२३ वटा गुँला बाजा समूहलाई २ लाख रुपैयाँ अनुदान  

अमूर्त सम्पदा बचाउन समुदायको भूमिका ठुलो छ : मेयर शाक्य 


काठमाडौं ।

काठमाडौँ महानगरपालिकाले २३ वटा गुँला बाज खलः पुचहरुलाई आर्थिक सहयोग उपलब्ध गराएको छ । आज वडा १५ को डल्लु आवास क्षेत्रमा रहेको कसाः ख्य मा आयोजना गरिएको कार्यक्रममा महानगरका प्रमुख विद्यासुन्दर शाक्यले हरेक समूहलाई २ लाख रुपैयाँका दरले सहयोग रकम प्रदान गर्नुभएको हो । गुँला  पर्वमा बजाइने बाजा संरक्षण गरेर सांस्कृतिक चालचलनलाई निरन्तरता दिन सहयोग रकम प्रदान गरिएको हो ।

अनुदान रकम बितरण गर्दै प्रमुख शाक्यले भन्नुभयो, अमूर्त सम्पदा बचाउन समुदायले खेलेको भूमिका महत्वपूर्ण रहेको उल्लेख गनुृभयो । ‘सांस्कृतिक गतिविधिमा बजाइने परम्परागत बाजा जोगाउन  र यी बाजा बजाउन समुदायले समय र रकम खर्च गर्नुभएको छ । यस प्रकारको धैर्यतालाई प्रोत्साहन गर्न हामीले कम्तीमा केही त होस् भनेर अनुदान रकम दिएका हौं ।’ उहाँले भन्नुभयो, ‘हामीले दिएको सहयोगबाट सबै खर्च नपुगे पनि नियमित खर्च व्यवस्थापन गर्न सहयोग पुग्नेछ । बाजा खरिद हुनेछन् । प्रशिक्षणका कार्यक्रम चल्नेछन्, भन्ने विश्वाश लिएको छु ।

 

त्यस क्रममा वडाध्यक्ष एवं महानगरका प्रवक्ता ईश्वरमान डंगोलले सम्पदा पुननिर्माणका कोणबाट अहिलेको कार्यकाल स्वर्णिम समय भएको उल्लेख गर्दै उहाँले मेयर विद्यासुन्दर शाक्य नेतृत्वको जनप्रतिनिधिले धेरै सांस्कृतिक सम्पदा पुननिर्माण र संरक्षण भएको बताउनुभयो । महानगरले सम्पदा संरक्षण, व्यवस्थापन र प्रवर्धनका लागि समुदायसँग मिलेर काम गरिरहेको छ । कार्यक्रममा सम्पदा तथा पर्यटन विभागका प्रमुख अर्चना शाक्यको भनाइ थियो ।

कार्यक्रममा गुँला बाजं व्यवस्थापन तथा संरक्षण संघका अध्यक्ष अमिरमान शाक्यले, बुद्धभूमि लुम्बिनीबाट काठमाडौँ आएका शाक्यहरुसँगै आएको गुँला बाजा संरक्षण र प्रवर्धनमा महानगरको सहयोगबाट समुदायमा प्रोत्साहित भएको बताउनुभयो ।

अनुदान प्राप्त गर्ने बाजा खल

१) कसाः तःधं गुथि, जनबहाल २) चस्वाँद्व मानन्धर सनागु खल, चस्वाँद ३)असं बाज गुथि, असन ४) स्वयम्भू गंला बाजँ खलः स्वयम्भू ५) केशचन्द्र गुंला बाजं खलः, इतुंमबहाल ६) तेबहाः गुंला बाजं खलः, तेबहाल ७) ओम बहाः गुंला बाजं खलः, ओमबहाल ८) थँहिति मानन्धर गुथि, थँहिति ९) न्यागमणि फेदी धाः बाजं खलः, बालाजु १०) रत्नमण्डल महाबिहार सवं संघ, नघः ११) पाक्व पख्द्यां मानन्धर सना खलः, पाको १२) लाय्कुसाः मानन्धर समाज, लाय्कुसा १३) कीर्ति पुण्य महाबिहार, क्वहिति १४) ङत गुंला बाजं खलः, नरदेवी १५) मानन्धर सनागु खलः न्हूसाः, न्हूसाः १६) कीर्तिपुण्य महाबिहार, लगन १७) ताम्राकार गुंला बाजं खल, मरु १८) धर्मचक्र महाबिहार बाजं खलः, वँतु १९) त्यंघः कुमाः बाजं खलः, त्यघंः २०) भिंद्य गुथि, कालिमाटी २१) दैसाः त्वाः मानन्धर समाज, दैसा २२) चारुमती गुंला बाजं खल, चावहिल र २३) जय बागेश्वरी धा बाजं खल, जयबागेश्वरी

यी बाजा समूहमध्ये चारुमती र जयबागेवरी धा बाजं खल गुँला पर्वका अवसरमा बाजा बजाउँदै पशुपतिको यात्रा गर्छन् भने अन्य २१ वटा समूहले स्वयम्भूको यात्रा गर्छन् ।  सम्पदा तथा पर्यटन विभागकी उपनिर्देशक सृजु प्रधानकाअनुसार न्हूः द (नेपाल संवत्) को नवौँ महिना अवधिभर गुँला बाजा बनाउने चलन छ ।