मकवानपुरमा एमालेविरुद्ध गठबन्धन एक



हेटौंडा ।

गठबन्धनले केन्द्रीय स्तरमा निर्णय गर्न ढिलाइ गरेपछि वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मकवानपुरमा भने एमालेविरुद्ध सत्ता गठबन्धन एक भएर जाने भएका छन् ।

हेटौंडामा पत्रकार सम्मेलन गरी सत्तारुढ दलहरूले मकवानपुरका १० वटै स्थानीय तहको वडा स्तरसम्म गठबन्धन गरेर जाने निर्णय भएको जानकारी दिइएको हो । नेपाली कांग्रेसको पार्टी कार्यालय हेटौंडामा पत्रकार सम्मेलन गरी गठबन्धनका दलहरूले स्थानीय तहमा एमालेविरुद्ध गठबन्धन गरेर जाने निर्णय भएको उद्घोष गरेका हुन् ।

गठबन्धनका लागि नेपाली कांग्रेस मकवानपुर सभापति बुद्ध लामा संयोजक रहेको समितिसमेत निर्माण गरिएको छ । समितिका सदस्यमा सत्तारुढ दलका मकवानपुर अध्यक्षहरू छन् । ‘जिल्लाका १ सय २ वटै वडा र १० स्थानीय तहमा गठबन्धन हुनेछ । हामी सोहीअनुसार उम्मेदवार खडा गर्नेछौँ,’ कांग्रेस मकवानपुर सभापति लामाले बैठकपश्चात् आयोजित पत्रकार सम्मेलनमा भन्नुभयो ।

सभापति लामाले केन्द्रको निर्देशनअनुसार जिल्ला, स्थानीय तह र वडा तहमै गठबन्धनको संयन्त्र तयार गरिने बताउनुभयो । ‘उम्मेदवारको विषय हाल टुंगो लागेको छैन । प्रारम्भिक छलफल भएको हो । केन्द्रीय निर्देशनअनुसार हामी अगाडि बढ्नेछौं,’ उहाँले थप्नुभयो ।

जिल्लामा गठबन्धनको बैठक बसेर तल्लो तहमा पनि कमिटी बनाउने र वडा तहसम्म परिचालन गर्ने निर्णय गरिएको कांग्रेस सभापति लामाले जानकारी दिनुभयो । उहाँले आवश्यकताअनुसार सदस्य थप गरी निर्वाचनका लागि तयारी अगाडि बढाइने बताउनुभयो । उहाँले गठबन्धनको उद्देश्य संविधानको रक्षा र लोकतान्त्रिक आन्दोलनबाट प्राप्त राजनीतिक उपलब्धि जोगाउनु रहेको स्पष्ट पार्नुभयो ।

बैठकले कांग्रेस सभापति लामाको संयोजकत्वमा ५ सदस्यीय सचिवालय बनाउने निर्णय गरेको छ । जिल्ला सचिवालयमा नेकपा माओवादी केन्द्रका सर्केश घलान, नेकपा (एकीकृत समाजवादी) का श्रीधर पोखरेल, जनता समाजवादी पार्टीका सोनामसिं स्यांतान र राष्ट्रिय जनमोर्चाका निरबहादुर स्यांतान सहभागी रहनेछन् ।

यस्तै सचिवालय स्थानीय तह र वडासम्म निर्माण हुनेछन् । बैठकले स्थानीय तह र वडासम्म गठबन्धनको संयन्त्र निर्माणका लागि आवश्यक बैठक बस्न पार्टीको तल्लो संरचनालाई निर्देशन दिएको छ ।

निर्वाचनलक्षित प्रशिक्षण
नेकपा एमालेले मकवानपुरका भने १० वटै स्थानीय तहमा निर्वाचनलक्षित पार्टी प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर प्रशिक्षण कार्यक्रम गरिएको हो । पार्टी जिल्लास्तरका नेता, प्रदेश र केन्द्रीय कमिटीबाट खटिएका प्रशिक्षकले प्रशिक्षण दिएको एमाले मकवानपुर अध्यक्ष एकलाल श्रेष्ठले बताउनुभयो ।

सबै पालिकामा कम्तीमा २ सय पार्टी कार्यकर्ता प्रशिक्षणमा सहभागी थिए । निर्वाचनमा मतदातालाई मतदान गर्न सिकाउने, पार्टीको जनपरिचालन अभियानबारे कार्यकर्तालाई प्रशिक्षित गर्ने र चुनावी एजेन्डा तय गर्नेलगायत प्रशिक्षणका विषय राखिएको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

