अध्यक्ष थापाद्वारा गृहनगरमा हारगुहार



हेटौंडा ।

महाधिवेशनमा केन्द्रीय अध्यक्षमा पराजित भएपछि राप्रपा त्यागेर राप्रपा नेपालका अध्यक्ष बन्नुभएका कमल थापा बिहीबार गृहनगर हेटौंडा आएर हारगुहार गर्नुभएको छ । राप्रपा नेपाल मकवानपुरको घोषणासभामा उहाँले पार्टी जोगाउन हारगुहार गर्नुभएको थियो ।

उहाँले निर्मला निवास र राप्रपा नेतृत्वप्रति कटाक्ष गर्नुभयो । अघिल्लो सभाको तुलनामा सीमित कार्यकर्ता रहेको सभामा थापाले राप्रपा मकवानपुरमा रहेकालाई पनि राप्रपा नेपालमा आउन अनुनय गर्नुभयो । उहाँले आफूले कुनै कमजोरी र नैतिकहीन काम नगरेको बताउँदै आफूले उठाएका माग पूरा नगरेपछि पार्टी छाड्न बाध्य भएको सुनाउनुभयो ।

मकवानपुरले हरेक अप्ठ्यारोमा आफूलाई साथ दिएको भन्दै हाल पनि साथ दिन उहाँले आग्रह गर्नुभयो । कार्यकर्तालाई उहाँले राजासँगको भेटदेखि राप्रपा नेपाललाई आफूले पुनर्जागृत गरेको कथा सुनाउन भ्याउनुभयो । ‘राजा, महलमा परिवारसँग बस्ने, देशविदेश घुम्ने, अनि पानीको फोहरा खाएर हामी आन्दोलन गरिरहने,’ उहाँले कार्यकर्तालाई भन्नुभयो– ‘हरसम्भव प्रयास गर्दा पनि युवालाई राजसंस्थाप्रति आकर्षण गर्न सकिएन, अनि छाड्नुपर्यो ।

घोषणासभामा राप्रपा मकवानपुरलाई राप्रपा नेपालमा समाहित गर्नुभएका अध्यक्ष गुरूप्रसाद सापकोटालाई राप्रपा नेपाल अध्यक्ष अर्जुन ढुंगानाले अध्यक्षको जिम्मेवारी हस्तान्तरण गर्नुभएको थियो ।

थापाको गृहजिल्ला मकवानपुरमा राप्रपाले अघिल्लो स्थानीय तह निर्वाचनमा हेटौंडा–६ मा १ महिला सदस्यमात्र जितेको थियो । हाल झन् मकवानपुरमा राप्रपा दुई टुक्रा भएपछि नतिजा राम्रो आउनेमा सबैले आश मारेका छन् । अघिल्लो संसदीय निर्वाचनमा नेपाली कांग्रेससँग तालमेल गरेर निर्वाचनमा होमिए पनि थापालाई मतदाताले मनपराएको देखिएन । उहाँ संसदीय निर्वाचनमा पराजित भएपछि मकवानपुरका जनतामाझ कम पुग्नुभएकाले उक्त पार्टीप्रतिको आकर्षण कम रहेको आँकलन गरिएको छ । यसपटक उहाँ नेकपा एमालेसँगको तालमेलका लागि एमाले अध्यक्ष केपी ओली भेट्ने दौडधुपमा हुनुहुन्छ । तर, थापाको विगतको सत्ताकेन्द्रित राजनीति र जनता/कार्यकर्तालाई बेवास्ता गर्ने प्रवृत्तिप्रति चुनावले देखाउँदै आएको छ ।

राप्रपाका सबै जिल्ला कार्यसमिति राप्रपा नेपालमा समाहित भएको बताइए पनि राप्रपा मकवानपुरले अध्यक्षमा शिव थापालाई चयन गर्दै आफ्नो काम थालिसकेको छ । थापालाई काउन्टर दिन मकवानपुरमा चैत २७ गते राप्रपा केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देन आउने हुनुभएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी मकवानपुर अध्यक्ष सापकोटालगायत नेता/कार्यकर्ताले थापाको नेतृत्व रहेको राप्रपा नेपाललाई साथ दिने निर्णय गरेका छन् । मंगलबार राप्रपा मकवानपुर अध्यक्ष सापकोटाद्वारा जारी वक्तव्यमा पार्टीभित्र पछिल्लो समय सैद्धान्तिक विचलन आएको, पार्टीमा बढ्दै गएको पूर्वाग्रही सोच, चिन्तन र संकीर्णताबाट पार्टी अगाडि बढ्न नसक्ने जिकिर गरिएको छ । वक्तव्यमा नेपालको राष्ट्रिय राजनीतिमा फरक विचार, दृष्टिकोण, सिद्धान्त र दर्शन थापाले प्रतिपादन गरेको दाबी गरिएको छ । मकवानपुरको समग्र आर्थिक विकास र समृद्धिमा थापाको महत्वपूर्ण योगदान रहेकाले उहाँसँग जोडिने विज्ञप्तिमा भनिएको छ । विज्ञप्तिमा थापालाई ‘राजनीतिक अभिभावक’ भन्दै राप्रपा नेपालमा समाहित हुने प्रतिवद्धता व्यक्त गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्