निजी विद्यालयप्रति सरकार सकारात्मक : प्याब्सन अध्यक्ष ढुंगाना


न्युज अफ नेपाल, काठमाडौं ।

 निजी तथा आवासीय विद्यालय अर्गनाईजेशन नेपाल प्याब्सनले सरकारसँग हातेमालो गरेर अघि बढ्न तयार रहेको जनाएको छ । प्याब्सनको यही चैत ९ र १० गते राजधानीमा सम्पन्न १५ औ महाअधिवेशनपछि बनेको कार्यसमितिको बारेमा जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा प्याब्सनका अध्यक्ष डिके ढुंगानाले सरकारले निजी विद्यालयलाई हेर्ने दृष्टिकोणमा सकारात्मक हुँदै गएको बताउनुभयो ।

उहाँले भन्नुभयो–हाम्रा कतिपय विषयमा सरकार सकारात्मक हुँदै गएको छ । त्यसको कारण निजी व्द्यिालयको योगदानलाई सरकारले सम्मान गर्न थालेको हो ।  प्याब्सनले राज्यले ऐन कानन मार्फत लगानी सुनिश्चितताको प्रत्याभूति दिनुपर्ने, कोभिड–१९ लगायत प्राकृतिक प्रकोपको कारण क्षति भएका विद्यालयलाई वित्तीय सहायता उपलब्ध गराउनुपर्ने,  सरकारी विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई मात्र दिँदै आएको ४५ प्रतिशत छात्रवृत्ति निजी विद्यालयबाट अध्ययन गरेको विद्यार्थीलाई पनि उपलब्ध गराउनुपर्ने लगायतको शैक्षिक उन्नयनको विषय उठान गरिएको छ ।

 त्यस्तै मन्त्रालयले तय गर्ने राष्ट्रिय र अन्तर्राष्ट्रिय भ्रमण , गोष्ठी, सेमिनार र पाठ्यक्रम निर्माण जस्ता महत्त्वपूर्ण कार्यमा प्याब्सनको अनिवार्य रूपमा सहभागी गराउनुपर्ने, निजी तथा सहकारी अन्तर्गत सञ्चालन भएका विद्यालयलाई सार्वजनिक गुठी वा सामुदायिक विद्यालय सरह सम्पूर्ण सुविधा र कर छुटको व्यवस्था गर्नुपर्ने, निजी विद्यालयलाई प्राविधिक तथा व्यावसायिक विषयको कक्षा सञ्चालन गर्न अनुमति दिनुपर्ने लगायतका विषय उठान गरिएको छ ।

अध्यक्ष ढुंगानाले भन्नुभयो–तीन वर्षको कार्यकालमा शिक्षामा शैक्षिक क्षेत्रमा गुणात्मक सुधार, शिक्षामा सिप , विद्यार्थीमा संस्कार र समय अनुसारको प्रविधिमा जोड दिइने बताउनुभयो । प्याब्सनको मुख्य एजेन्डा अब कक्षाकोठा सुधार गर्नु हो, वैकल्पिक माध्यमबाट पठन पाटनलाई अझै व्यवस्थित गर्नु हो–अध्यक्ष ढुंगानाको भनाई थियो । प्याब्सनले शिक्षामा सुधार गर्न सरकारले विद्यालयमा प्रयोग हुने सवारी साधन, प्रयोगशाला सामाग्री , पुस्तक लगायतका सामाग्री लगाइएको भन्सार शुल्क एवं कर छुटको व्यवस्था गर्नुपर्ने, निजी लगानीबाट सञ्चालित विद्यालयलाई राष्ट्रिय परीक्षा, राष्ट्रिय पाठ्यक्रम र अनुगमन बाहेक विद्यालय सञ्चालन गर्न पूर्ण स्वायत्तता प्रदान गर्नुपर्ने, विद्यालयलाई स्थायी स्वीकृति दिनुपर्ने, विदेशी विद्यार्थीलाई नेपालमा अध्ययन गर्ने व्यवस्थाका लागि नीति बनाउनुपर्ने लगायत विषयमा सुधारको खायौ ल्याइएको छ ।

 प्याब्सनले कोभिडको कारण बन्द भएको विद्यालयलाई खुलाउन पहल गर्ने र दुई वा सो भन्दा बढी विद्यालय मर्ज गरी ठुलो विद्यालय निर्माण गर्ने विषयमा समेत प्रतिबद्धता जनाएको छ ।  पत्रकार भेटघाट कार्यक्रममा प्याब्सन महासचिन आरबी कटुवालले नयाँ कार्यसमितिले समग्र शैक्षिक, प्राज्ञिक र शिक्षकको तलब सुविधा लगायत हक हितको लागि नयाँ योजना सहित अघि बढ्ने बताउनुभयो ।