‘एमालेलाई खासै धक्का पुग्दैन’
एमालेका वागमती प्रदेश उपसचिव महेश बर्तौलाले एमालेको पक्षमा जनताको साथ र समर्थन अपार रहेको दाबी गर्छन् । आगामी निर्वाचनमा एमालेले वागमती प्रदेशका बहुमत स्थानीय तह जित्ने ठोकुवा गर्दै उहाँ पार्टी विभाजनपछि थोरबहुत नेता/कार्यकर्ताले एमाले छाडे पनि ठूलो संख्यामा अन्य दलका प्रतिनिधि संगठित हुन आउने क्रम जारी रहेको उहाँ बताउनुहुन्छ । यसले गर्दा आगामी निर्वाचनको मत परिणाममा एमालेलाई खासै धक्का नपुग्ने उहाँको कथन छ ।

एमाले वागमती प्रदेशका प्रचार विभाग प्रमुखसमेत रहनुभएका बर्तौलाले स्थानीय तह निर्वाचनमा नेकपा एमाले पहिलो राजनीतिक दल बन्ने प्रयासमा रहेको बताउनुभयो । प्रदेशका १ सय १९ स्थानीय तह र १ हजार १ सय २१ वडामा एमालेका उम्मेदवारलाई विजयी गराउने तयारीमा रहेको भन्दै संगठन परिचालन गरी एमालेप्रति नागरिकलाई आकर्षित गर्ने काम भइरहेको बताउनुभयो ।

‘जसका कारण अघिल्लो चुनावमा एमालेमा मतदान नगरेका जनतामा पनि एमालेलाई मत दिनुपर्छ भन्ने सोच विकास भएको छ । त्यसैले हामी यस निर्वाचनमा असाधारण उपलब्धि प्राप्त गर्छौँ,’ उहाँको विश्वास छ ।

‘हामीले हिजोको दिनमा पनि चुनाव जितेका थियौँ । केही दल एमालेविरुद्ध षड्यन्त्रमा लागिपरेका छन्,’ उहाँले थप्नुभयो–देशको विकास गर्नेभन्दा पनि एमालेलाई हराउन उनीहरू लागिपरेका छन् । उनीहरू एमालेविरुद्ध षड्यन्त्र गर्दै गठबन्धन गर्दै छन् । तर, एमालेमा ठूलो पङ्क्ति जोडिएको छ । यसले गर्दा आगामी वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा हामी विजयी उनेछौँ । नागरिकले ‘सुखी नेपाली, समृद्ध नेपाल’ निर्माणका निम्ति, विकास र समृद्धिका निम्ति काम गर्न अधिक मत साथ एमालेका उम्मेदवारलाई विजयी गराउने छन् ।

यस्तो छ विगत
मकवानपुरका सबै १० स्थानीय तहको नतिजामध्ये ६ स्थानीय तहका प्रमुख र ८ उपप्रमुख जितेर २०७४ मा एमाले जिल्लाको सबभन्दा ठूलो पार्टी बनेको थियो । कांग्रेस र माओवादीले दुई/दुई स्थानीय तहका प्रमुख जितेर दोस्रो शक्तिमा स्थापित भए ।

हेटौंडा उपमहानगरपालिका, थाहा नगरपालिका र भीम फेदी गाउँपालिकामा कांग्रेस–माओवादीबिच तालमेल भएको थियो । एमालेले पहिलो चरणमा चुनाव भएकामध्ये एक मात्र उपमहानगरपालिका हेटौंडामा मेयर र उपमेयर दुवै जितेको थियो । मेयरमा हरिबहादुर महत र उपमेयरमा एमालेकै मीना लामा विजयी हुनुभएको थियो । भीम फेदी गाउँ“पालिकामा एमालेका हिदम लामा अध्यक्ष र एमालेकी जिल्ला नेतृ पार्वती राना उपाध्यक्ष निर्वाचित हुनुभएको थियो ।

मनहरी गाउँ“पालिकामा पनि एमालेकै एकराज उप्रेती अध्यक्ष र मनिला विष्ट उपाध्यक्ष निर्वाचित हुनुभएको थियो । मकवानपुर गढी गाउँ“पालिकामा एमालेका विदुर हुमागाईँ अध्यक्ष र हर्कमाया रुम्बा उपाध्यक्षमा निर्वाचित हुनुभयो । इन्द्रसरोवर गाउँपालिका अध्यक्षमा एमालेका जीवन लामा र उपाध्यक्षमा उमा लामा विजयी हु“दा कैलाश गाउँ“पालिका अध्यक्षमा एमालेका टंक मोक्तान अध्यक्ष र सुकुमाया लामा उपाध्यक्ष निर्वाचित हुनुभएको थियो ।

वागमती गाउँपालिकामा एमालेकी उपाध्यक्षमा धनकुमारी थिङ विजयी हुनुभएको थियो । बकैया गाउँपालिकामा अध्यक्ष कांग्रेसले जित्दा उपाध्यक्ष भने एमालेकी सरला बोलखे विजयी हुनुभएको थियो । वागमती गाउँपालिका उपाध्यक्ष एमालेले जितेको थियो ।

प्रतिक्रिया दिनुहोस्