गणेशमानको जेलबाट उम्कने प्रयास सफल

महेन्द्रमान सिंहद्वारा लिखित ‘फरइभर इन्कम्प्लिट– दी स्टोरी अफ नेपाल’ पुस्तकको अनुदित अंश–२



  • शिवलाल श्रेष्ठ(अनुवादक)

अचानक आफ्नो अघिल्तिर ठिंग उभिएको एउटा कालो आकृति देखेर गणेशमानको होस उड्यो । एकछिन्मा गणेशमानले पूर्णबहादुर एम.ए.लाई ठम्याए र राहतको सुस्केरा हाले । ‘मेरो काँधमाथि चढ र पर्खालमाथि उक्ल’, पूर्णबहादुरले भने । त्यस बेला त्यहाँका बन्दीहरुमध्ये सबैभन्दा अग्ला पूर्णबहादुरले व्यावहारिक सहयोग जुटाएका थिए । पूर्णबहादुरको काँधबाट भर्खरै निर्मित्त बाह्रफुटे पर्खालमाथि चढ्न उनलाई सजिलो थियो । उता डल्लो र बोधो शरीरका चिकित्सक चन्द्रमानले पनि गणेशमानको उक्त अभियानमा मद्दत पुर्याउन चाहेको र सम्भव भएसम्म उनीसँगै जेलबाट उम्कनसमेत सहमत भएका थिए ।

पूर्णिमापछिका केही दिनपश्चात् सन् १९४४ जुन २० (वि.सं. २००१/०३/०७) को त्यो अन्धकारमय रातमा चौबीस फुट अग्लो बाह्य पर्खालमाथि राखिएको सुरक्षात्मक विद्युतीय नाङ्गो तारको घेरालाई शायदै देखिन सकिन्थ्यो । लहरे खोकीले आक्रान्त रात्रि पहरेदारहरु लगातार खोकिरहेका थिए । साथै छाती नै फुट्लाझैँ गरी स्वाँ–स्वाँ पनि गरिरहेका थिए । उनीहरुको कडाखाले सुख्खा खोकीको चर्को ध्वनिले पर्खाल चढ्दाको स्वारस्वार आवाज र ती तीन सहासिक अभियान्ताहरुले गरेको खासखुसे स्वरलाई दबाउन मद्दत पुर्याइरहेको थियो । गणेश मान भित्री पर्खालमाथि बसिरहेका थिए । ‘डोरी र अङ्कुसे यता देऊ !’ गणेशमानले दबेको आवाजमा चन्द्रमानलाई अराए । जेल प्रशासनले बन्दीहरुलाई हरेक ६ महिनामा ९ हाते पटुका दिने गरेको थियो । गणेशमान सिंहले २ वर्षसम्मको सो पटुका जम्मा गरेका थिए । त्यसलाई गाँसेरे खास–खास दूरीमा गाँठो पारेका थिए । त्यही पटुकाको डोरीको एक छेउमा अङ्कुसे (खुट्टाको नेलमा जोडेको ठाडो डण्डिलाबाट बनाएको) बाँधेको थियो ।

केही दिनपहिल्यै देखि उनले अनेकपटक भित्री पर्खालबाट बाहिरी पर्खालसम्मको दूरी ठम्याउने काम गरेका थिए । आवश्यक ठानेजति डोरीको लम्बाइ छोडेर उनले अङ्कुसे बाहिरी पर्खालमाथि हुत्याए र डोरी बिस्तारै तान्काएर हेरे । अङ्कुसेसमेत सम्पूर्ण डोरी तानिएर हातमा नै आयो । पर्खालमा अङ्कुसे फसेको थिएन । अधीरता तथा हतासमा पनि उनले पटक–पटक कोशिश जारी राखे । अनेकपटकको प्रयासपश्चात् अन्ततः उनी पर्खालमा अङ्कुसे फसाउन सफल भए । त्यसपछि उनले डोरी बेस्सरी तानेर हेरे र पक्कासँग अङ्कुस लागेकोमा सन्तुष्ट भए । उनले चन्द्रमानलाई उक्त बाह्रफुटे पर्खाल हाम्फालेर आफू पछि–पछि आउन भने ।

