पनौती हाँक्न अघि बढे भण्डारी, चुनावी एजेण्डाबारे टोल–टोलमा छलफल गर्दै


काभ्रे ।

वैशाख ३० स्थानीय निर्वाचनमा जिल्लाको ऐतिहासिक नगरको रूपमा परिचित पनौती नगरपालिका हाँक्न रामशरण भण्डारी अघि बढेका छन् । काँग्रेस पनौती नगरका सर्वसम्मत सभापति भण्डारी लामो समय देखि राजनीति र सामाजिक क्षेत्रमा क्रियाशील नाम हो ।

जिल्लाको दुवै निर्वाचन क्षेत्रमा प्रभाव पार्ने पनौती नगर नेतृत्व गर्न काँग्रेस बाट प्रमुख दाबेदारका रूपमा अघि बढेका भण्डारीले व्यवस्थित बसपार्क निर्माण, सबै घरधुरीमा खानेपानी सुविधा, फोहोर व्यवस्थापनका साथै स्वास्थ्य, शिक्षा, रोजगारी अन्य पूर्वाधार निर्माणलाई प्रमुख चुनावी एजेन्डाको रूपमा अघि सार्नु भएको छ । उमेद्वारको चयन र घोषणा भैनसकेकोले नगर सभापतिको तर्फबाट ३० गते हुने स्थानीय निर्वाचनमा रुख चिन्हमा मतदान गरौँ भन्दै सांकेतिक रूपमा भोट माग्न थालिसक्नु भएको छ ।

२०४२ सालमा तत्कालीन पञ्चायतको सभापति भए देखि हाल सम्म निरन्तर राजनीतिमा सक्रिय भण्डारी पार्टीमा कुनै पनि लाभको पदमा नबसेका व्यक्ति हुन । १४औँ महाधिवेशनमा अन्य पालिकामा नेतृत्वमा पुग्न व्यापक प्रतिस्पर्धा भइरहेको बेला पनौती नगरमा भने भण्डारी सर्वसम्मत सभापतिमा निर्वाचित हुनु भएको थियो । आफू लामो समय देखि निरन्तर काँग्रेस राजनीतिमा सक्रिय रहेको र पार्टीको तर्फबाट कुनै पनि लाभको पदमा नगएको भन्दै भण्डारी भन्नुहुन्छ– पनौती नगरको समग्र विकासको लागि नेतृत्व गर्न प्रमुखमा आकाङ्क्षा राखेको छु ।

शिक्षा, स्वास्थ्य, खानेपानी, भौतिक पूर्वाधार, व्यवसायीक कृषि, फोहोर व्यवस्थापन, युवा युवतीहरूको बढ्दो विदेश पलाएन रोक्ने, त्रिवेणी घाटको व्यवस्थापन, व्यवस्थित बसोबास लगायतका विषयमा अहिले टोल टोलमा गएर अन्तरक्रिया गरिरहनु भएका भण्डारीले पनौती नगर काभ्रे काँग्रेसको लागि प्रतिनिधि र प्रदेश दुवै निर्वाचन क्षेत्र प्रभाव पार्ने नगरको रूपमा पनि हेर्नुपर्ने बताउनु हुन्छ । पनौती िनगरको ७ वडा प्रतिनिधिसभा एकमा पर्छ भने ५ वडा प्रतिनिधिसभा दुईमा पर्छ ।

राष्ट्रिय राजनीतिमा समेत चर्चित रहेका नेकपा एमालेका गोकुल बास्कोटा, नेपाली काँग्रेसका पूर्व केन्द्रीय सदस्य शिवप्रसाद हुमागाईं,  वर्तमान केन्द्रीय सदस्य मधुप्रसाद आचार्य, गणेश लामा, काँग्रेस जिल्ला सभापति तीर्थ लामा, प्रतिनिधिसभाका सभापति दिनेश लामा, महेश खरेल मात्र हैन निर्वाचन क्षेत्र नं एक र दुईको प्रदेशसभाका नेताहरूको समेत चासोको विषय रहेको पनौतीमा प्रमुख प्रतिस्पर्धि दल नेकपा एमालेले प्रमुखमा भिम न्यौपानेलाई नै दोहो¥याउने सम्भावना रहेको बताइदै आएको छ ।

नगरपालिकाको प्रमुख र उपप्रमुखको लागि उम्मेदवार घोषणा प्रदेश संसदीय समितिले गर्छ । प्रदेश संसदीय समितिको नेतृत्वमा प्रदेश समितिका सभापति ईन्द्र विणया रहने छन् । हिजो सम्पन्न काँग्रेस केन्द्रीय समिति बैठकले सत्ताघटक दल बिच स्थानीय आवश्यकता र औचित्य अनुसार चुनावमा तालमेल गर्न सक्ने नीतिगत निर्णय भए पनि पनौतीमा काँग्रेसले अयन दल सँग तालमेल गर्ने सम्भावना कम छ । तालमेल भैहाले पनि प्रमुखका नेपाली काँग्रेसकै उम्मेदवार हुने प्राय निश्चित छ ।

वैशाख ३० को स्थानीय निर्वाचनका लागि ३८ हजार भन्दा बढी मतदाता रहेको पनौतीमा अघिल्लो निर्वाचन एमालेले जितेको थियो । काँग्रेसले यो पटक क्रियाशील सदस्यता समेत दोब्बर बनाएर २ हजार ६ सय पु-याउनुका साथै तीन महिना अघि देखि चुनाव केनिद्रत संगठन निर्माण र परिचालनमा सक्रिय रहेको छ ।

अहिले घरघर जाऔँ काँग्रेस जिताऔँ एक महिने अभियानको क्रममा टोल टोल पुगेको पनौती काँग्रेसले प्रत्येक वडामा कम्तीमा पनि चार वटा टोल समिति गठन गरेर चुनाव प्रचारप्रसारमा लागेको छ । गत निर्वाचनमा एमाले र माओवादी गठबन्धन गर्दा पनि प्रदेश र प्रतिनिधिसभामा न्यून मत अन्तरले पराजित भएका केन्द्रीय सदस्य गणेश लामा र जिल्ला सभापति तीर्थ लामालाई पनि पनौती नगर काँग्रेसलाई जिताउनु पर्ने चुनौती छ ।