प्रहरी महानिरीक्षक थापाद्वारा अतिरिक्त महानिरीक्षकलाई दर्ज्यानी चिन्ह सुशोभन


न्युज अफ नेपाल, काठमाडौं ।

प्रहरी महानिरीक्षक आईजिपी शैलेश थापा क्षेत्रीले हालै पदोन्नति भएका ३ जना प्रहरी अतिरिक्त महानिरीक्षकहरूलाई प्रहरी प्रधान कार्यालयमा बिहीबार आयोजित एक समारोहबीच दर्ज्यानी चिन्हद्वारा सुशोभन गरेका छन् ।

नेपाल सरकार गृह मन्त्रालय मन्त्रीस्तरको २०७८ चैत १७ गतेको निर्णयले चैत ८ गतेबाट लागू हुने गरी प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नति भएका बसन्तकुमार पन्त, धिरज प्रताप सिंह र रबिन्द्र बहादुर धानुकलाई प्रहरी महानिरीक्षक थापा क्षेत्रीले दर्ज्यानी चिन्हद्वारा सुशोभन गरेका हुन् ।

समारोहमा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले पदोन्नति भएका प्रहरी अतिरिक्त महानिरीक्षकहरूलाई बधाई दिँदै पदोन्नतिपछि प्राप्त नयाँ जिम्मेवारी र उत्तरदायित्व वहन गर्नको निम्ति सफल हुने विश्वास समेत व्यक्त गरे । पदोन्नति भएका प्रहरी अतिरिक्त महानिरीक्षकहरूले आगामी दिनमा देखाउने कर्तव्यपरायणता र ईमान्दारीताले पदोन्नतिलाई सिद्ध गर्ने उनले चर्चा गरे ।

प्रहरी महानिरीक्षक थापा क्षेत्रीले संगठनको थप सुदृढीकरण र विकासका लागि आगामी दिनमा नीति निर्माण एवम् संगठनले अख्तियार गर्नु पर्ने अग्रगामी मार्ग प्रशस्त गर्न, अख्तियारीमा रहेका काम र कार्यविधिहरूलाई थप अध्यावधिक गर्ने लगायतका बिषयमा पदोन्नति भएका प्रहरी अतिरिक्त महानिरीक्षकहरूले संगठनलाई योगदान पुर्‍याउनेमा विश्वास समेत व्यक्त गरे ।

कार्यक्रममा पदोन्नति भएका अधिकृतहरूको तर्फबाट मन्तव्य व्यक्त गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक बसन्तकुमार पन्तले संगठन र संगठनमा आवद्ध सदस्यहरूको लागि हक हित र श्रीवृद्धिका लगि सदैव प्रतिवद्ध रहेन उल्लेख गरे । कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।