स्मार्ट भिलेज घले गाउँलाई ‘सुखी गाउँ’ घोषणा गरिने


खुशीमाया गुरुङ, लमजुङ ।

लमजुङको क्व्होलासोंथर गाउँपालिका–३ स्थित स्मार्ट भिलेज घले गाउँलाई ‘सुखी गाउँ’ घोषणा गरिने भएको छ । घले गाउँ पर्यटन व्यवस्थापन समितिले मंगलबार बेसशिहरमा पत्रकार सम्मेलन गरी घले गाउँलाई सुखी गाउँ घोषणा गरिने जानकारी गराएको हो । स्मार्ट भिलेजको रूपमा परिचित घले गाउँलाई आउँदो वैशाख २ गते पूर्व प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलिको प्रमुख आतिथ्यमा सुखी गाउँ घोषणा गर्न लागिएको हो ।

समुद्र सतहबाट दुई हजार १ सय मिटर उचाइमा रहेको घलेगाँउका बासिन्दहरुले आफ्नो गाउँ आफै बनाऊ भन्ने सोचले थलनि गरिएको गाउँमा पाँच दशक पुराना टिनका छाना फेरेर राता रङ्गिन जस्ताले गाउँलाई सजाइएको छ । दुई दशकको आन्तरिक पर्यटन विकासले घले गाउँलाई दक्षिण एसियामै नमुना ग्रामीण पर्यटकीय गाउँको रूपमा प्रख्यात बनाएको छ ।

गाउँ पर्यटन प्रवर्धन मञ्च भिटोफ, गण्डकी प्रदेशलगायतका निकायले उत्कृष्ट होम स्टेको श्रेणीमा राखेको घले गाउँ दुई पटक दक्षिण एसियाकै नमुना गाउँ घोषित भइसकेको छ ।२०५६ देखि स्थानीयले पर्यटन प्रवर्धनका कार्यक्रम सुरुवात गर्नु भएको हो । २०५७ मा १२ घरबाट होमस्टे सञ्चालन भएको घले गाउँमा हाल ४२ घरमा होमस्टे सञ्चालन भएको छ । घले गाउँमा दैनिक ३ सयभन्दा बढी पाहुनालाई सेवा दिन सक्ने क्षमता रहेको घले गाउँ पर्यटन व्यवस्थापन समितिका अध्यक्ष प्रेम घलेले बताउनु भयो । न्यानो आतिथ्यताका साथै स्थानीय परम्परागत संस्कृति, रहनसहन तथा आर्गनिक उत्पादनले पर्यटकलाई होमस्टेमा आकर्षित गर्ने गरेको छ ।

घलेगाँउलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउनको निम्ति पहिलो पटक २०५८ मा महोत्सवको आयोजन समेत गरीको थियो । होमस्टे व्यवसायीले गर्दा गाउँमा रहेको स्थानीय युवाहरु समेत आर्थिककै लागि भनेर वैदेशिक रोजगारमा जानु पर्ने बाध्यता हटेको अध्यक्ष घलेले बताउनु भयो ।