प्रहरी कार्यालयमै आत्महत्याको प्रयास



बुटवल ।

चोरीको आरोपमा बुटवलको प्रहरी कक्षमा रहेका २८ वर्षीय रुद्रबहादुर नेपालीले घाँटी रेटेर आत्महत्याको प्रयास गरेका छन् । बुटवल औद्योगिक क्षेत्र र विभिन्न स्थानबाट तामाको तार चोरीको अभियोगमा पक्राउ परेका उनले चोरी प्रमाणित हुने भएपछि आत्महत्याको प्रयास गरेका हुन् ।

घाँटीमा गहिरो चोट लागेकाले नेपालीको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । शनिबार तामाका तारहरु कवाड पसलमा बेच्दै गरेको अवस्थामा नेपालीलाई प्रहरीले पक्राउ गरेको थियो । शनिबार पक्राउ परेका नेपाली सोमबार दिउँसो घाँटी रेटिएको अवस्थामा भटेको नेपालीका आफन्त मानकुमारी सार्कीले बताउनुभयो । हिरासतभित्रै घाँटी रेटिनु शंकास्पद र गम्भीर भएको भन्दै घटनाको स्पष्ट छानबिन हुनुपर्ने उहाँको माग छ ।

‘कुनै धारिलो हतियार लैजान नपाइने प्रहरी हिरासतभित्र घाँटी रेटिनु शंकास्पद हो’, मानकुमारीले भन्नुभयो– ‘लडेको भए पेट, छाती वा अन्त चोट लाग्नुपर्ने, त्यस्तो केही छैन, घाँटीमात्र रेटिएको छ ।’

हिरासतमा रहेका नेपालीले आफैं धारिलो हतियारले घाँटी रेटेर आत्महत्या गर्न खोजेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक ठगबहादुर केसीको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्