घोषणापत्रअनुसार मत माग्ने कि अन्य दलले जारी गरेको घोषणापत्रको आधारमा मत माग्ने भन्ने जिज्ञाशामा केन्द्रीय सदस्य आचार्य भन्नुहुन्छ– ‘केन्द्रले आफ्नो पार्टीको धारणा र नीति बनाउने हो । तालमेल हुने स्थानीय तहमा तालमेल गर्ने दलहरुले साझा प्रतिबद्धता बनाएर मत माग्न सक्छन् ।’कांग्रेस केन्द्रीय समिति बैठकको निर्णय पनि स्थानीय आवश्यकताअनुसार स्थानीय तहले नै तालमेल गर्न सक्ने उल्लेख गरेकाले केन्द्रबाट तालमेल नहुने उहाँको भनाइ थियो ।

तालमेलको कुराले कांग्रेस निस्क्रिय

‘घर–घर जाऔं कांग्रेस जिताऔं’ भन्ने एकमहिने अभियानका साथ देशभरको गाउँ–गाउँमा मात्र हैन प्रत्येक वडाको टोल–टोलमा पुगेर आक्रमक ढंगले संगठन सदृढीकरण, परिचालन तथा चुनावी प्रचार–प्रसार गरिहेको कांग्रेसभित्र अन्य दलसँगको चुनावी तालमेलको कुराले अहिले निस्क्रिय जस्तो बनेको छ ।
उम्मेदवार छनोट प्रक्रियासमेत रोकेको कांग्रेसभित्र अन्य दलसँगको तालमेलको कुराले असर परेको भन्दै केन्द्रीय सदस्य मधु आचार्य भन्नुहुन्छ– ‘वैशाख ३० को निर्वाचनका लागि देशभरको गाउँ–गाउँमा जुन जोस लिएर कांग्रेस अघि बढेको थियो अहिले त्यो जोस हराएको छ ।’
‘घर–घर जाऔं कांग्रेस जिताऔं’ अभियानले कांग्रेसभित्र जुन उत्साह र लहर ल्याएको थियो तालमेलको कुरा आएपछि त्यो उत्साह घटेको छ’, आचार्यले भन्नुभयो– ‘चुनावमा अन्य दलसँग तालमेल गर्ने कुराले प्रत्येक वडाको टोल–टोलसम्म कांग्रेसभित्र आएको उत्साहमा स्पिड ब्रेक लागेको छ ।’