भारतमा गणेशमानको पहिलो राजनीतिक भाषण

महेन्द्रमान सिंहद्वारा लिखित ‘फरइभर इन्कम्प्लिट– दी स्टोरी अफ नेपाल’ पुस्तकको अनुदित अंश–३



शिवलाल श्रेष्ठ (अनुवादक)

दोस्रो विश्वयुद्ध समाप्तितिर आइसकेको थियो । रेलहरु भारतका विभिन्न स्थानहरुमा र अन्यत्र जाने ब्रिटिस गोर्खा सैनिकहरुले खचाखच भरिएका हुन्थे । चार दिनको निरर्थक प्रयासपश्चात् र अनेक तवरले फकाई–फुल्याई किंवदन्ती कुराहरु गरेका गणेशमानलाई अन्ततः केही सैनिकले आफूहरुसँग कलकत्तासम्म सफर गर्न दिएका थिए । त्यहाँ पुगेर उनले आफ्ना पुराना साथीहरुलाई खोज्न थाले तर कसैलाई फेला पार्न सकेनन् । तर ब्रिटिस अधिकारीहरुको सहयोगमा नेपाल सरकारले सजिलैसँग उनलाई फेला पार्न सक्छन् भन्ने उनले बुझेका थिए । काठमाडौंबाट कलकत्ता घुम्न आएको उनको एक पुरोनो साथी, धर्म रत्न यमीले वाम क्रान्तिकारी डा. जगदीश बोस नाम लेखेको एक परिचयात्मक पत्र दिएर सुझाए अनुसार उनी त्यहाँबाट कालिम्पोङको लागि हिँडे ।

कालिम्पोङमा गणेशमानलाई भाग्यले साथ दियो । डा. बोस र उनकी पत्नीले स्वागत त गरे नै, साथै आतिथ्य सत्कार पनि गरे । कम्युनिस्ट प्रणालीका राम्रा र नराम्रा पक्षमा उनीहरु दुवैबीच धेरै छलफल भयो तर न डा. बोसले, न त गणेशमानले नै एक–अर्कालाई प्रभाव पार्न सके । दुवै आ–आफ्ना दृढ धारणाहरुबाट टसमस भएका थिएनन् । एक दिन त्यहाँ दुईजना नेपाली युवक उनीसँग भेट गर्न आए । उनीहरु गणेशमान कसकोमा बसेका छन् भन्ने छनक पाएर भेट्न आएका थिए । उनीहरु उनलाई प्रत्यक्ष हेर्न र जेल तोडेर उम्केको साहसिक कुरा उनकै मुखबाट सुन्न लालायित थिए ।

उनीहरुको आतुर इच्छाले गर्दा हौसिँदै त्यस्ता युवाहरुलाई आफू लागिपरेको कारण सम्झाउन अनि बुझाउन सके तीमार्पmत अन्य युवालाई पनि विश्वस्त पार्न सकिने सोचेर गणेशमानले आपूmले गरे/भोगेका सम्पूर्ण कुरा नबिराई भने । उनको कुराले ती दुवै जना आश्चर्यचकित भए । तर जब उनीहरुले पछि थप सहयोग दिने बाचाको साथ तत्काल सहायतार्थ भा.रु. ८ हजार दिए तब गणेशमान अक्क न बक्क बनेका थिए । ती युवा नेपालको हुनेखाने धाख्वा महाजन परिवारका थिए, जो तिब्बत, कालिम्पोङ र कलकत्तामा व्यापार व्यवसाय गर्थे । त्यहाँ गणेशमानको नयाँ व्यक्तिहरुसँग सम्पर्क भयो । गणेशमानले त्यस्तै ढंगबाट र उनको कथा सुन्न चाहने कालिम्पोङमा अध्ययनरत अन्य नेपाली बिद्यार्थीबाट थप अर्थ संकलन गरे । त्यसरी संगठन खडा गर्न केही स्रोत उनको हात पर्यो ।

