थाहा नगरमा निर्वाचनको तयारीमा दलहरू

टोल टोलमा एमाले, माओवादी र कांग्रेस 



हेटौंडा ।

मकवानपुरको थाहा नगरमा स्थानीय निर्वाचनको तयारीमा दलहरू जुटेका छन् । खास गरी नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेस विभिन्न कार्यक्रम लिएर टोल टोलमा पुगेका छन् ।

अघिल्लो निर्वाचनमा ६ वटा वडा एमाले र ६ वटा वडा माओवादी केन्द्रले जितेको थाहामा माओवादी र कांग्रेसको गठबन्धनमा मेयरमा माओवादी र उपमेयरमा कांग्रेसले जितेको थियो । मेयरमा करिब २ हजार ४ सय ५० बढी मतान्तरले माओवादीका लवशेर विष्टले जिते पनि उपमेयरमा भने ५ सय बढी मतान्तरले कांग्रेसका खड्ग गोपालीले जित्नुभएको थियो । १२ वडा रहेको थाहामा १, ३, ४, ७, ८ र ९ नम्बर वडा माओवादीले जितेको थियो भने अन्य वडा एमालेले जितेको थियो ।

२०७४ को निर्वाचन परिणाम हेर्दा गठबन्धन नगरी निर्वाचनमा गए एमाले प्रस्ट बहुमतमा देखिएको छ । त्यसो त दलहरू हाल आन्तरिकरुपले उम्मेदवारी छनौटमा जुट्न थालेका छन् । एमालेबाट अघिल्ला उम्मेदवार विष्णुप्रसाद ढकालले मेयरको दाबी रहेको बताउनुभएको छ । उहाँले २५ गते आफूले मेयरका लागि सिफारिस गर्ने तयारी भए पनि अन्य साथीहरू पनि दाबीमा रहेकाले पार्टीको निर्णय मान्ने बताउनुभएको छ ।

थाहा नगर अध्यक्ष अच्युतम्प्रसाद ढकाल पनि पार्टीले टिकट दिए आफू मेयरको दाबीमा रहेको बताउनुभएको छ । पार्टीले जिम्मेवारी दिए आफू जित्ने सम्भावना भएको उहाँले दाबी गर्नुभयो । युवा नेता सुरेन्द्रान प्रधानको पनि चर्चा छ । अघिल्लो निर्वाचनमा आफ्नो कमजोरीका कारण पराजित नभएको भन्दै पुनः एकपटक आफूलाई उम्मेदवारी दिनुपर्ने विष्णुप्रसाद ढकालको तर्क छ ।
अर्का प्रत्याशी नगर अध्यक्ष अच्युतम्प्रसाद ढकाल पनि आफू मेयरका लागि योग्य भएको भन्दै दाबी गरिरहनुभएको छ । युवा नेता प्रधानले पनि कार्यकर्ताको मागलाई ध्यानमा राखेर मेयरको तयारी गरिरहेको बताउनुभएको छ । गठबन्धनविरुद्ध सबै उम्मेदवारको साझा प्रस्ताव भने नगर कमिटीबाट सर्वसम्मतरुपमा एक जना छनौट गर्नुपर्नेमा उहाँको जोड छ ।

उपमेयरमा भने खासै चर्चा नभएपछि अघिल्लो पटककी उम्मेदवार कल्पना बलामीले दाबी गर्नुभएको छ । उहाँले आफूले मेयरको दाबी गर्नुपर्ने भए पनि अग्रजहरूका कारण उपमेयरमा नै दाबी रहेको बताउनुभयो । तर, केही महिना अघि मात्र माओवादीबाट एमाले प्रवेश गरी हाल प्रदेश कमिटीमा रहनुभएका बरिना बलको पनि सम्भावना रहेको बताइएको छ । बरिनाले पार्टीको निर्णय नै आफ्नो निर्णय भएको बताउनुभयो । उहाँले आफू पार्टीको निर्देशन मान्ने बताउनुभयो । एमाले थाहा नगरले चैत २५ गतेभित्र सिफारिस गर्ने तयारी थालेको छ ।

