पर्साको जगरनाथपुर गाउँपालिकामा अख्तियारको छापा

0
Shares

वीरगन्ज ।

कोरोना राहत अनियमितता गरेको आरोप लागेको पर्साको जगरनाथपुर गाउँपालिकाको कार्यालयमा , अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार  छापा मारेको छ ।

हेटौडा स्थित आयोगको क्षेत्रीय कार्यालयबाट प्रहरी नायव उपरीक्षक गणेश बराल नेतृत्वमा खटिएको टोलीले मङ्गलवार दिउँसो गाउँपालिकाको कार्यालयमा पुगेर छापा मारेको हो ।कोभिडले प्रभावित विपन्न परिवारहरूका लागि राहत बाँड्न गत पुषमा केन्द्र सरकारले पठाएको अनुदानको रकम , हिनामिना गरिएको खबर सार्वजनिक भएपछि त्यही विषयलाई लिएर आज अख्तियारले गाउँपालिकाको कार्यालयमा छापा मारेको हो । अनुदानको रकम  हिनामिना गरी दुरुपयोग गरिएको विषयमै जगरनाथपुर गाउँपालिकाको कार्यालयमा अख्तियारको टोलीले छापा मारेको आयोगको क्षेत्रीय कार्यालय हेटौडाका सूचना अधिकारी विष्णु प्रसाद सापकोटाले जानकारी दिनुभयो ।

कोभिड प्रभावित परिवारलाई जनही १० हजार रुपैयाँका दरले वितरण गर्न लागि केन्द्र सरकारले गत पुस अन्तिम साता जगरनाथपुर गाउँपालिकाको कार्यालयमा ८८ लाख रुपैयाँ पठाएको थियो ।तर गाउँपालिकाका कर्मचारी र जनप्रतिनिधीहरुले उक्त रकम, कोभिड प्रभावितहरूलाई वितरण नगरी स्वास्थ्यकर्मी र शिक्षकलाई तलब खुवाउनेदेखि कर्मचारीलाई सापटी दिएर हिनामिना गरेको आरोप छ । गाउँपालिका कार्यालयले भने उक्त रकम , कोभिड प्रभावित परिवारलाई वितरण गरिसकेको रिपोर्ट केन्द्रमा पेस गरिसकेको छ ।

तर त्यहाँका कोभिड प्रभावित कसैले पनि उक्त रकम पाएका छैनन् । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राज कुशवाहले स्वंयले पनि अनुदानको रकम शिक्षकको चौमासिक तलबमा खर्च गरेको स्वीकार गर्नुभएको छ ।८८ लाख मध्ये २४ लाख रुपैयाँ गाउँपालिकाका तत्कालीन स्वास्थ्य शाखा संयोजक रामसिकिल साहलाई सापटी पनि दिएको उहाँले बताउनु भएको छ  ।तर २४ लाख रुपैयाँ सापटी लिएका साहको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको छ । अनुदानका लागि कसैको आवेदन नै नपरेको प्रमुख प्रशासकीय अधिकृत कुशवाहाको भनाइ छ ।

जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मियाँले पनि कोरोना प्रभावित विपन्न परिवारलाई अनुदान रकम अहिले सम्म वितरण नगरिएको बताउनुभयो ।जनतालाई राहत बाँड्न आएको अनुदानको रकम अन्य शीर्षकमा खर्च भएको बारे आफूलाई जानकारी नै नभएको भन्दै उहाँले यदि रकम दुरुपयोग भएको रहेछ भने त्यसको जिम्मेवार प्रमुख प्रशासकीय अधिकृत  नै हुने प्रतिक्रिया दिनुभयो ।