चरम ब्यग्रताका साथ भा.रु. ८ हजार रुपियाँभन्दा बढीको पुँजी लिई उनी बनारस गए । बनारस नयाँ र पुरानोबीच भेटघाट हुने शहर थियो । यो इन्डो–गंगेंटिक सभ्यताको प्राचीनतममध्येको एक र त्यस बेला नेपालबाट अध्ययन गर्न आउने उद्गम स्थल–बनारस हिन्दू विश्वविद्यालय रहेको थलो पनि थियो । त्यहाँ विश्वविद्यालयमा नेपाली विद्यार्थीमाथि आइपर्ने समस्या सल्ट्याउनु र अन्य मानवीय क्रियाकलापमा आबद्ध रहनको लागि ‘नेपाली छात्र संघ’ नामक एउटा संस्था संगठित थियो । नेपाली विद्यार्थीको खचाखच र आमन्त्रित भारतको बहुप्रतिष्ठित व्यक्तित्वहरुसमेतको उपस्थिति रहेको हलमा उक्त ‘संघ’ले ‘नेपाल दिवस’को आयोजना गरिरहेको थियो । उपस्थितमध्ये समाजवादी नेता राममनोहर लोहिया र उनका साथीहरु विशेष थिए । संघका उपाध्यक्ष युवा कृष्णप्रसाद भट्टराईले नेपालबाट आएका कृष्णबहादुर प्रधानले त्यस सभालाई सम्बोधन गर्दै छन् भनी उद्घोष गरे, जुन गणेशमानको छद्म नाम थियो । ईश्वर बराल नामक एक विद्यार्थीले उनलाई सोही छद्म नामबाट परिचित गराएका थिए ।

त्यहाँ गरेको भाषण नै गणेशमानको प्रथम राजनीतिक भाषण थियो र गजबको पनि थियो । शुरुमा उनी केही हिचकिचाए, अभ्यस्त नभएकोमा यस्तो हुनु स्वाभाविक थियो । लडबड शब्दहरु निस्के पनि जब उनले आफ्नो मनोवेग पोख्न थाले, त्यसपछि उनी संयमित र दृढ बने । उनले नेपालमा विद्यमान रहेको राजनीतिक दुरावस्थाबारे वृत्तान्त सुनाए । प्रजा परिषद् र त्यसले गरेका क्रियाकलापबारे जानकारी गराए । राणा शासकहरुले त्यस संगठनका सदस्यहरुलाई र अन्य क्रान्तिकारीहरुमाथि लादेको दण्ड सजाय पनि सबै जानकारी गराए ।

उनले नेपालीहरुको गरिबी, राणाहरुले ती निमुखा जनतामाथि र स्वयं राजामाथि समेत गर्ने अन्यायलाई खप्नुपर्ने सन्दर्भमा बडो मार्मिक ढंगबाट प्रस्तुति गरे । उनले सम्बोधनका क्रममा शिक्षाको मुख्य लक्ष्य भनेको नोकरीको सुनिश्चितता दिलाउनु मात्र नभई विद्यार्थीलाई प्रबुद्ध तुल्याउनु र उनीहरुलाई समाजप्रतिको दायित्वबोध गराउनु पनि हो भनेका थिए । उनले विद्यार्थीलाई आफ्नो राजा र मातृभूमिप्रतिको कर्तव्य निभाउन आह्वासमेत गरेका थिए । प्रजातान्त्रिक सरकारको स्थापनाले मात्र नेपालीले इज्जत र समानताको जीवन बाँच्न पाउन सक्नेछन्, उनले भने । त्यसको लागि निरंकुश राणा शासनलाई उखेलेर फ्याँक्नुपर्छ भन्दै आफ्नो भनाइ टुङ्ग्याएका थिए ।

विद्यार्थी संगठनलाई राजनीतीकरण गर्न खोजिएको भन्दै केही विद्यार्थीले विरोध गरे तापनि अधिकांशले उनका कुरा बडो ध्यानपूर्वक सुने । सभाको अन्त्यमा मात्र उनीहरुलाई सम्बोधन गर्ने व्यक्ति गणेशमान हुन् भन्ने थाहा भयो । उनीहरुमा गणेशमानप्रति श्रद्धा थियो । त्यस भेलामा उपस्थितमाझ उनको साहसिक छविको छाप बसेको थियो । कृष्णप्रसाद भट्टराई र उनका साथीहरुले उनको अभियानमा साथ दिने दृढता प्रकट गरेका थिए । गणेशमान उनीहरुको हृदय र विवेकमा राणाविरोधी झिल्को सल्काउन सफल भएका थिए । उनीहरुले नेपालमा राजनीतिक परिवर्तनको अगुवाइ गर्न एउटा संगठन स्थापना गर्ने दृढ निश्चय गरे । ती विद्यार्थी विशेष उद्देश्य प्राप्तिका लागि काम गर्न उत्साहित बनेका थिए । बनारसमा राणा शासकका गुप्तचरहरु छ्यापछ्याप्ती भएकाले गणेशमान सुरक्षित ठाउँ कालिम्पोङमा नै फर्के र नयाँ खबरका लागि त्यहाँका नयाँ साथीहरुलाई पर्खी बसे ।

