जनता प्रगतिशील एक्लै चुनाव भिड्ने



भैरहवा ।

जनता प्रगतिशील पार्टी नेपालले स्थानीय निर्वाचनमा एक्लै लड्ने भएको छ । आज भैरहवामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा अध्यक्ष हृदयेश त्रिपाठीले कुनै पनि पार्टीसँग गठबन्धन नगरी एक्लै चुनावमा भिड्ने बताएका हुन् । उनले कुनै पनि पार्टीमा वैचारिक बहस नभएको र विगत देखि नेपाली राजनीतिको केन्द्र विन्दुको रूपमा राष्ट्रवाद रहेको तर देशभक्तिले खासै चर्चा नपाएको बताए ।

उनले राष्ट्रपति, प्रधानमन्त्री, सङ्घीय निर्वाचनका सांसदलाई विभिन्न अभियोग लगाए हटाउन सकिने व्यवस्था भए पनि स्थानीय निर्वाचनबाट चुनिएका जनप्रतिनिधिलाई कुनै अभियोग लगाएर हटाउने व्यवस्था नभएकोले दलिय आधारमा निर्वाचन हुन नहुने धारणा व्यक्त गरे । मुलुकमा निर्यातमुखी व्यापार नभएर आयातकेन्द्रित भएकोले अहिले अर्थतन्त्र सङ्कटमा परेकोले दलहरूले समयमै विचार नपुराए देश दुर्घटनामा पर्ने अध्यक्ष त्रिपाठीले बताए ।

‘देशका अधिकांश राजनैतिक दलहरूले समाजका विविध वर्गलाई आफ्नो आधारभूत वर्गको रूपमा अङ्गालेको देखिन्छ । केही सर्वहाराको प्रतिनिधित्वको दाबी गर्छन् । कोही सहरिया मध्यमवर्गको प्रतिनिधि पात्रको रूपमा उपस्थित छन् । आधुनिक नेपाली राज्य स्थापना भएदेखि देशको कुल जनसङ्ख्याको ६५ प्रतिशत भन्दा बढी किसानको हकहितको प्रतिनिधित्व पाइँदैन । किसानलाई इमानदार करदाता र भलादमी मतदाताको रूपमा दल र राज्यले लिएको छ’ त्रिपाठीले भने ।

प्रतिक्रिया दिनुहोस्