अधिकारका लागि आवाज उठाउन जरुरी : मन्त्री रेग्मी



काठमाडौं, (नेस) ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले अपाङ्गतासम्बन्धी कार्यविधिलाई परिमार्जन गरेर कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । नेपाल अपाङ्ग पुनःस्थापना केन्द्रले काठमाडौंमा गरेको कार्यक्रममा मन्त्री रेग्मीले अपाङ्गता भएका समुदायको हकहितका लागि रोकिएर बसेका अपाङ्गतासम्बन्धी कार्यविधि यथाशीघ्र परिमार्जित गरेर कार्यान्वयन गर्न पहल भइरहेको बताउनुभयो ।

मन्त्री रेग्मीले अहिले रातो कार्ड भएकाले मात्रै भत्ता पाउने व्यवस्था भएकाले त्यसलाई परिमार्जन गरेर निलो वा अरू कार्ड भएकालाई पनि भत्ता दिलाउने प्रयासमा आफू रहेको बताउनुभयो । अपाङ्गता भएका विभिन्न व्यक्तिलाई सामग्रीहरू वितरण गर्दै मन्त्री रेग्मीले बताउनुभयो– ‘एउटा हात नभएको व्यक्तिले कसरी गरी खाने ? अपाङ्गताको श्रेणीमा मात्र राखेर भएन गरेर खाने व्यवस्था पनि त हुन पर्यो ।’

अपाङ्गता भएका समुदायको हकहितका लागि आफू सधैं अग्रपंक्तिमा रहेको बताउँँदै मन्त्री रेग्मीले आगामी बजेटमा अपाङ्गता क्षेत्रलाई विशेष प्राथमिकतामा राखिएको समेत बताउनुभयो । ‘राज्यको स्रोतसाधनले नभ्याएर पनि होला तर अपाङ्गता भएका समुदायलाई गाँस काटेर भए पनि प्राथमिकता दिन पर्छ’, उहाँले बताउनुभयो– ‘आफ्नो अधिकारका लागि सबैले सशक्त रूपमा आवाज उठाउन जरुरी छ ।’

नेपाल अपाङ्ग पुनःस्थापना केन्द्रले अपाङ्गता भएका विभिन्न व्यक्तिलाई व्हिल चेयर, कमोड चेयर, हटब्याग, सेनिटरी प्याड, बैसाखीलगायतका सामग्री वितरण गरेको हो ।

प्रतिक्रिया दिनुहोस्