पक्षधरतादेखि भ्यू–टावरसम्म

0
Shares

  • मुक्तिबन्धु

खास अपराधी को ?
जंगलमा एकजना भुसतिघ्रेले अर्को एक दुब्लो–पातलो मानिसलाई लातका लात भकुर्दै थियो, दुच्छर गाली पनि दिँदै थियो । पर अर्को एक भलादमी मानिसले सुन्यो । उसले कराएर भन्यो, ‘ए ! छोड त । त्यसरी गाली बक्नु र लात दिनु राम्रो काम होइन । बलियाले निर्धामाथि यस्तो व्यवहार गर्नु ठाडै अन्याय हो । मलाई अन्याय मन पर्दैन ।’

यो सुनेर भुसतिघ्रे मुर्मुरियो, बोलेन । बरु त्यो गाली–भकुराइ पाउने निर्र्धो प्राणीले आफ्नो पीडा देखेर गुहार दिन अघि सरेकालाई आरोप लाउँदै भन्यो, ‘तिमीले हस्तक्षेप गर्यौ । म यो गाली–भकुराइलाई प्रभुको प्रसाद ठानेर सहिरहेको छु । अझ स्वागत नै गरिरहेको छु । मलाई मजा आइरहेको छ भने यसमा तिमीले बीचमा टप्केर बोल्नुपर्ने किन ?’ यता सूचनाको ठेक्का बोकेका धम्मरधुस मिडियाहरुले भने, ‘बलियाले निर्धालाई कुटिआएकै हो । मालिकले नोकरलाई कुटिआएकै हो । कुट्यो । कुटिनेलाई नसोधीकन बाहिरियाले यसरी बोल्नु ठाडै हस्तक्षेप हो ।’

धम्कीको भाषामा भाउँता–भाउँता आरोपहरु बम्किँदै नेपालमा एमसीसी सवारी हुन लाग्दाका घटना सन्दर्भको एउटा सामान्य दृष्टान्त हो यो । संसारमा सम्भवतः यस्ता दृष्टान्तहरु दुर्लभ नै हुन्छन् । छिमेकीको दुःख देखेर त्यसमा साथ, सहयोग दिन अघि सरेका हितैषी छिमेकी जनमाथि हस्तक्षेपको आरोप लगाउने शासक–प्रशासकहरु संसारमा दुर्लभ नै हुन्छन् । थाहा छैन, नेपालमा यो कुन सभ्यताको रोपाइँ हो ? नेपालका सत्तासीन साँठगाँठ पक्ष, त्यसै पक्षको पोषणमा प्रतिबद्ध प्रतिपक्ष र सत्तासमर्थक मिडिया मालिकहरुसँग हामी नेपाली जनताले सोधी जान्नुपर्ने सवाल हो यो ।

पक्षधरता कसको ?
अहिले युक्रेनमा लडाइँ छ । त्यहाँ जेलेन्स्की नामका हास्यकलाकार राष्ट्रपति छन् । अमेरिकाको उक्साहटमा परेर उनले छिमेकी रुसलाई युद्धमा तानेका छन् । अमेरिकालाई त कहीँ न कहीँ युद्ध भइदिनु चाहिन्छ । हतियारको व्यापार चल्न नभई नहुने कुरा युद्ध नै हो । अमेरिकाको हतियार व्यापार गज्जबको छ । त्यो गज्जबको व्यापार फस्टाउन युद्ध नै चाहिन्छ । युद्ध अमरिकाको आवश्यकता नै हो । तर युद्ध जनताको आवश्यकता होइन । शान्तिप्रिय मुलुक र जनताको आवश्यकता होइन युद्ध । यो यथार्थ जगजाहेर छ । अहिले संसारका मुलुकहरु पक्ष–विपक्षमा बाँडिएका छन् । पुटिन, बाइडेन, जेलेन्स्की र युरोपेली युनियनका हाकिमहरु अहिलेको विश्वमा चर्चाका विषय बनेका छन् ।

विभिन्न मुलुकका सरकारमा रहेकाहरु कोही अमरिकाको कठपुतली भएकोमा जेलेन्स्कीको आलोचना गर्छन् त कोही हचुवामै रुसको आलोचना गर्छन् । पहिचान गर्नुपर्ने कुरा युद्धको कारण हो । युद्ध भड्काउनमा विशेष अपराधी को हुन् ? पहिचान गर्नुपर्ने कुरा त यो हो । योद्धा र युद्धका लागि उक्साउने व्यक्तिमध्ये खास अपराधी को ? आलोचना हुनुपर्ने त अपराधीको हो । यस्ता आवाजहरु पनि सुनिएका छन् ।

जानकारहरु भन्छन्– यथातथ्य हेर्दा स्पष्ट देखिन्छ, युक्रेनलाई युद्धमा होमिन अमेरिकी प्रेसिडेन्ट जो बाइडेन गति छाडेर लागिपरेका छन् । जे–जति चाहिन्छ म दिन्छु, हाम्रा मतियारहरुले दिन्छन् । तिमी युद्ध गर, अझ तम्सेर युद्ध गर भनिरहेका छन् । जेलेन्स्कीलाई छिन्–छिन् उकासिरहेका छन् बाइडेन । दलबलसहित गएर पोल्यान्ड बस्न पनि भ्याए । युद्धका लागि उक्साउनु मानव सभ्यताविरुद्धको अपराध हो कि होइन ? युद्धमा यस्तो उक्साहटको मूल्याङ्कन हुन्छ कि हुँदैन ? अथवा हुनुपर्छ कि पर्दैन ?

