देशभरका स्थानीय तहको अग्रपंक्तिमा धुलिखेल

जिल्लामा तेमाल कमजोर, बनेपा दोस्रो



काभ्रे ।

देशभर रहेका ६ सय ९८ स्थानीय तहमध्ये धुलिखेल पहिलो भएको छ । स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकनको समीक्षात्मक तथ्याङ्क सार्वजनिक गर्दै नेपाल सरकार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले धुलिखेल नगरपालिका अग्रपंक्तिमा घोषणा गरेको हो ।

धुलिखेलले स्वमूल्यांकनमा ८५ दशमलव २५ प्रतिशत नम्वर प्राप्त गरेको छ । नेपाल सरकार, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २०७८ चैत ११ गते विज्ञप्ति जारी गर्दै स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनको हालसम्मको अवस्थाको समीक्षात्मक तथ्यांक सार्वजनिक गरेको हो । जसअनुसार आर्थिक वर्ष २०७७/०७८ को समग्र अवस्थाको बारेमा स्वमूल्याङ्कन गरी ६ सय ९८ वटा स्थानीय तहको नतिजा सार्वजनिक भएको छ । काभ्रेपलाञ्चोक जिल्लाका सबै स्थानीय तहले स्वमूल्याङ्कन गरी नतिजा सार्वजनिक गरेका छन् । काभ्रेपलाञ्चोक जिल्लाका स्थानीय तहमध्ये धुलिखेल शीर्ष स्थानमा रहेको हो । बनेपा नगरपालिका ८३ दशमलव ५ अंकसहित दोस्रो र पाँचखाल नगरपालिका ७८ दशमलव ७५ अंकसहित तेस्रो स्थानमा छ । तेमाल गाउँपालिका ४१ दशमलव ५ ल्याएर जिल्लाकै कमजोर पालिकाका रूपमा देखिएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पूर्वसूचनाअनुसार स्वमूल्याङ्कन नतिजा अनलाइन प्रणालीमा प्रविष्टि गर्ने कार्य २०७८ चैत १० गतेबाट बन्द गरी हालसम्म नतिजा सार्वजनिक गर्ने स्थानीय तहको गुणस्तर परीक्षणका लागि प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रमको समन्वयमा प्रदेश सुशासन केन्द्रमार्फत सहजकर्ता परिचालन गर्ने कार्य शुरु गरेको जनाएको छ । संघीय शासन प्रणालीको अवलम्बनसँगै सेवा प्रवाह तथा स्थानीय विकास निर्माणका कामहरु नागरिकको सबैभन्दा नजिकको सरकार स्थानीय तहको जिम्मेवारीमा रहेका छन् । स्थानीय तह स्थापनाको करिब पाँच वर्ष व्यतित भइसकेको छ ।

स्थानीय तहको कार्य प्रक्रिया र उपलब्धिका बारेमा लेखाजोखा गरी सबल र दुर्बल पक्षहरुको पहिचान गर्न, विकास तथा सुशासनमा रहेका कमी–कमजोरीको जानकारी लिन, आवधिक समीक्षाका लागि आधार प्राप्त गर्न र गाउँपालिका तथा नगरपालिकाका बीचमा तुलनायोग्य सूचकहरु तर्जुमा गरी प्रतिस्पर्धात्मक सुधार ल्याउन कार्यका आधारमा अंक दिइएको हो । स्थानीय तहलाई सक्षम र प्रभावकारी बनाउन निर्वाचित जनप्रतिनिधिको नेतृत्वमा स्थानीय तह सञ्चालनमा आएपछि भएका असल अभ्यासहरुलाई संस्थागत गरी प्रवद्र्धन गर्न र कमजोरीहरुबाट पाठ सिकेर आगामी दिनमा नागरिक केन्द्रित सरकारको अवधारणामा सहयोग गर्ने गरी मन्त्रालयबाट २०७७ मंसिर ३ मा स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन कार्यविधि–२०७७ स्वीकृत भई कार्यान्वयनमा ल्याएको थियो ।

कार्यविधिमा स्थानीय तहको संस्थागत प्रबन्ध संगठन तथा प्रशासन, वार्षिक बजेट तथा योजना व्यवस्थापन, वित्तीय एवं आर्थिक व्यवस्थापन, सार्वजनिक सेवा प्रवाह, न्यायिक कार्यसम्पादन, भौतिक पूर्वाधार, सामाजिक समावेशीकरण, वातावरण संरक्षण तथा विपद् व्यवस्थापन र सहकार्य र समन्वय गरी १० वटा विषय क्षेत्रमा १ सयवटा सूचक राखी सबै स्थानीय तहको वार्षिकरूपमा मूल्याङ्कन गर्ने व्यवस्था कार्यविधिमा रहेको छ । सबै विषय क्षेत्रका सूचकलाई समग्र स्थिति, प्रक्रियागत स्थिति र परिमाणात्मक स्थिति गरी तीन अवस्थामा वर्गीकरण गरी प्रत्येक सूचकका लागि एक अंकभार राखी कुल १ सय अंकमा मूल्याङ्कन हुने व्यवस्था कार्यविधिमा रहेको छ ।

स्वमूल्यांकनलाई सहयोग हुने गरी कार्यविधिबमोजिम प्रतिवेदन गर्ने तथा सार्वजनिकीकरण गर्न मिल्ने गरी विद्युतीय पोर्टलको व्यवस्था उक्त मन्त्रालयबाट मिलाइएको छ ।

प्रतिक्रिया दिनुहोस्