यसै सातादेखि निर्वाचन आचारसंहिता लागु गर्ने तयारी



काठमाडौं ।

निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने निर्वाचनलाई लक्षित गरी यसै सातादेखि निर्वाचन आचारसंहिता लागु गर्ने अन्तिम तयारी गरेको छ । निर्वाचन आचारसंहिता लागु गर्न भइरहेको ढिलाइले गर्दा निर्वाचनलाई प्रभावित पार्ने गरी जनप्रतिनिधिबाट स्रोत र साधन दुरूपयोग भइरहेको गुनासो आइरहेको बेला आयोगले सम्भवतः तीन दिनभित्र आचारसंहिता लागु गर्ने स्पष्ट पारेको छ ।

आचारसंहिता कार्यान्वयन गराउनका गृहकार्य भइरहेको जानकारी दिँदै बुधबार प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले भन्नुभयो– ‘सम्बन्धित निकायहरूलाई क्रियाशील गराएर आचार संहिताको प्रभावकारी कार्यान्वयन गराउन अधिकारसहितको संस्थागत व्यवस्था आयोगले गर्नेछ । यो व्यवस्था गरिसकेपछि ७७ वटै जिल्लामा सर्कुलर गर्ने र सर्कुलर गरेको दुई दिनभित्र आचारसंहिता लागू हुन्छ ।’

उहाँले आचारसंहिता लागु गर्नुपूर्व ७७ जिल्ला निर्वाचन कार्यालय र गृह प्रशासनलाई तम्तयार राख्नुपर्ने र स्थानीय प्रशासनमा आचारसंहिता उल्लंघनको उजुरी लिने व्यवस्थापन गर्नुपर्ने आवश्यक रहेको बताउनुभयो । आयोगले आचारसंहिता लागु गर्र्ने विषयमा मंगलबार राजनीतिक दलहरूसँग छलफल गरेको थियो । छलफलमा एमालेलगायतका केही दलले प्रतिबद्धतापत्रमा हस्ताक्षर गरेन । प्रमुख निर्वाचन थपलियाले प्रतिबद्धता पत्रमा हस्ताक्षर नगर्नेलाई पनि आचारसंहिता लाग्ने बताउनुभयो ।

त्यसै गरी मिडिया र सामाजिक सञ्जालको अनुगमनका लागि २५ सदस्यीय कार्यदल बन्ने आयोगले जनाएको छ । आयोगले आचारसंहिता लागु गरिएपछि ७ सय ५३ वटै स्थानीय तहमा विभिन्न संयन्त्रमार्फत निर्वाचन अनुगमन गर्ने तयारी गरेको छ । निर्वाचन आचारसंहिता विगतभन्दा फरक, विस्तृत र धेरै क्षेत्रलाई समेटिएको पनि आयोगले जनाएको छ । यसपटकको निर्वाचन आचारसंहिता पहिलेभन्दा फरक, विस्तृत र धेरै क्षेत्रलाई समेटिएको छ । निजी क्षेत्र, गैरसरकारी संस्था, नागरिक समाज मात्र नभई मतदाताका लागि पनि समेटेर आचारसंहिता बनाइएको छ प्रमुख आयुक्त थपलियाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्