माओवादी केन्द्रमा भने मेयरका उम्मेदवारमा धेरै जनाको दाबी देखिएको छैन । अघिल्लो निर्वाचनमा मेयरको दाबी पेस गर्नुभएका अरुण रायमाझी हालै नगर कमिटी अध्यक्षमा पराजित हुनु र भर्खर सुकुम्वासी समस्या समाधान आयोग मकवानपुर सदस्यमा मनोनीत भएसँगै उहाँको सम्भावना टरेको छ । एउटै व्यक्ति दोहोरिन नहुने बताउँदै आउनुभएका हालमा मेयर विष्ट भने अब मेयरमा नउठ्ने बताउनुहुन्छ । स्थानीय तहको सबभन्दा बढी काम र समय पनि दिन नसक्नाले धेरै गाह्रो भएको भन्दै यस पटक आफू मेयरको उम्मेदवारी नहुने विष्टले बताउनुभयो ।

सत्ता साझेदार दलहरूबिच गठबन्धन हुने भए पक्का उम्मेदवार बन्ने माओवादी केन्द्रभित्र चर्चा छ । पार्टी अध्यक्ष प्रचण्डको कित्तामा गनिने विष्णु विष्ट आफू मेयरको दाबीमा रहेको बताउनुहुन्छ । गठबन्धन भए पनि÷नभए पनि थाहा नगरमा माओवादीको राम्रो स्थान रहेको भन्दै सहज जित्ने उहाँले बताउनुभएको छ । एक्लै चुनावमा जाने अवस्था आए शकुन्तला गोपाली एक मात्र उपमेयरको उम्मेदवार बन्ने सम्भावना छ । अघिल्लो निर्वाचनमा उपमेयरको चर्चामा रहनुभएकी गोपाली गठबन्धनका कारण पछि हट्नु परेपछि यस पटक गठबन्धन हुने भए गोपालीले ३ नम्बर वडा अध्यक्षको दाबी गरेर चित्त बुझाउने बुझिएको छ ।

अघिल्लो निर्वाचनमा वडा अध्यक्षमा प्राप्त मतका आधारमा ४ हजार ७८ मत पाएको कांग्रेस थाहा नगरको नेतृत्व यस पटक एक्ला एक्लै निर्वाचनमा जानुपर्ने अडान छ । हालका उपमेयर गोपाली अब यस पटक मेयरको टिकट आफूले पाउने बताउँदै कांग्रेस एक्लै निर्वाचनमा जानुपर्ने बताउनुहुन्छ । उहाँले आफूले उपमेयर भएर ५ वर्ष जनताको हितमा धेरै राम्रो गरेको बताउँदै आफूले गरेका योगदानका कारण जित्नेमा विश्वस्त भएको बताउनुहुन्छ ।

कांग्रेसमा हाल मेयरका लागि ईश्वरनाथ पौडेल र भरत गोपाली पनि दाबी गर्नुभएको छ । उहाँले गठबन्धन नगरी निर्वाचनमा जाने बताउँदै कांग्रेसको अस्तित्व जोगाउन गठबन्धन आवश्यक नरहेको बताउनुभएको छ ।

उहाँ नगर अधिवेशनमा सभापतिमा पराजित हुनुभएको थियो । अघिल्लो निर्वाचनमा ९ सय बढी मत सुरक्षित गरेको राप्रपाको निर्वाचन तयारी भने बाहिर देखिएको छैन । नेकपा (एकीकृत समाजवादी) भने गठबन्धनलाई जोड दिइरहेको छ । गठबन्धन भए नगर अध्यक्ष सानुकाजी गोपालीले मेयर र किरणमान बलले उपमेयरमा दाबी गर्ने बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्