आठ वर्षपछि फेरि चल्यो रेडगाडी


जनकपुरधाम  । 

प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्तरूपमा हरियो झण्डा देखाएसँगै जयनगर–कुर्था रेल सेवा शुरु भएको छ । दुवै देशका प्रधानमन्त्रीले हरियो झण्डा देखाएपछि नेपालीहरुको रेलसेवाको आनन्द लिने ८ वर्षको लामो प्रतीक्षाको समेत अन्त्य भएको छ ।

रेल गुड्ने भएपछि स्थानीय अत्यधिक उत्साहित थिए । यतिमात्रै नभई स्वयं भौतिक पूर्वाधारमन्त्री रेणु यादवसमेत एकदमै उत्साहित हुनुहुन्थ्यो । ‘रेल गुडेको देखेर प्लेटफर्ममा बिक्री हुने बदामको याद आइरहेको छ ।’ –उहाँ भन्नुहुन्छ । आफूले बाल्यकालमा नेपाली रेलको यात्रा गर्दा प्लेटफर्ममा बदाम खाने गरेको मन्त्री यादवको भनाइ थियो ।जयनगरबाट गुडेको रेल हेर्नका लागि प्रत्येक स्टेसनमा हजारौंको भीड लागेको थियो । रेलकै प्रतीक्षाका लागि जनकपुरधामस्थित रेल्वे स्टेसनमा समेत हजारौं नागरिकको भीड थियो ।

यसले स्थानीयमा देखिएको उत्साहको अनुमान लगाउन सकिन्छ । जनकपुरधाम रेल्वे स्टेसनमा नेपाली रेल गुडेको हेर्नका लागि जम्मा भएको भीडमा भेटिए ७८ वर्षीय वृद्ध हासिम नदाफ । उहाँ नेपाली रेल फेरि सञ्चालनमा आउँदा औधि खुशी हुनुहुन्थ्यो । ८ वर्षपछि फेरि रेल नियमित रूपमा सञ्चालनमा आउन लागेको हो । ‘कोइलाबाट चल्ने ट्रेन देखें, स्टिम इन्जिनवाला ट्रेन पनि देखें र अहिले आधुनिक ट्रेन आफ्नै जन्मभूमिमा गुडेको देख्ने धोको पूरा भएको छ ।’ –उहाँ भन्नुहुन्छ ।

स्थानीय प्रतापकुमार भगतले वैदेशिक रोजगारमा गएको छोरो घर फर्केपछि जस्तो खुसी रेल गुडेको देख्दा लागेको बताउनुभयो । रेल्वे सञ्चालनमा आउँदा रोजगारीको अवसर सिजना हुने भएकाले पनि स्थानीय हर्षित भएका हुन् ।
रेल नियमित गुड्ने भएपछि व्यापारीहरुमा उत्साह समेत थपिएको छ । ‘यात्रुको आवागमनले व्यापार व्वसायमा वृद्धि हुन्छ’, जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठले भन्नुभयो– ‘यसले जनकपुरधामको उद्योग व्यवसाय फस्टाउने छ ।’ यात्रुसँगै सामान पनि ढुवानी गर्नुपर्ने उहाँको भनाइ थियो । ‘दक्षिण भारतबाट ट्रकमा चामल आयात गर्दा प्रतिकिलो १६ रुपियाँ ढुवानी खर्च लाग्छ तर रेलमार्गबाट ल्याउँदा प्रतिकिलो ५ वा ६ रुपियाँ मात्र पर्छ ।’ – महासेठको कथन छ ।

पहिलो रेलयात्राको अनुभव

नेपाली रेललाई स्वागत गर्नका लागि प्रत्येक स्टेसनमा नेपाली विद्यार्थी नेपाल र भारतको झण्डा बोकेर उभिएका थिए । ती विद्यार्थीहरुलाई रेलमा सवार गराएर जनकपुरधामसम्म ल्याइएको थियो ।स्वागतकै नेपाल भारतको झण्डा लिएर उभिएकी १० वर्षीया छात्रा शिवानी साहले रेलको यात्रा पहिलो अनुभव रहेको बताउनुभयो । ‘टिभी तथा भिडियोमा मात्रै रेल गुडेको देखेको थिएँ अर्का छात्रा रञ्जु यादव भन्नुहुन्छ– ‘आज आफ्नै जन्मभूमिमा रेल गुडेको देख्दा एकदमै खुसी लागेको छ ।’

नेपाली रेललाई हरियो झण्डा देखाइएसंगै अब नियमित दुईपटक रेल सञ्चालन हुनेछ । कोइला इन्जिनदेखि आधुनिक इन्जिनसम्मको यात्रा विक्रम सम्वत् १९९४ सालमा विवाह पञ्चमीका दिन भारतमा शासन गरिरहेका तत्कालीन इष्ट कम्पनीले महोत्तरी जंगलबाट सखुवाको गोलिया काठ ओसार्न निर्माण गरेको जनकपुर रेल्वे महोत्तरीको बिजुलपुराबाट भारतको जयनगर ५२ किलोमिटर सञ्चालनमा आएको थियो । तर, २०५९ सालमा आएको बाढीबाट विग्ही पुल क्षतिग्रस्त भएयता रेल सेवा जनकपुरदेखि जयनगर २९ किलोमिटरमा सीमित हुन पुगेको थियो । जनकपुर–जयनगरका लागि दैनिक ३ सेवा सञ्चालन हुने गरेका थिए । शुरूमा इन्धनका रूपमा कोइला तथा दाउरा प्रयोग गरी चल्ने रेल विक्रम सम्वत् २०१८ सालदेखि यात्रु ओसारपसार कार्यको थालनी गरेको थियो ।

रेल्वेलाई व्यवस्थित गर्ने उद्देश्यले २०२१ सालमा नेपाल यातायात संस्थानअन्तर्गत राखिएको थियो । २०२५ सालमा सरकारले यसको नाम जनकपुर–जयनगर रेल्वे राख्ने निर्णय ग-यो । रेल्वेको पहिलो प्रबन्धकको रूपमा टेकजंग थापा नियुक्त हुनुभएको थियो । २०५८ मंसिर मसान्तमा यातायात संस्थान विघटन भयो र २०६१ जेठ १८ गते रेल्वे सेवालाई नेपाल रेल कम्पनीको रूपमा कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता गरिएपछि हाल जनकपुर–जयनगर रेल्वे नेपाल रेल्वेको रूपमा चिनिन्छ ।श्रम तथा यातायात व्यवस्था मन्त्रालयअन्तर्गत रहेको रेल्वे सेवालाई भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयअन्तर्गत रेल विभाग गठन भएपछि त्यसले हेर्दै आएको छ ।