झुक्याउँदै नागरिकता लिनेहरू – ‘गलत विवरण पेस गर्नेदेखि दाजुलाई बाबु बनाउनेसम्म’

काभ्रेपलान्चोक जिल्लामा नागरिकतामा कडाइ



काभ्रे ।

गलत विवरण राख्दै झुक्याएर पटक पटक विवरण फरक पारी नागरिकता लिएको फेला पर्न थाले पछि जिल्ला प्रशासन कार्यालय काभ्रेपलान्चोकले कडाइ गर्न थालेको छ । नागरिकता लिने क्रममा शङ्कास्पद ब्यहोरा, कागजात फेला पर्न थाले पछि प्रशासनले ‘सर्जिमिन’का लागि स्थानीय तहमा फर्काउने गरेको छ । प्रहरी, जनप्रतिनिधि तथा स्थानीयहरू समेतलाई गुमराहमा राखेर झुक्याउँदै नागरिकता लिन खोज्नेहरू पक्राउ परेसँगै प्रशासनले कडाइ गर्न थालेको हो ।

‘नागरिकता लिन आउनेहरू मध्ये केहीमा कैफियत भेटियो’–प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले भन्नुभयो–‘नागरिकतामा कैफियत गर्ने व्यक्ति तथा अन्य व्यक्तिलाई अनुसन्धान गरी कारबाही शुरु गरिएको छ ।’ पछिल्ला केही दिनमा १० वटा भन्दा धेरै नागरिकता लिन आउनेहरूमा कैफियत फेला परेको छ । ‘राज्यले नेपाली नागरिकलाई नागरिकता दिने अवसरबाट वञ्चित गर्दैन तर झुक्याएर गलत विवरण पेस गरी नागरिकता लिन खोज्नेहरूलाई निरुत्साहित गर्न जरुरी छ’–प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले भन्नुभयो–‘शङ्कास्पद व्यक्ति र कागजातलाई अध्ययन अनुसन्धान पछि मात्रै नागरिकता उपलब्ध गराएका छौं । अनुसन्धानबाट कैफियत फेला परेको छ । अनुसन्धानका क्रममा भएको ढिलालाई अन्यथा लिनु हुँदैन ।’

रोशी गाउँपालिका घर भएका एक युवकले अमेरिका जाने प्रलोभनमा दाजुलाई बाबु बनाएर नागरिकता लिए । नागरिकता हराएको अवस्थामा पनि विवरण सच्याएर नयाँ लिनेहरूको सङ्ख्या पनि तपिँदै गएको छ । चौरीदेउराली गाउँपालिका वडा नम्बर २ मा मात्रै ४ वटा नागरिकता सम्बन्धी विवरणमा शङ्कास्पद फेला परेको छ ।

चौरीदेउराली गाउँपालिका वडा नम्बर २ बस्ने रामकुमार प्रधानले दोहोरो नागरिकता लिएका छन् । काका तकबहादुर प्रधान र आमा तिर्थमाया प्रधानको नामबाट एउटा नागरिकता लिए भने बाबु नक्कलबहादुर प्रधान र आमा तिर्थमाया प्रधानको नामबाट रोशन प्रधानको नामबाट नागरिकता लिए । दुवै नागरिकता सिफारिस गर्ने वडा अध्यक्ष दिनेश लामा हुन् । सोही वडाका डल्कुमाया प्रधानले पनि २४ वर्षकै उमेरमा झुक्याएर नागरिकता लिइन् । एउटै वडामा एक महिनाको अवधिमा तीन वटा नागरिकता सम्बन्धी सिफारिसमा शङ्कास्पद फेला परेको छ । प्रशासनले स्थानीय तहबाट सिफारिस हुँदा तथा सर्जिमिन हुँदा समेत झुक्याएर नागरिकता लिनेहरूको पहिचान नभएकोमा आश्चर्य ब्यक्त गरेको छ । प्रशासनले नागरिकता झुक्याएर लिनेलाई मात्रै नभई सिफारिस र मुचुल्कामा सही छाप गर्नेहरू विरुद्ध पनि अनुसन्धान शुरु गरेको बताएको छ ।

चौरीदेउराली गाउँपालिका मादनुकँडारी घर भएका एक युवाको नागरिकतामा सनाखत गर्ने ब्यक्ति शंकास्पद फेला परे । विदेशमा बस्ने बाबु आमाका एक्ला छोराको नागरिकतामा सनाखत गर्ने बेला झुक्यएको खुलासा भयो । नागरिकता लिन आउनेहरू मध्ये केही आमाको नामबाट समेत नागरिकता पाउँ भन्दै आएका छन् । कानुन निर्माण हुन नसक्दा संविधानले व्यवस्था गरेको अधिकारबाट नागरिक वञ्चित भएका छन् ।  बनेपा नगरपालिका ७ घर भएकी सुनिता श्रेष्ठले श्रीमानसँग सम्बन्ध विच्छेद गरेकी छन् । सम्बन्ध विच्छेद गरेका श्रीमानकै नामबाट नागरिकता बनाउन छोरी तयार भए पनि सनाखत गर्न आउने बेला सङ्कट पैदा भएको छ । श्रीमान् सम्बन्ध विच्छेद हुनु अघि नै बेल्जियममा छन् ।

उनले झुक्याएर विवरण पेस गरेका कारण नागरिकता बन्न सकेको छैन । प्रशासनले स्थानीय तहमा वास्तविकता बुझ्न पत्र पठाएको छ । परिवार भित्रका सदस्यले सनाखत गर्न मिल्ने भए पनि उनले सम्बन्ध विच्छेद लुकाउन खोजेकी थिइन् । नागरिकता लिन आउनेहरू प्रति शंका लागेको अवस्थामा स्थानीय प्रशासनले प्रहरी मुचुल्का मार्फत बुझ्न सक्ने व्यवस्था रहेको सहायक प्रमुख जिल्ला अधिकारी अमर दिप सुनुवारले जानकारी दिनु भयो । नागरिकता लिन आउनेहरूको भिडमा झुक्याएर लिन आउनेहरू थपिन थाले पछि प्रशासनले कडाइ गरेको सहायक प्रजिअ सुनुवारले बताउनु भयो । ‘हामी नागरिकहरुलाई सहज र सरल ढङ्गबाट सेवा दिई रहेका छौँ’–सहायक प्रमुख जिल्ला अधिकारी अमरदिप सुनुवारले भन्नुभयो–‘यसको फाइदा उठाउँदै केही व्यक्तिहरुले झुक्याउने, गलत विवरण पेस गर्ने तथा किर्ते कागजात बनाउनेहरूका लागि कडाइ गरिएको हो ।’

यस अघि धुलिखेल तथा बनेपा र अन्य स्थानका केही व्यक्तिहरू दोहोरो नागरिकता लिएको अभियोगमा पक्राउ परी सजाय भोगिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्