कर्णालीको मतपत्र छापियो


काठमाडौं । 

जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले कर्णाली प्रदेशको मतपत्र छपाइ सकेको जनाएको छ । निर्वाचन आयोगले तयार गरेको सूचीको आधारमा जनकले कर्णालीका १० जिल्लाको मतपत्र छापी सकेको हो ।

सो प्रदेशको रुकुम पश्चिम, सल्यान, सुर्खेत, दैलेख, जाजरकोट, डोल्पा, जुम्ला, कालिकोट, मुगु र हुम्लाको मतपत्र छपाइको काम सम्पन्न गरेको जनाएको छ । जनक शिक्षाका प्रवक्ता चित्रकुमार आचार्यले हालसम्म कर्णाली प्रदेशका सबै जिल्लाको मतपत्र छपाइ सम्पन्न गरेको जानकारी दिनुभयो । ‘हामीले दैनिक ७ लाख थानका दरले मतपत्र छपाइ गरिसकेका छौं, आज आइतबारसम्म १५ जिल्लाको मतपत्र छपाइ सक्नेछौं ।’ –उहाँको भनाइ थियो । आचार्यका अनुसार सबै प्रेस २४ घण्टासम्म सञ्चालन गर्नुपर्ने भइरहेको छ । जनक शिक्षाले मतपत्र छपाइसँगै परर्फेटिङ, नम्बरिङसहित प्याकिङलगायत मुख्य काम सम्पन्न गरी स्टोरमा राख्ने व्यवस्था गरिएको छ ।

वैशाख ३० गते हुने निर्वाचनका लागि आयोगले अवस्था विश्लेषण गरी वैशाखको दोस्रो साताबाट कम मतदाता भएका जिल्लामा मतपत्र पठाउने तयारी गरेको छ । आयोगले वैशाख १० वा दोस्रो साताबाट जिल्ला निर्माचन कार्यालयमा मतपत्र पु-याउने तयारी गरेको छ ।उहाँले नेपाली सेनाको सुरक्षा घेराभित्र मतपत्र छपाइ शुरु गरेको जनक शिक्षाले हालसम्म कति मतपत्र छापियो भन्ने विषयमा केन्द्रलाई जानकारी नहुने बताउनुभयो । आचार्य भन्नुहुन्छ– ‘सेनाको घेराभित्र सबै काम अति गोप्य रूपमा हुनेछ । सबै विवरण आयोगलाई मात्र जानकारी हुन्छ ।’

छपाइमा खटिने कर्मचारीलाई १२ घण्टासम्म बाहिर निस्कन समेत दिइने छैन । जनक शिक्षाले ९ वटा मेसिन २४ घण्टा सञ्चालन गरेको छ । केन्द्रका १ सय ७५ कर्मचारीले मतपत्र छाप्नेछन् । आयोगले २३ लहरका ७७ प्रकारका मतपज्ञ छपाइ गर्नेछ । डोल्पाको सबैभन्दा कम १६ लहरको मतपत्र हुनेछ भने काठमाडौंको ५६ लहरको हुनेछ ।

‘मतपत्र छाप्न प्रेसमा प्रवेश गर्दा नेपाली सेनाले सम्पूर्ण सुरक्षा जाँच गर्नेछ । मोबाइल बोक्न पूर्ण प्रतिबन्ध लगाइएको छ । कुनै पनि कागजात लैजान बर्जित गरिएको छ । नेपाली सेनाले सुरक्षा जिम्मा लिएपछि प्रेसका कर्मचारीले सेनाकै सुरक्षा निर्देशन मान्नुपर्नेछ । त्यसैले कुन प्रदेशको कति छपाइ भयो भन्ने विषयमा जनक शिक्षाका कर्मचारीलाई जानकारी हुँदैन ।’ –प्रवक्ता आचार्यले भन्नुभयो ।आयोगले जनक शिक्षालाई वैशाख २० गतेभित्र १ करोड ९४ लाख मतपत्र छपाइ र प्याकिङ गर्न स्वीकृति दिएको थियो । जनक शिक्षाले मतदान केन्द्रअनुसार फरक–फरक प्याकिङ गरी प्लास्टिकको झोलामा राख्ने व्यवस्था गरेको छ । आयोगले केन्द्रबाटै ढुवानी गर्नेछ । आयोगले उपत्यकाबाहेक अन्य जिल्लामा चाँडै र काठमाडौंको मतपत्र अन्तिममा छपाइ गर्ने जनाएको छ ।