यी तथ्यहरुको गर्नुपर्ने मूल्याङ्कन नगरी बाइडेनको लहैलहैमा लागेर कसैले रुसको आलोचना गर्नु र युक्रेनको युद्धोन्मादलाई उकास्नु उसको कुन जिम्मेवारीको पालना हो ? बूढापाकाहरु भन्छन्– जसलाई तस्करहरुले प्रशंसा गर्छन्, बिचौलियाहरुले प्रशंसा गर्छन्, भ्रष्ट र कमिसनखोरहरुले प्रशंसा गर्छन्, साम्राज्यवादीहरुले प्रशंसा गर्छन्, त्यो असल मानिस हुन सक्दैन । जनताले त्यस्ता व्यक्ति तथा व्यक्तिहरुबाट होसियार रहनुपर्छ । दुनियाँमा जसले पनि आफ्ना मतियारको प्रशंसा गर्नु स्वाभाविक हो । अपराधीका मतियारहरु अपराधी नै हुन सक्छन् । यो भनाइ ठीक हो कि होइन, हामी पनि विचार गरौँ ।

भ्यू–टावर र टावर–नेताका मनोविज्ञान
नेपालमा खास–खास पार्टीका नाइके नेतालाई शीर्ष नेता भन्ने चलन नेताहरुले नै चलाएका हुन् । अब कतिपय नेतालाई शीर्ष भनेर पुग्ने अवस्था रहेन । अब नेतृत्वमा टावरको नयाँ सन्दर्भ पनि थपिएको छ । मुलुकमा ११७ वटा भ्यू–टावर बनिसकेका छन् । यी टावरहरु त्यसै त्यत्तिकै बनेका छैनन् । भनिन्छ, यी टावरहरु बन्नमा ‘मानव सभ्यता विकास र राजनीतिक अर्थशास्त्रका धुरन्धर विशेषज्ञ नेताविशेष’को गुरुयोजनाले काम गरेको छ । सुनिन्छ, यी टावरहरु बन्न यस गरिब मुलुकको सरकारी ढुकुटीबाट १७ अर्ब खर्च भइसकेको छ । अब हिमालका टाकुराहरुमा टावर बन्न बाँकी छ । सगरमाथामा पनि किन नबन्ने टावर ? हरेक टाकुराहरुबाट हेर्न, बुझ्न सजिलो बनाउनुपर्यो नि ! परेन र ? सभ्यता विकास र आर्थिक कारोबार सबैतिर चाहियो । जहाँ टावर त्यहीँ सभ्यता, त्यहीँ विकास, त्यहीँ पैसा । हामीकहाँ आजसम्म विकास नहुनुको कारण टावरहरु नबन्नु नै हो ।

संसारमा आज जति पनि विकसित र धेरै विकसित मुलुकहरु छन्, ती त्यहाँ बनेका विद्यालय, विश्वविद्यालय, कलकारखाना, उद्योग, इलम र कृषिबाट विकसित बनेका होइनन् । टावरहरु बनेर विकसित बनेका हुन् । हामीकहाँ पनि टावरहरु त्यसै बनेका छैनन् । यसमा सभ्यताविद् प्रबुद्ध र विकासविज्ञ खास नेताका मानसिक कसरत खर्च भएको छ । क्रान्तिकारी नेताका क्रान्तिचेतना खर्च भएको छ । साँच्चिकै क्रान्ति त टावर बनाउनु रहेछ । समयमै यो चेत आइदिएको भए मुलुक अहिले कहाँ पुगिसक्दो हो । बुझ्दै जाँदा नेताले के बुझेको बुझियो भने, हाम्रो मुलुक नेपाललाई दुनियाँले गरिब भनेको त यहाँ पहाडका टुप्पा–टुप्पामा टावरहरु नदेखेर नै हो । गाउँ–बस्तीका हरेक ढिस्कामा टावर नदेखेर नै हो । अब भनून् त गरिब ? अब भनून् त गरिबीको रेखामुनि । कसैले थाहा नपाएर भन्छन् भने ती हाम्रा टावरहरुमा आएर हेरुन् । कुन टावरबाट देखिन्छ गरिबीको रेखा ? यहाँ हेर्ने कोण नमिलेर कसैका आँखामा गरिबहरु देखिन सक्लान् तर गरिबीको रेखा कहीँ देखिँदैन । झन् यी टावरहरु बनिसकेपछि त रेखा देखिने सम्भावना नै छैन । टावर बन्यो कि रेखासेखा मेटिए । हराए, गए । अहिले त हाम्रो नेपालमा पनि टावरहरुबाट सभ्यता देखिन्छ, सभ्यता ! अनि चौतर्फी विकास देखिन्छ । चकाचक आर्थिक त्रियाकलापको रमझम देखिन्छ ।