त्यसको केही महिनापछि सन् १९४६ अक्टोबर ४ (वि.सं. २००३/०६/१८) मा पटनाबाट प्रकाशित हुने ‘सर्चलाइट’ नामक पत्रिकामा बी.पी. कोइरालाको एक लेख प्रकाशित भयो । कोइराला भारतका समाजवादी नेता राममनोहर लोहिया र जय प्रकाश नारायणको संरक्षणमा थिए । नेपाली विद्यार्थीले बनारसमा गरेको कार्यक्रममा आफ्नो परामर्शदातासँगै उनी पनि उपस्थित थिए होलान् । शायद उनीहरुकै सल्लाहमा उनले उक्त लेख लेखेका थिए । उनको लेखले भारतमा अध्ययनरत सबै नेपाली विद्यार्थीलगायत अन्य बसोबास गरी बसेका नेपालीहरुलाई नेपालको तानाशाह राणाविरुद्ध एकबद्ध हुन आह्वान गरेको थियो । त्यसले बनारसमा गणेशमानले व्यक्त गरेको भावनालाई प्रतिध्वनित गरेको थियो ।

बी.पी. अर्थात् विश्वेश्वरप्रसाद कोइराला विराटनगर निवासी कृष्णप्रसाद कोइरालाका छोरा थिए । राणा प्रधानमन्त्री चन्द्र शमशेरको पालामा उनका पिता विराटनगर भन्सार कार्यालयको सानोतिनो ठेक्कापट्टाको काम गर्दथे । उनी सरकारी राजस्व हिनामिनामा परेर फरार भएका थिए । चंख स्वभावका उनी सीमापारि भारत छिरेका थिए । नेपालबाट टाढा सुरक्षित दूरीबाट उनले राम्रोसँग लुकाइराखेको झुत्रो झाम्टोको एउटा पोका प्रधानमन्त्रीलाई पठाएका थिए । त्यस झुत्रो झाम्टोको अर्थ नेपाली जनताको दरिद्रता र दयनीय स्थिति दर्शाउनु थियो । त्यसबाट शायद आपूmले गरेको चोरी कार्यलाई न्यायोचित ठहर्याउन र प्रसिद्धि बटुल्ने उनीको प्रयास थियो । राजस्व हिनामिनाको अपराधमा उनलाई पक्राउ पुर्जी जारी गरिएको थियो । अन्ततः जुद्ध शमशेरको पालामा उनलाई पक्राउ गरी थुनामा राखेका थिए । उनको मृत्यु बन्दी अवस्थामा नै भयो ।

बी.पी.को जन्म बनारसमा भएको थियो र उनको औपचारिक शिक्षा भारतमा भएको थियो । कम्युनिस्टसँग केही असन्तुष्ट बनेपछि उनी कांग्रेस समाजवादी दलमा आबद्ध भए र विहार समाजवादी दलको सहायक सेक्रेटरी र दलको विद्यार्थी शाखातर्फको प्रमुखसमेत बने । उनी अक्सर कलकत्ता, पटना र बनारसबीच यात्रा गर्थे । उनले सन् १९३४ मा बनारस हिन्दू विश्वविद्यालयबाट अर्थशास्त्र र राजनीतिशास्त्रमा स्नातक गरेका थिए । त्यसपछि उनले कानुनमा पनि स्नातक गरे । सन् १९४२ को भारत छोड आन्दोलनताका ब्रिटिस हुकुमतले उनलाई पनि भारतका अन्य स्वतन्त्रता सेनानीहरुसँगै बन्दी बनाएको थियो । यदि सीमापारिका कांग्रेस समाजवादी दललाई नेपालमा पनि आफ्नो जस्तो समाजवाद स्थापना गराउने योजना रहेको भए बी.पी.उनीहरुको लागि उपयुक्त माध्यम थिए ।
(क्रमशः अर्को मंगलबार)

अघिल्लो भाग पढ्नुहोस् : ‘इन्क्लाब : जिन्दावाद !’ क्रान्तिकारी नारा
गणेशमानको जेलबाट उम्कने प्रयास सफल

प्रतिक्रिया दिनुहोस्