डाक्टरी पढाइ सारे आन्दोलन, सर्दैन: सरकार


हेटौँडा । 

मकवानपुरका जनवर्गीय संगठनहरुले मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत रहेको हेटौँडा अस्पतालविरुद्ध बागमती प्रदेश सरकारले अध्यादेश ल्याउने निर्णय गरेको भन्दै मुख्यमन्त्री कार्यालयका निमित्त प्रमुख सचिव स्किम श्रेष्ठमार्फत मुख्यमन्त्री राजेन्द्र पाण्डेलाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।

बागमती प्रदेश सरकारको उक्त निर्णय फिर्ताको मागसहित शुक्रवार नेकपा एमालेनिकट अखिल नेपाल महिला संघ मकवानपुर, रिटर्नी फेडरेसन नेपाल मकवानपुर, राष्ट्रिय युवा संघ नेपाल मकवानपुर, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) मकवानपुर, नेपाल खेलकुद महासंघ मकवानपुर, प्रेस चौतारी नेपाल मकवानपुर र नेपाल मुस्लिम इत्तेहाद संगठन मकवानपुर गरी ७ संगठनले संयुक्तरुपमा मुख्यमन्त्री कार्यालय पुगेर ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

प्रदेशको गौरवका रुपमा रहेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौँडा अस्पतालविरुद्ध अध्यादेश ल्याउ“दै सामान्य ५० बेडमा सीमित रहेको हेटौँडा अस्पताललाई प्रतिष्ठान मातहत लगेर शिक्षण अस्पतालमा रूपान्तरण गर्ने काम वर्तमान सरकारले रोक्नु खेदजनक रहेको ध्यानाकर्षण पत्रमा उल्लेख छ ।प्रदेश सरकार गठन हुनुअघि रिफर अस्पतालका रुपमा चिनिने गरिएको हेटौँडा अस्पतालमा हाल अन्य जिल्लाबाट समेत बिरामी निफर भएर आउने अवस्था रहेकोले अस्पतालमा विशेषज्ञ डाक्टर, अत्याधुनिक उपकरणहरूको सेवा बिस्तारलाई अगाडि बढाउनुपर्नेमा झन् खुम्चाउँदै लगिएको अवस्था हेर्दा यसको बृद्धि विकास नभई राजनीतिक प्रतिशोध साँध्न जनताको स्वास्थ्यप्रति गम्भीर खेलबाड गरेको स्पष्ट देखिएको संगठनहरुको भनाइ छ ।

हेटौँडा अस्पताललाई प्रतिष्ठानबाट अलग गराएर पुनः निफर अस्पतालमा झार्न मकवानपुरको प्रतिनिधित्व गर्ने सांसद तथा मन्त्री पनि स्वयम् लागेको भन्दै एमालेसम्वद्ध जनवर्गीय संगठनहरुले भर्त्सना गरेका छन् । हालको गठबन्धन सरकारले आफ्नो गल्ती नसच्याए जुनसुकै कदम चाल्न पछि नपर्ने र यसबाट हुने क्षतिप्रति प्रदेश सरकार नै जिम्मेवार हुने सचेत गराइएको छ ।

तर, बागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामाले भने मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौँडाबाट सार्न खोजिएको भन्दै फैलाइएको हल्ला गलत भएको भन्दै हेटौँडाबाट नसर्ने बताउनुभएको छ । मकवानपुरका राजनीतिक दलका प्रमुख एवम् प्रतिनिधिहरुसँग मन्त्रालयमा छलफल गर्दै मन्त्री लामाले सार्न खोजेको भन्ने कुरा भ्रम मात्र भएको बताउँदै हेटौँडामा जग्गा प्राप्ति गरेर संरचना बनाउने प्रक्रिया अघि बढेकाले अन्यत्र सर्ने कल्पना नगर्न आग्रह गर्नुभएको हो ।

हेटौँडा अस्पतालको हालकै संरचना र अवस्थामा मास्टर्स तहको अध्ययन गराउन सकिने अवस्था नभएकाले नजिकको अस्पताल भरतपुरलाई अध्ययनका लागि मात्र लिइएको बताउँदै उहाँले स्नातक तहका ३ विषयका कक्षा हेटौँडामा सञ्चालन भइरहेको स्पष्ट पार्नुभयो ।प्रतिष्ठान प्रदेशको गौरव भएकाले यसलाई व्यवस्थित गर्न प्रदेश सरकारबाट २० करोड र संघीय सरकारबाट संरचनाका लागि ९५ करोड बजेट उपलब्ध भएकाले हेटौँडामा पूर्वाधार विकास गर्न लागिएको उहाँले बताउनुभयो ।

उहाँले अघिल्लो सरकारले जग्गा प्राप्ति नगर्दा काम अघि बढाउन समस्या भएकाले यसको यथाशीघ्र समाधान गरिने बताउनुभयो । हेटौँडा अस्पताललाई बागमती प्रदेशकै नमुना अस्पताल बनाउन प्रदेश सरकारले विगतमा पनि बजेट उपलब्ध गराएको, हाल पनि उपकरण र जनशक्ति थप गर्नेतर्फ काम भइरहेकाले अस्पतालको सेवा झन् प्रभावकारी बनाइने भन्दै उहाँले भ्रममा नपर्न, प्रतिष्ठान र अस्पताललाई थप प्रभावकारी र व्यवस्थित गर्न राजनीतिक दलहरूको समेत सुझाव आवश्यक रहेको उल्लेख गर्नुभयो ।

सरोकारवालाको मागअनुसार हेटौँडा अस्पताललाई थप सशक्त बनाउन प्रतिष्ठानबाट अलग गरिएको उहाँको भनाइ छ । प्रतिष्ठान हालकै अवस्थामा चल्न सक्ने नभएकाले यसलाई प्रभावकारीढंगबाट अघि बढाउन प्रतिष्ठान सम्बन्धी अध्यादेश ल्याइएको बताउँदै मन्त्री लामाले प्रतिष्ठान स्थापनाकालदेखि ३ वर्षसम्म देखिएका समस्या समाधानको काम भइरहेको बताउनुभएको छ ।