यति हुँदा पनि जनता बुझ्दैनन् । टावर होइन, गतिला–गतिला अस्पतालहरु बन्नुपथ्र्यो भन्छन् । उच्चस्तरीय विद्यालय, विश्वविद्यालय बनाइनुपथ्र्यो भन्छन् । औद्योगिक कारखानाहरु खुल्नुपथ्र्यो भन्छन् । यी अबुझ जनताबाट दिक्क हुँदै एकजना सर्वोच्च टावर–नेताले एउटा आमसभामा भाषण ठोक्दै भन्नुभएको छ, ‘भ्यू–टावरहरु सभ्यता, विकास र आर्थिक क्रियाकलापका केन्द्र हुन् ।’ ठूला नेताले भाषणमै भनिसकेपछि अब के चाहियो ? भ्यू–टावरहरु आर्थिक क्रियाकलापका केन्द्र हुन् भन्ने त हामी सर्वसाधारण जनताले पनि बुझ्यौँ । भ्यू–टावर बन्दा अर्बौं आर्थिक कारोबार भएको छ र त्यसमध्येका अर्बौं रकम भ्रष्टाचार पनि भएको हुन सक्छ भन्नेसमेत पनि बुझ्यौँ । लाखौँ, कराडौँ खर्च भयो भनिएका कति टावर खम्बा नमिलेका माचजस्ता पनि छन् । त्यो पनि देखिजान्यौँ । त्यसको पनि मर्म बुझ्यौँ । राम्रा भनिएका टावरहरु पनि खर्चको अनुपातमा हुनुपर्ने जति छैनन् । यो पनि मूल्याङ्कन गरेरै बुझ्यौँ । यसरी हेर्दा जसरी पनि आर्थिक क्रियाकलापको केन्द्र त बनेकै छन् भ्यू–टावरहरु । यसमा शङ्का गर्ने ठाउँ नै छैन । यो पनि बुझ्यौँ ।

अहिले फेरि चुनाव आएको छ ।
अँ ! सुनिन्छ, अहिले चुनाव आएको छ । एमसीसीका मुखपात्रहरु पनि लबस्तरो अनुहार भिरेर जनताका घरदैलो पुग्ने जमर्को गर्दै छन् । त्यति बेला जनताले अनुहार हेर्न र कुरा सुन्न माने भने के सुनाउने ? ‘तपाईंको खबरदारीका विरुद्ध, मुलुक र जनतालाई दाउमा राखेर हामीले एमसीसी त पारित गर्यौँ । कसैले सक्रिय समर्थन गर्यौँ । कसैले खैँजडी बजाएर भजन गाउँदै घुमाउरो पाराले निष्क्रिय समर्थन गर्यौँ । समर्थन सत्तापक्ष, प्रतिपक्ष सबैले गरेकै हौँ । तपाईंहरु जे नहोस् भन्ने चाहनुहुन्थ्यो त्यो पनि हुन थालिसक्यो । तर पनि हाम्रा कोही चारपाटे मुडिएर थानकोटतिर लाग्दै छैनौँ । त्यो त जनतासित गरिएको गोठाले ठट्टा थियो । चारपाटे मुड्दैमा कपाल नपलाउने जमाना आज छैन । आज त अमरिकाले कालो कपालका ठाउँमा खैरो कपाल जडिदिन पनि सक्छ । भैगो अब ती उहिलेका कुरा किन गर्ने ? हामीले ११७ वटा त भ्यू–टावर नै बनाइसक्यौँ । अब त्यसैको कुरा गर्ने । निर्वाचनपछि हामी ठूलाबडाहरु त्यतैबाट पनि भाषण गर्न सक्छौँ । त्यो भाषण सुन्न र धन्य हुन हे जनता जनार्दन, तपाईंहरुका आँगन–आँगनमा एक–एकवटा भ्यू–टावर बनाइदिन्छौँ । यसभन्दा बढी तपाईंहरुलाई अरु के चाहिन्छ ? आँगनको भ्यू–टावर हेरेर सभ्य बन्नुहोस्, विकसित बन्नुहोस् र आर्थिक क्रियाकलाप गर्नुहोस् । त्यसका लागि अब पनि हामीलाई भोट हाल्नुहोस् ।’ जनतासँग भन्ने यही त बाँकी छ नि ! हैन र ?