चन्द्रमान खुल्ला ठाउँमा वेगले हुत्तिँदै पर्खालनिर आई माथितिर हेरेर उभिए । गणेशमान मनमनै अङ्कुसे नफुस्कियोस् भनी भगवान्सँग प्रार्थना गर्दै चन्द्रमानको काँधमाथिबाट बाहिरी पर्खालको माथि चढे । धपेडीको कारण स्वाँ–स्वाँ गर्दै उनी पर्खालमाथि पुगेर चन्द्रमानलाई पर्खन थाले । चन्द्रमान भने पर्खाल चढ्न हतास तथा प्रयासरत थिए तर सफल हुन सकेका थिएनन् । आफ्नो बोधो शरीरलाई माथि धकेल्न सकिरहेका थिएनन् । आफूलाई भाग्यको सहारामा छोड्ने निधो गरी उनले गणेशमानलाई त्यहाँबाट गइहाल भने । गणेशमान आफ्नो सहकर्मी साथीलाई त्यहीँ छोडेर जान हिच्किचाए अनि फेरि कोशिश गर्न उक्साए । ‘जाऊ ! एकछिन् पनि नबस, गइहाल’, रिस र निराशामा चन्द्रमानले खस्रो आवाजमा भने । ‘तर तिमी के गर्छौ नि ?’ गणेशमानले सोधे । चन्द्रमानको धैर्यको बाँध टुट्यो । लगभग चिच्याएजसरी दाह्रा किट्दै उनले भने, ‘म के गर्छु त्यसको चिन्ता छोड, चुपचाप निक्लिहाल !’ उनको आवेशको त्यो निर्निमेष दृष्टि भने अन्धकारमा विलिन भएको थियो । निरन्तर विद्युत् आपूर्तिको व्यवस्था रहेको तर त्यस बेला विद्युत् आपूर्ति बन्द रहेको हुँदा पर्खालमाथिको विद्युतीय घेराले आघात त गरेन नै, साथै त्यहाँ चुक घोप्ट्याएझैँ अन्धकार पनि बनेको थियो । रात्रि पहरेदारलाई पुनः खोकीको लहर शुरु भयो । अन्य पहरेदारहरु भने एक–अर्कालाई डाकिरहेका, सरापिरहेका, दुरबचन बोलिरहेका सुनिएको थियो । अन्धकार रहेको त्यस बेला ती को–को थिए भन्न गाह्रो थियो । अब के गर्ने भन्ने निष्कर्षमा पुगिसकेका गणेशमानले झ्यालखानाबाट उम्कन अङ्कुसेलाई पुनः पर्खालमा अड्काए । त्यसपछि डोरीमा सुरेली खेल्दै पर्खालबाहिर ओर्ले । उनी झ्यालखानाको बाहिरी भागमा खनिराखेको गहिरो खाडलमा उत्रिन पुगेका थिए । जाडोको याम भएकाले खाडलमा पानी जमेको थिएन ।

भाग्यले साथ दिएझैँ गरी खाडलमा उत्रिन पुग्नाले उनलाई मनग्य लुक्न सकिने भएको थियो । श्वास सामान्य भएपछि उनले टाउको उचालेर अन्धकारमा यसो चियाएर हेरे । छेउमा एउटा गाई घाँस चपाइरहेको थियो । उनको मनमा एउटा गजबको विचार आयो । अन्धकारमा देख्नेले बाछोको भ्रममा पर्ने आशामा उनी चार हात–खुट्टामा उफ्रँदै गाईको छोउसम्म पुगे । अन्धकारमा देखेको अनौठो आकृतिबाट झस्केको गाई कराउँदै त्यहाँबाट भाग्यो । गाईभन्दा निकै पछि परिएला भन्ने आशंकामा गणेशमान पनि चार हात–खुट्टामा छिटो–छिटो उफ्रँदै गाईको पछि लागे । झ्यालखानाभन्दा मनग्य टाढा एवं सबैभन्दा अँध्यारो ठाउँमा पुगेर उनी रोकिए र बिस्तारै आफ्नो खुट्टामा उभिए ।

शहरका गल्ली–गल्लीको फन्को मारेर रात्रिको समय बिताइवरि बल्ल बिहानीको झिसमिसेमा उनी पूर्णबहादुरको घरमा गए । पूर्णबहादुरको बुबाले लालटिनको मधुरो प्रकाशमा गणेशमानलाई नियालेर हेरे । अनि ठम्याइसकेपछि उनलाई सूर्यबहादुर भारद्वाजको घरमा पुर्याइदिन कान्छो छोरालाई अराए । गणेशमानको जेलबाट उम्कने साहसिक अभियानमा सूर्यबहादुरका छोराले काँध थापेर जेलको पर्खाल चढ्न योगदान दिएका थिए भने जेलबाहिर उनलाई काठमाडौंबाट बाहिर्याउन उनै बाबु सूर्यबहादुरले सहयोग जुटाइदिएका थिए ।
गणेशमानलाई आफ्नो अघिल्तिर देखेर एकछिन् अचम्मित बनेका भारद्वाजले ‘तपाईंको भन्दा पहिला मेरो गर्दन हुनेछ !’ भनी किरिया खाए । गणेशमानलाई एउटा कोठामा ताला मारेर केही साथीहरु बटुल्न उनी त्यहाँबाट हिँडे । उकुसमुकुसका आधा घण्टाजति बितेपछि शम्भुराम त्यहाँ आइपुगे । त्यसपछि केही मिनेटभित्रै भारद्वाज पनि आएका देखेर गणेशमान आश्वस्त बने ।

