तत्काल उम्मेदवार नतोक्न कांग्रेसको सर्कुलर



काठमाडौं ।

वैशाख ३० मा हुने स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रिया अघि बढाइरहेको प्रमुख सत्ताधारी दल नेपाली कांग्रेसले उम्मेदवार घोषणा गर्ने निकायलाई तत्काल उम्मेदवारबारे निर्णय नगर्न पत्राचार गरेको छ । उम्मेदवारबारे निर्णय गरी घोषणा गर्ने जिल्ला, क्षेत्र र प्रदेश तीनवटै संसदीय समितिलाई तत्काल निर्णयको काम नगर्न कांग्रेस केन्द्रले सर्कुलर जारी गरेको हो ।

सत्ता गठबन्धनमा रहेका दलहरूबीच चुनावी तालमेल हुने सम्भावना बढेकाले कांग्रेसले टिकट दिने निकायलाई यो सर्कुलर गरेको हो । सत्ताघटक दलको सोमबार बसेको बैठकले पनि तालमेलको तयारी र अनुगमन गर्न कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वमा समिति गठन गरेको थियो ।

कांग्रेसको स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रियाअन्तर्गत अधिकांश वडाबाट वडा अध्यक्षसम्मको उम्मेदवार सिफारिस गरी माथिल्लो निकायमा पठाइसकेको छ भने पालिकास्तरमा प्रमुख र उपप्रमुखका लागि सिफारिस प्रक्रिया अघि बढिरहेको छ । ‘विधानअनुसार उम्मेदवार छनोटको प्रक्रिया सबै अगाडि बढ्छ, मुख्य सचिव कृष्णप्रसाद पौडेल भन्नुहुन्छ– ‘यो सर्कुलरले उम्मेदवारको अन्तिम निर्णय गर्ने निकायले मात्र होल्ड गरेर राख्ने हो ।’

सत्ता गठबन्धनमा रहेका दलहरूबीच चुनावी तालमेल गर्ने कुरासँगै कांग्रेसको ७ सय ५३ वटै स्थानीय तहमा वडा सदस्यदेखि पालिका अध्यक्षसम्मको उम्मेदवार छनोट कार्य अघि बढेको छ । कांग्रेसको वडा अध्यक्षसम्मको उम्मेदवार घोषणा प्रतिनिधिसभा संसदीय समितिले गर्छ भने गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षको उम्मेदवार घोषणा जिल्ला संसदीय समितिले गर्छ । उपमहानगरपालिका र नगरपालिकाको प्रमुख र उपप्रमुखको उम्मेदवार घोषणा प्रदेश संसदीय समितिले गर्छ । महानगरपालिकाको प्रमुख र उपप्रमुखको उम्मेदवार छनोट केन्द्रीय संसदीय समितिले गर्छ ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले नेपाल समाचारपत्रलाई जानकारी दिएअनुसार कांग्रेसको उम्मेदवार छनोट प्रक्रिया रोक्ने भनेका नभई टिकट दिने निकायलाई मात्र तत्काल निर्णय नगर्नु भनिएको हो । कांग्रेस विधानमा वडा अध्यक्षसम्मको उम्मेदवारका लागि वडा कार्यसमितिले प्रत्येक पदका लागि एक महिलासहित बढीमा तीन जनाको नाम सिफारिस गरी माथिल्लो निकायमा पठाउनुपर्छ ।

यसै गरी पालिकाको प्रमुख र उपप्रमुखका लागि पनि पालिका समितिले एक पदका लागि एक महिलासहित बढीमा तीन जनाको नाम सिफारिस गरी माथिल्लो निकायमा पठाउनुपर्छ । वडाबाट पालिका, प्रदेशसभा, प्रतिनिधिसभा, जिल्ला हँुदै माथिल्लो निकायमा उम्मेदवारको नाम सिफारिस हुन्छ ।

‘उम्मेदवार सिफारिसको प्रक्रिया यथावत् रहन्छ, उम्मेदवारको घोषणा गर्ने निकायलाई मात्र अहिले निर्णय नगर्नु भनेको हो’, कांग्रेस मुख्य सचिव पौडेलले जारी सर्कुलर बारे भन्नुभयो– ‘क्षेत्र, जिल्ला र प्रदेश संसदीय समितिले केन्द्रबाट अर्को निर्देशन जारी नभएसम्म कुनै निर्णय नगर्नु भनिएको हो ।’

पौडेलको नेतृत्वमा चुनावी तयारी तथा अनुगमन समिति
सत्तारुढ दल नेपाली कांग्रेसले वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वमा स्थानीय निर्वाचन तयारी र अनुगमन समिति गठन गरेको छ । कांग्रेसको सोमबार बसेको बैठकले गठन गरेको उक्त समितिमा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, कांग्रेस महामन्त्री गगन थापा, माओवादीका नेता वर्षमान पुन र देव गुरुङ, नेकपा एकीकृत समाजवादीका नेता वेदुराम भुसाल र विजय पौडेल, जनता समाजवादी पार्टीका अशोक राई र रेणु यादव, राष्ट्रिय जनमोर्चाका नेता हिमाल पुरी सदस्य रहेका छन् ।

स्थानीय निर्वाचनको तयारी तथा अनुगमन समितिका संयोजक पौडेलले नेपाल समाचारपत्रलाई जानकारी दिएअनुसार यो समितिले स्थानीय तहमा हुने चुनावी तालमेल, अनुगमनलगायत सबै काम गर्नेछ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ दलको बैठकमा कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल र जसपा संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईलगायतको उपस्थिति थियो ।

सत्तारुढ दलको बैठकमा प्रधानमन्त्री देउवाको भारत भ्रमणबारे समीक्षा भएको बताइएको छ । साथै बैठकमा देशको अर्थतन्त्रको अवस्थालाई ध्यान दिँदै सरकारको तर्फबाट राजनीतिक दल, अर्थविद्, योजनाविद् र सरोकारवाला पक्षसँग बृहत् अन्तरक्रिया गर्ने पनि निर्णय भएको पनि संयोजक पौडेलले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्