बनेपाका मेयर उपमेयर अभिनन्दित ९९ प्रतिशत विकास निर्माण 

0
Shares

 काभ्रे  ।

‘बनेपा नगरपालिका वडा नम्बर ९ स्थित माथिल्लो नयाँ बस्तीमा आधारभूत आवश्यकताका ९९ प्रतिशत विकास सम्पन्न भएको छ’–यामिडोल टोल सुधार समितिका अध्यक्ष ऋषिराम गौतमले भन्नुभयो–‘निर्वाचन अघि व्यक्त प्रतिबद्धता अनुसार टोल विकासका लागि नगरपालिकाले बजेट विनियोजन गरी आधारभूत आवश्यकताको ९९ प्रतिशत कार्य सम्पन्न गरेकोमा नगरपालिकाका प्रमुख लक्ष्मीनरसिंह बादे र उपप्रमुख रेखा सापकोटा दाहाललाई अभिनन्दन गर्नेछौं ।’

यामिडोल टोल सुधार समिति अन्तर्गत २ सय ५० घर धुरी छन् । जसमा खानेपानी, ढल व्यवस्थापन, पक्की सडक अन्तर्गत कालोपत्रे र ढलान, ढुङ्गा सोलिङ्ग, ग्राभेलिङ्ग लगायतका कार्य सम्पन्न भएको अध्यक्ष ऋषिराम गौतमले बताउनु भयो । बनेपा नगरपालिकाले नियमित फोहोर संकलनका लागि व्यवस्थापन गरेको टिपरका कारण सरसफाइमा समेत सहजता भएको उपभोक्ता समितिका अध्यक्ष नरहरि चौलागाईले बताउनु भयो ।

पाँच वर्षको अवधिमा मुख्य सडक बाहेक टोल विकासका लागि नगरपालिकाले १ करोड ५० लाख भन्दा धेरै रकम खर्च गरेको छ भने स्थानीय सहभागिता पनि अन्य टोलमा भन्दा धेरै रहेको  छ । नगर प्रमुख लक्ष्मीनरसिंह बादे र उपप्रमुख रेखा सापकोटा दाहाललाई टोलवासीहरूले पाँच पाँच किलोको माला सहित अभिनन्दन गरेका हुन् ।

‘जनप्रतिनिधि मात्रै हैन, स्थानीयहरूको सक्रिय सहभागिताले विकास सम्भव भएको हो’–नगर प्रमुख लक्ष्मीनरसिंह बादेले भन्नुभयो–‘जनताले विश्वास गर्नु भयो हामीले विकास निर्माणमा सहयोग ग-यौं ।’ ‘पूर्वाधार विकासले फड्को मारेको छ, महिला, बालबालिका तथा जेष्ठ नागरिकहरुको हितमा काम भएको छ, विकासका पूर्वाधारहरूको जग बसेको छ’–नगर उपप्रमुख रेखा सापकोटा दाहालले भन्नुभयो–‘नगरबासीहरुसँग गरिएका सबै प्रतिबद्धता पुरा भएका छन् ।

’ टोल विकासका लागि नगरपालिकाले सहयोग पु-याए पनि वडाले राजनीतिक आस्थाका आधारमा बाइपास गरेको स्थानीय नरहरि चौलागाईले बताउनु भयो । एमाले बागमती प्रदेश सदस्य कुमार तिमल्सिनाले टोल विकासका लागि पार्टी कमिटी र नगरपालिकाले पु-याएको योगदानको चर्चा गर्नु भयो ।जसको नीति हुन्छ उसकै नेतृत्व सबल हुन्छ’–तिमल्सिनाले भन्नुभयो–‘आउने स्थानीय तहको निर्वाचनमा एमालेका प्रतिनिधिहरूलाई विजयी गराउनुस् । ९९ प्रतिशत विकासको कार्यलाई थप गति दिनु जरुरी छ ।

 

नेकपा एमाले ९ नम्बर वडा कमिटी अध्यक्ष विक्रम प्रजापतिले वडाका सबै टोलहरूलाई समृद्ध बनाउने बताउनु भयो । बनेपा नगर कमिटी अध्यक्ष रत्नकुश रञ्जितले पाँच वर्ष अघिको विकास र अहिले धेरै फरक भएको बताउनु भयो ।

कार्यक्रममा एमाले जिल्ला कमिटी सदस्यहरू, नगर कमिटीका पदाधिकारीहरू, टोल कमिटीका सदस्यहरू, वडा सचिव उद्धव तिमल्सिना, टोल सुधार समितिका अध्यक्ष ऋषिराम गौतम लगायतले मन्तव्य राख्नु भएको थियो ।

टोल कमिटीमा गोविन्द

नेकपा एमाले बनेपा नगरपालिका वडा नम्बर ९ को माथिल्लो नयाँ बस्तीमा गोविन्द परियारको अध्यक्षतामा ११ सदस्यीय कमिटी गठन गरेको छ । कमिटीमा उपाध्यक्ष किरण मैनाली, सचिव सुलोचना तिमल्सिना, सदस्यहरू नवराज गौतम, पार्वती मैनाली लगायत रहेका छन् । त्यस्तै उत्पीडित जातीय मुक्ति समाज वडा कमिटी गठन भएको छ ।