मुगुमा  २८ हजार बालबालिकालाई टाइफाइडको खोप


वीरबहादुर बम,मुगु । 

मुगुमा २८ हजार बालबालिकालाई टाइफाइड विरुद्धको खोप दिइने भएको छ । नेपाल सरकारले अभियान कै रूपमा देशभर आगामी २५ गते देखि वैशाख ८ गतेसम्म सञ्चालन गर्न लागेको टाइफाइड विरुद्ध खोप अभियानमा दुर्गम मुगु जिल्ला २८ हजार ७८३ बालबालिकालाई खोप लगाइने भएको हो ।

जिल्ला स्वास्थ्य सेवा कार्यालय मुगुको आयोजनामा जिल्ला सदरमुकाम गमगढीमा आयोजित जिल्ला स्तरीय खोप समन्वय समिति र सञ्चारकर्मीको अभिमुखीकरण तथा अन्तरक्रियात्मक कार्यक्रममा  आगामी २५ गतेबाट वैशाख ८ गतेसम्म अभियान चलाएर २१ हजार ११६ विद्यार्थी र ७ हजार ६६७ विद्यालय बाहिरका १५ महिना देखि १५ वर्ष सम्मका बालबालिकालाई टाइफाइड विरुद्धको खोप दिन लागिएको स्वास्थ्य सेवा कार्यालय प्रमुख उमेश गौतमले जानकारी गराए।

बालबालिकाहरूलाई दिइँदै आएको नियमित १२ वटा खोपमा थप १ टाइफाइड विरुद्धको थपेर अव देखि नियमित खोप दिइने छ । राष्ट्रिय अभियानका बेला जिल्लाका १५८ विद्यालय र बाकी स्वास्थ्य संस्थाहरू गरी जिल्ला भर १७० वटा खोप केन्द्रबाट खोप दिइने खोप सुपरभाइजर दीपक रावतले बताए ।रावलका अनुसार स्थानीय तह अनुसार छायाँनाथ रारा नगरपालिकामा १०,३३४ जना, मुगुमा कार्मारोङ्ग गाउँपालिकामा २०८७ जना,सोरु गाउँपालिकामा ८,१९८ जना र खत्याड गाउँपालिकामा ८,१६४ जना बालबालिकालाई टाईफाइृट विरुद्ध खोप लगाइने छ ।

मुख्य गरी सरसफाइको कमी र झिँगाका कारण फैलिने टाइफाइडका बिरामी सङ्ख्या पछिल्लो समयमा बढ्दै गएपछि सरकारले अभियान नै चलाएर खोप दिन लागेकोले सरोकारवाला सबैले अभियान सफल बनाउन लाग्नु पर्ने र खोप लगाउन कोही नछुटोस् भनेर राम्रा कदमहरू चल्नु पर्ने प्रमुख जिल्ला अधिकारी रोम बहादुर महतले बताए । यो खोप शतप्रतिशत सफल रहेको र प्रति लाखमा १ जनालाई सामान्य असर देखिन सक्ने पनि बताइएको छ ।