तेल भर्न उपत्यकाका पम्पमा लामो लाइन



काठमाडौं (नेस) ।

काठमाडौं उपत्यकाका इन्धन भर्ने पम्पहरूमा तेल हाल्ने सर्वसाधारणको चाप एक्कासि बढेको छ । घण्टौं लाइनमा बसेर उनीहरू तेल हाल्न बाध्य भएका छन् । इन्धन अभाव हुने र मूल्य बढ्ने आशङ्काले यसरी तेल हाल्न लाइनमा बसेका सर्वसाधारणले प्रतिक्रिया दिए । इन्धन ढुवानी गर्ने व्यवसायीहरूले विभिन्न माग राखेर डिपोबाट तेल नउठाएको समाचार सार्वजनिक भएपछि तेल अभाव हुने आशङ्काले एक्कासि लाइन बढेको हो । ढुवानीकर्ताले भाडा समायोजनको माग गरेका जनाइएको छ ।

नेपाल प्रहरीका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक विष्णुकुमार केसीले पहिले/पहिले ग्याँस अभाव हुने भयो भन्ने हल्लामा एकै जनाले चार/पाँचवटा सिलिन्डर जम्मा गरेजस्तै देखिन लागेको उल्लेख गर्दै चाप बढेकाले शान्ति र सुरक्षालाई ध्यानमा राखेर पम्पहरूमा प्रहरी टोली नै खटाउनुपरेको जानकारी दिनुभयो । अहिले आवश्यताभन्दा बढी तेल भर्न सर्वसाधारण लाइनमा बसेका छन् । कतिपय त ग्यालिनसमेत बोकेर पम्पमा आएका देखिए ।


दैनिक रूपमा हुने चापभन्दा बढी चाप परेकाले ठूलो लाइन लागेको पम्प सञ्चालकको भनाइ थियो । नेपाली प्रहरीको नक्साल, नेपाली सेनाको भद्रकाली, सशस्त्र प्रहरीको हलचोकको पम्पलगायत उपत्यकाका सबैजसोमा तेल लिन सर्वसाधारणको ठूलो भीड छ । शनिबार बन्द हुने पम्पमा समेत शनिबार लामो लाइन छ । शुक्रबारदेखि नै यो समस्या देखिएको प्रहरीले जनाएको छ ।

कतिपय पम्पहरूले तेल छैन भनेर ब्यानर नै झुन्ड्याउन थालिसकेका छन् । शुक्रबार मात्रै इन्डियन आयल कर्पाेरेसनले पनि इन्धनको मूल्य समायोजनसहितको सूची पठाएको थियो । आयल निगमका अनुसार ग्याँस प्रतिसिलिन्डर २७३ ले र मट्टितेल प्रतिलिटर २२ ले बढेको छ भने पेट्रोल प्रतिलिटर १ रुपियाँ ४८ पैसाले घटेको छ ।

प्रतिक्रिया दिनुहोस्