सवारी दुर्घटनामा ९ जनाको मृत्यु


न्युज अफ नेपाल, काठमाडौं ।

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ९ जनाको मृत्यु भएको छ । कैलाली, गुल्मी, तनहुँ, बागलुङ, काभ्रेपलाञ्चोक, बारा, सर्लाही, मकवानपुर र कास्कीमा भएको सवारी दुर्घटनामा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ ।

कैलालीको धनगढी उपमहानगरपालिका–३ चटकपुरमा सु.प.प्र.०१००१ ह ४९८५ नम्बरको अटोको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ । पैदलयात्रीको पहिचान खुल्न सकेको छैन ।

गुल्मीको मुसिकोट नगरपालिका–७ भुजेलबगरमा रा.१ त ४५५८ नम्बरको ट्रयाक्टरबाट खसेर सोही ठाउँ बस्ने २६ वर्षीय नारायण नगरकोटीको मंगलबार मृत्यु भएको छ ।

तनहुँको शुक्लागण्डकी नगरपालिका–१० मीनाम खानीमा ग.२ च ८२०१ नम्बरको बोलेरो गाडी मंगलबार दुर्घटना हुँदा गाडीमा सवार बन्दिपुर गाउँपालिका–४ बस्ने २५ वर्षीय सुरेश बहादुर घर्तीको घटनास्थलमै मृत्यु भएको छ ।

बागलुङको निसीखोला गाउँपालिका–२ खाडुमा लु.१ च ९४८० नम्बरको जिप मंगलबार राति दुर्घटना हुँदा चालक ढोरपाटन नगरपालिका–१ बस्ने ४७ वर्षीय ऋतु वर्ण पौडेलको घटनास्थलमै मृत्यु भएको छ ।

काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–२ नयाँगाउँमा बा.५ ख ९६५१ नम्बरको मिनि टिपर मंगलबार राति दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनमा सोही ठाउँ बस्ने २५ वर्षीय युबराज दाहाल छन् ।बाराको जितपुरसिमरा उपमहानगरपालिका–२२ मा ना.६४ प ९१६७ नम्बरको मोटरसाइकल मंगलबार राती दुर्घटना हुँदा चालक पर्सा वीरगंज महानगरपालिका–२३ बस्ने २२ वर्षीय राजन कुमार पटेलको मृत्यु भएको छ ।

सर्लाहीको गोडैता नगरपालिका–५ रामवन टोलमा ज.२ त ६७०९ नम्बरको ट्रयाक्टरले किच्दा सोही ठाउँ बस्ने ३ वर्षीय एसान मन्सुरको मंगलबार राति घटनास्थलमै मृत्यु भएको छ । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–६ मा ना.४ त ६९१० नम्बरको ट्रयाक्टरबाट खसेर सोही उपमहानगरपालिका–८ कमाने बस्ने २३ वर्षीय राजेश मोक्तानको मंगलबार राति मृत्यु भएको छ ।

कास्कीको पोखरा महानगरपालिका–८ सभागृह चोकमा ना.६ ख ४७२५ नम्बरको ट्रकले ग.१४ प ६५९८ नम्बरको स्कुटरलाई बुधबार बिहान ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही महानगरपालिका–१८ बस्ने १८ वर्षीया अन्जना पाइजा रहेकी छन् ।दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।