गाउँपालिका उपाध्यक्ष राई प्रहरी नियन्त्रणमा



इलाम ।

इलामको फाकफोकथुम गाउँपालिकाकी उपाध्यक्ष सरस्वती राई ‘सरू’ लाई प्रहरीले सोमबार नियन्त्रणमा लिएको छ । कुटपिट तथा अभद्र व्यवहार गरेको आरोपमा जाहेरी परेपछि उहाँलाई नियन्त्रणमा लिइएको हो ।

आफूविरुद्ध जाहेरी परेपछि उपाध्यक्ष राई आफैं प्रहरीमा आत्मसमर्पण गरेको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायव उपरीक्षक (डीएसपी) एवं सूचना अधिकारी गंगाबहादुर थापाले बताउनुभयो । आत्मसमर्पण गरेपछि उहाँलाई प्रहरीको नियन्त्रणमा राखेर अनुसन्धान शुरु गरेको र कानुनी कारर्बाहीको प्रक्रया अघि बढाइएको उहाँको भनाइ छ । मौसमी कामदार कोरिया पठाउने विषयमा उत्पन्न विवादका क्रममा उपाध्यक्ष राईले गत चैत १८ गते सोही गाउँपालिका–१ का कृष्णबहादुर खड्कामाथि कुटपिट गरेको आरोप उपाध्यक्ष राईमाथि छ ।

फाकफोकथुम गाउँपालिकामा मौसमी कामदार कोरिया पठाउने विषयमा जनप्रतिनिधि र छनोटमा नपरेका स्थानीय युवाबीच विवाद छ । गत १८ गते भएको वार्तापछि गाउँपालिका उपाध्यक्ष राईले असन्तुष्टमध्येका खड्कालाई कुटपिट गरेको पीडितले बताएका छन् । आफूमाथि नभएको आरोप लगाएर अश्लील शब्दसहित गालीगलौज गरेपछि आफूले हात छाड्नुपरेको उपाध्यक्ष राईले बताउँदै आउनुभएको छ ।

फाकफोकथुम गाउँपालिका र दक्षिण कोरियाको इन्जे काउन्टीबीच यहाँबाट मौसमी ट्रेनी कामदार कोरिया लैजाने सहमति भएको थियो । सहमतिअनुसारका कामदार छनोटमा प्रक्रिया नपुगेको भन्दै युवा असन्तुष्ट भएका हुन् ।

कोरिया जान चाहने ४ सय ७७ युवाले युवाले गाउँपालिकामा आवेदन दिएका थिए । तिनीहरूमध्ये १ सय ५ जना छानिने गाउँपालिकाले बताएको थियो । आवेदकमध्येका साढे ३ सय युवाले कोरिया जान मेडिकल जाँचसमेत गराइसकेका छन् । जनप्रतिनिधिले कामदार छनोट पारदर्शी नबनाई आफूखुसी गरेको असन्तुष्ट युवाको आरोप छ । असन्तुष्ट आक्रोशित युवाले हप्तादिनअघि कार्यालयमा तोडफोड गरी तालाबन्दी गरेका थिए । तालाबन्दी भने गत १३ गते खुलाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्