पेट्रोलियम पदार्थमा देखिएको समस्या तत्काल समाधान गर्नुस् : कार्यवाहक प्रधानमन्त्री खाँण 



काठमाडौं ।

कार्यवाहक प्रधानमन्त्री बालकृष्ण खाँणले पेट्रोलियम पदार्थमा देखिएको समस्या तत्काल समाधान गर्न निर्देशन दिनुभएको छ । आपूर्ति सचिव डा. गणेश पाण्डे, नेपाल आयल निगमका कार्यवाहक महानिर्देशक वीरेन्द्र गोइत र नेपाल पेट्रोलियम डिलर्स एसोसिएसनका महासचिव विश्व अर्याललाई शनिबार टेलिफोन गरेर तत्काल समस्या समाधान गर्न निर्देशन दिनुभएको हो । उहाँले अत्यावश्यक वस्तुमा समस्या देखिए सरकार नचाहँदा नचाहँदै कठोर हुन पर्ने पनि  बताउनु भएको थियो ।

व्यवसायीहरूले पेट्रोलियम पदार्थ बेचे नबेचेको अनुगमन गर्न कार्यवाहक प्रधानमन्त्रीले आफूहरूलाई निर्देशन दिएको र आफूहरूले जिल्ला प्रशासन कार्यालय काठमाडौँको सहयोगमा अनुगमन गरेको निगमका कार्यवाहक महानिर्देशक गोइतले जानकारी दिनुभयो । ‘मन्त्रीज्यूबाट पेट्रोलियम पदार्थ बिक्री वितरण भए नभएको काठमाडौँ जिल्ला प्रशासन कार्यालयसँगको समन्वयमा उपत्यकाका पम्पहरूमा अनुगमन गर्न निर्देशन भएको थियो,’ कार्यवाहक महानिर्देशक गोइतले भन्नुभयो, ‘हामीले उहाँको निर्देशन अनुरूप उपत्यकाका २० बढी पम्पहरूमा अनुगमन गरेका छौँ । केहीले बेचेको, केहीले नबेचेको पायौँ । भोलि थानकोटको डिपो खुल्ला हुन्छ । त्यहाँ गएर ल्याएर बेच्न भनेर कागज गराएर आएका छौँ ।’

साँझ ५ बजे आन्दोलनरत पक्षसँग वार्ता गर्ने तयारी भइरहेको पनि गोइतले बताउनु भयो । डिलर्स एसोसिएसनका महासचिव अर्यालले पेट्रोलियम पदार्थमा देखिएको समस्या निगमसँग वार्ता गरेर टुङ्ग्याउन निर्देशन दिएको जानकारी दिनुभयो । ‘पेट्रोलियम पदार्थमा देखिएको समस्या निगमसँग वार्ता गरे टुङ्ग्याउन निर्देशन दिनुभएको हो,’ अर्यालले भने, ‘हामीले हाम्रा माग सामान्य छन्, निगमलाई भनिदिनुस्, हामी वार्तामार्फत सहमति गर्न तयार छौँ भन्यौँ ।’

व्यवसायी र डिजेल ढुवानीकर्ताहरूले डिजेलको भाउ बढेपछि भाडा पनि बढाइनु पर्ने, डिजेल पेट्रोल बोक्ने टयांकरको भाडा बढाइनु पर्ने लगायतका माग राखेर पेट्रोलियम पदार्थ बिक्री वितरण नगर्ने चेतावनी दिइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्