खप्तडी बुढाथोकीको बागमती प्रदेश स्तरीय अन्तरक्रिया 


भक्तपुर । 

“कुल वंशको रक्षा गरौँ ,संस्कार र संस्कृतिको जगेर्ना गरौँ” भन्ने मूल नाराका साथ खप्तडी बुढाथोकी क्षेत्री सेवा समाजको बागमती प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।जिल्ला कार्यसमिति ललितपुरको मुख्य आयोजना र  काठमाडौं , भक्तपुर , धादिङ र काभ्रेपलान्चोक जिल्ला कार्यसमितिको संयुक्त आयोजनामा भएको अन्तरक्रियामा सहभागीहरूले बन्धुत्वको विकास गर्दै र संगठनलाई सुदृढ गर्दै समुन्नतितर्फ डोराउनुपर्नेमा जोड दिएका छन् ।

कार्यक्रममा समाजका अग्रज व्यक्तित्व राष्ट्रिय योजना आयोगका पूर्व सदस्य समेत रहनु भएका डा।प्रभु बुढाथोकीले समाज र समाजका अगुवाहरूले बन्धुहरूबिच आपसी संवाद,सम्पर्क,सहभागिता र सक्रियता बढाएर एकताबद्ध र गोलबद्ध हुनुपर्नेमा जोड दिनुभयो ।उहाँले १२ सय वर्ष अघि नै खप्तडी बुढाथोकी क्षेत्री काठमाडाैं उपत्यकामा बसोबास गर्दै आएको तथ्य उल्लेख गर्नुभयो ।उहाँले बुढाथोकी क्षेत्री सेवा समाजलाई देशलाई अन्ध राष्ट्रवादबाट मुक्त गर्नुपर्ने जस्तै अन्ध सोचबाट मुक्त गर्नुपर्नेमा जोड दिनुभयो ।

समाजका केन्द्रीय महासचिव डम्बर बहादुर बुढाथोकीले नेपालको संविधान अनुरूप समाजको विधान बनेको भन्दै समाजको केन्द्रीय कार्य समिति,प्रदेश तथा जिल्ला समिति पनि विधान बमोजिम चल्नुपर्नेमा जोड दिनुभयो ।समाजको ३५ जिल्लामा समिति बिस्तार भैसकेको जानकारी दिँदै उहाँले देश बिदेशमा छरिएर रहेका बन्धुहरूबिच दुखसुख साटासाट गर्ने र पहिचानको खोजी गर्ने उद्देश्यले २०५४ सालमा समाजको स्थापना भएको स्मरण गराउनुभयो ।कार्यपत्रमाथि टिप्पणी गर्दै समाजका केन्द्रीय उपमहासचिव तथा प्रवक्ता पुष्करराज बुढाथोकीले संगठनमा नै बल हुने भन्दै सबै समितिलाई चलायमान बनाउँदै आकर्षणको केन्द्र बनाउनुपर्नेमा जोड दिनुभयो ।

खप्तडी बुढाथोकीको इतिहास र पहिचानका बारेमा कार्यपत्र प्रस्तुत गर्दै जिल्ला कार्यसमिति ललितपुरका अध्यक्ष तथा कार्यक्रम संयोजक मोहन बुढाथोकीले समाजको अनुभव,अवसर,चुनौती र सम्भावनाबारे प्रकाश पार्नुभयो । उहाँले सदस्यहरूको जिम्मेवारी ,कर्तव्य र कसरी संस्थालाई अगाडि बढाउने बारेमा प्रस्ट पार्नु भएको थियो ।कार्यपत्र माथि टिप्पणी गर्दै समितिका काठमाडौं अध्यक्ष शैलेन्द्र बुढाथोकी र धादिङ अध्यक्ष राजेन्द्र बुढाथोकीले समाजलाई बन्धुहरूको सुख दुखको भारी बिसाउने थलोको रूपमा बलियो बनाउँदै लैजानुपर्ने बताउनुभयो ।

ललितपुर हात्तिबनमा सम्पन्न भएको एक दिवसीय बागमती प्रदेश स्तरीय अन्तरक्रियामा बागमती प्रदेश भित्रका जिल्ला कार्यसमितिका सम्पूर्ण पदाधिकारी , सल्लाहकार र लेखा समितिका सदस्यको सहभागिता रहेको थियो ।जेष्ठ अभिभावक कृष्ण बहादुर बुढाथोकीको सभापतित्वमा भएको सो अन्तरक्रिया कार्यक्रममा सरस्वती बुढाथोकीले ललितपुर जिल्लाको लागत संकलनको  सर्भे प्रस्तुत गर्नुभएको थियो भने सहभागीलाई चार समूहमा विभाजन गरी समूह छलफलबाट निष्कर्ष  घोषणा गरिएको थियो भक्तपुर अध्यक्ष  हरिकृष्ण बुढाथोकीले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रम समाजका अभियन्ता अशोक बुढाथोकीले सञ्चालन गर्नु भएको थियो ।

कार्यक्रममा रामेछाप अध्यक्ष ज्ञान बहादुर बुढाथोकी , कोषाध्यक्ष मोहन बुढाथोकी ,काभ्रे जिल्ला अध्यक्ष रामहरी बुढाथोकी, सचिव शिव शरण बुढाथोकी ,सिन्धुली अध्यक्ष प्रेम बहादुर बुढाथोकी , सल्लाहकार  प्रकाश बर्मा बुढाथोकी लगायतले राय सुझाव दिनुभएको थियो ।

कार्यक्रममा रसुवा र मकवानपुर बाहेक ११ जिल्लाका ८५ जना को प्रतिनिधिमूलक ढङ्गले सहभागिता रहेको थियो ।समाजको केन्द्रीय कार्य समितिले विगतमा जस्तै यस वर्ष पनि क्यालेन्डर प्रकाशनको तयारीमा रहेको जानकारी दिँदै समाजका सदस्य सबैमा शुभकामना सन्देश र विज्ञापन दिई सहयोग गर्न अपिल गरेको छ ।