चिकित्सक मृत्यु प्रकरण : उच्चस्तरीय छानबिन गर्न आफन्तको माग



राजविराज ।

विराटनगरस्थित नोबेल अस्पतालमा कार्यरत चिकित्सक मृत भेटिएपछि नियोजित रूपमा हत्या गरिएको भन्दै हत्यारालाई हदैसम्मको कारबाही हुनुपर्ने माग गर्दै आफन्त तथा स्थानीयले मंगलबार सप्तरीको राजविराजमा प्रदर्शन गरेका छन् ।

चार वर्षदेखि नोबेल अस्पतालमा कार्यरत रहेका सप्तरीको विष्णुपुर गाउँपालिका–१ खुरहुरिया निवासी ३० वर्षीय डा. विजय यादव गत शनिबार विहान मृत भेटिएका थिए ।
उनीहरुले प्रमुख जिल्ला अधिकारी जनार्दन गौतममार्फत गृहमन्त्री र प्रधानमन्त्रीलाई ज्ञापनपत्र समेत बुझाएका छन् । सो ज्ञापनपत्र जिल्ला प्रहरी कार्यालय मोरङ र सप्तरी, प्रदेश नम्बर १ प्रहरी कार्यालय र मधेस प्रदेश प्रहरी कार्यालयलाई पनि बोधार्थ गरिएको छ ।

ज्ञापनपत्रमा मृतकका आफन्त र स्थानीयले नियोजितरूपमा हत्या भएको दाबी गर्दै घटनाको उच्चस्तरीय छानबिन गरी दोषीलाई हदैसम्मको कारबाही हुनुपर्नेमा माग गरिएको छ । ‘नोबेल अस्पतालमा कार्यरत रही छेउमै डेरा लिएर बसेको अवस्थामा मिति २०७८।१२।१८ गते राति निजको निमर्मतापूर्वक हत्या गरिएकोमा हामी सप्तरीवासी उक्त जघन्य अपराधको घोर भत्र्सना गर्दछौं’, ज्ञापन पत्रमा भनिएको छ– ‘सो हत्याको उच्चस्तरीय छानबिन गरी तत्काल हत्यारा पत्ता लगाएर कडाभन्दा कडा कारबाही गर्न नेपाल सरकारसँग माग गर्दछौं ।’

उनीहरुले तीन दिनभित्र हत्यारालाई पक्राउ गरी कारबाही अघि नबढाइए सशक्तरूपमा आन्दोलन चर्काउने ज्ञापनपत्रमार्फत चेतावनी समेत दिएका छन् । अस्पताल छेउमै डेरा लिएर बस्दै आएका डा. यादव मृत भेटिएसँगै आफन्त र स्थानीयहरुले न्याय माग्दै शनिबारै विराटनगरमा समेत प्रदर्शन गरेका थिए । उता, मोरङ प्रहरीले घटनामा संलग्न रहेको आशंकामा सोही अस्पतालका एक चिकित्सक आधा दर्जनबढी व्यक्तिलाई पक्राउ गरी अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्