छिटो–छिटो लुगा फेरी दोलाईं ओढेर उनीहरु फटाफट पश्चिमतिरको भीनुङ्गा (भीमढुङ्गा) तर्फ लागे । हुस्सु लागेको झिसमिसेमा उनीहरु साधारण कृषकजस्तो देखिन्थे । शम्भुरामको मोही त्यतै बस्थ्यो । त्यस ग्रामीण बस्तीमा पुगेपछि बल्ल गणेशमानले सन्तोषको श्वास फेरे । उनले आफू सुरक्षित भएको ठाने । शहरभन्दा उचाइमा रहेको त्यस ग्रामीण भेगबाट बिहानीको उज्यालोमा काठमाडौं उपत्यका सफासँग देखिन्थ्यो । उनले जसै स्फूर्तिदायक बिहानी हावा लिए, तत्क्षण आफू मुक्त भएको अनुभूति गरेका थिए । त्यहाँ उनलाई पस्केको भोजन उनले चार वर्षयता गरेको सबैभन्दा स्वादिष्ट भोजन थियो । काठमाडौंबाट खबर लिएर आउने बाचाका साथ उनलाई त्यहीँ सुरक्षित छोडेर उनका साथीहरु फर्के ।

साथीहरुलाई अनावश्यक खतरामा मुछ्न नचाहेका उनी भोलिपल्ट एकाबिहानै त्यहाँबाट हिँडे । उनको लक्ष्य सीमापारि भारत पुग्नु थियो । त्यो वास्तवमा नै लामो दुष्कर हिँडाइ थियो, जुन बाटो हिँडेर पश्चिममा पाल्पा, त्यसपछि तल दक्षिणमा बुटवल हुँदै भैरहवापारि भारतको नौतनवासम्म पुग्न सकिन्थ्यो । कहिले मनकामना माईको दर्शनमा जाने त कहिले आफन्तकोमा जाने भन्दै अन्ततः उनी बुटवल आइपुगे । बाटोमा उनले गाउँलेको घोर संकीर्णताका साथै अन्जान भए तापनि स्वागत–सत्कार गर्ने शैली देखे । ग्रामीण जनतामा ‘अतिथिदेवो भवः’ भनाइ चरितार्थ गर्ने परम्परा कायम थियो ।

अब उनी भारतको छेउमा नै पुगे तर उनीसँग न पैसा थियो, न त ढंगको लुगा नै थियो । काठमाडौंबाट हिँडेदेखि लगाएको एकजोर लुगा च्यातिएर झुत्रो भइसकेको थियो । आफ्नो देशको परिधिमा उनले त्यही लुगाले काम चलाए । अब उनले आफूलाई चिटिक्क पार्नु थियो तर उनीसँग त्यसको लागि पैसा थिएन । त्यस सकसको अवस्थामा बुटवलमा राम्रो व्यापार चलाई बसेका उनका बालसखा ज्ञानकाजीले सहयोग गरेका थिए । जसरी काठमाडौंमा उनलाई देखेर पहिले भारद्वाज स्तब्ध र आश्चर्यचकित बनेपछि दृढताका साथ मद्दत गर्न ‘तिम्रो भन्दा पहिला मेरो गर्दन हुनेछ !’ भनी बचनबद्ध भएका थिए, ज्ञानकाजीले पनि सोही भावना तरंगित गराएका थिए । उसले भा.रु. एक हजार रुपियाँ दिनुका साथै गणेशमानलाई त्यहाँका जनसाधारणसरह देखा परुन् भनी एउटा साधारण मारबाडी व्यापारीको भेषभूसामा तयार पारेका थिए । त्यसपछि उनले आफ्ना साथीसँग सीमापारि नौतनवाको रेलवे स्टेसनसम्म पुर्याउने बन्दोबस्त पनि मिलाइदिएका थिए ।

कार्यहरु छिटो–छिटोसँग भएकाले निर्विघ्न सम्पन्न भयो । किनभने गणेशमानले बुटवल छोडेको केही घण्टामा उनलाई खोज्न त्यहाँ प्रहरीहरु छ्यापछ्याप्ती फैलिएका थिए । सन् १९४४ जुलाई २ (वि.सं. २००१/०३/१९) मा प्रकाशित सरकारी खबर पत्रिका ‘गोरखापत्र दैनिक’ ले गणेशमानको फोटोसहित उनको बारेमा खबर छापेको थियो । गणेशमान नेपालको प्रथम व्यक्ति बने, जसको फोटो त्यसरी छ्यापछ्याप्ती वितरण भएको थियो । शक्तिकेन्द्रको लागि उनी कुख्यात बने भने जनसाधारणमा उनी प्रख्यात भए । उनी राणाको कठोर जालो तोडेर स्वतन्त्र भएसँगै ऐतिहासिक व्यक्ति बनिसकेका थिए ।
(क्रमशः अर्को मंगलबार)

अघिल्लो भाग पढ्नुहोस् : ‘इन्क्लाब : जिन्दावाद !’ क्रान्तिकारी नारा

प्रतिक्रिया दिनुहोस्