![](https://newsofnepal.com/wp-content/uploads/2022/03/Pathak.jpg)
नेपालीमा दैनिक खानपान, रहनसहनका साथै वंशानुगत रूपमा हरेक दिन बढ्दै गएको मिर्गौला रोगको उपचारमा ललितपुरको इमाडोलस्थित किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पताल लागिरहेको छ । मिर्गौलालगायत मानव अंग प्रत्यारोपणका क्षेत्रमा विशेष अस्पतालका रूपमा विकास गर्ने लक्ष्यका साथ अघि बढेको दाबी गर्नुहुने अस्पताल प्रमुख अमिश पाठकसँग नेपाल समाचारपत्रका लागि भगवती तिमल्सिनाले गरेको कुराकानीको सारसंक्षेप :
मर्गौला प्रत्यारोपणका लागि स्वीकृति पाएपछि किस्टले के गर्दै छ ?
मिर्गौला प्रत्यारोपणका क्षेत्रमा अघि बढ्ने उद्देश्यले भौतिक संरचना, दक्ष जनशक्तिको विकासलगायतका काम गर्दै आएका थियौं। सरकारबाट मिर्गौला प्रत्यारोपणका लागि स्वीकृति पाएपछि मिर्गौला प्रत्यारोपण प्रमुख नारायण भुसाल चिकित्सा क्षेत्रको पाटोमा र म उपकरण जुटाउने कार्यमा तदारुकताका साथ लागिपरेको छु।
निजी क्षेत्रको अस्पतालमा मिर्गौला प्रत्यारोपणको गर्ने सोच कसरी बनाउनुभयो ?
धेरै बिरामी मिर्गौला प्रत्यारोपण समयमा आफ्नै देशमा गर्न नपाएर महँगो शुल्क तिरेर विदेशिनुपर्ने र घरवारविहीन हुने गरेका समस्या देखेरै डा. नारायण र मैले मिर्गौला प्रत्यारोपण किस्ट अस्पतालमै गर्ने परिकल्पना गरेका हौं।
पहिलाको दाँजोमा सरकारले मिर्गौलापीडितका लागि सहयोग र दाताको दायरा फराकिलो पारेको छ। यसले पीडितलाई कतिको राहत पुगेको छ ?
राज्यले पछिल्लो समय बनाएको मापदण्ड फराकिलो छ। यतिको कडाइ नगर्ने हो भने मानव अंग बेचबिखनको बढी सम्भावना हुन्छ। सरकारले सबैभन्दा राम्रो कानुनी व्यवस्था गरेकोमा मस्तिष्क मृत्यु (ब्रेन डेथ) पछि गरिने अंग दान हो। अबको अवस्था भनेको मस्तिष्क मृत्युलाई जनचेताना जगाउँनु जरुरी छ।
नेपालमा दैनिक कति व्यक्तिको मस्तिष्क मृत्यु हुन्छ ?
नेपालमा दैनिक १२ जनाको मस्तिष्क मृत्यु हुने गरेको छ।यसबाट २४ जना मिर्गौलाका बिरामीलाई मिर्गौला प्रत्यारोपण गर्न सकिन्छ। यसमा मिर्गौला मात्र नभई कलेजो, आँखा, आगो, तातोपानी, विद्युत्, एसिडजस्ता चिजले जलेर छालाको अभाव भई उपचार नपाएका बिरामीका लागि पनि अंगदानले काम गर्छ। जलेर खरानी हुने वा माटोमा गाडेर कुहिने शरीरबाट अरूको ज्यान बचाउन सकिन्छ भन्ने जनचेतना जगाउँनु आजको आवश्यकता हो। यसैलाई बुझेर सरकार यतै केन्द्रित भएको छ।
मानिस पीडामा परेका बेला अंगदानका लागि जनचेतना कसरी जगाउँने ?
यो अत्यन्तै राम्रो प्रश्न गर्नुभयो। आघात परेको परिवारलाई अंगदान दिनुस् भन्नु निकै कठिन वषय हो। तर, यसका लागि विभिन्न तहमा परामर्शदातादेखि मस्तिष्क मृत्यु घोषणा कसरी गर्ने भन्ने विषयमा सरकारले कानुन नै बनाएर छुट्टै टिम खडा गरी तालिम दिँदै आएको छ। मस्तिष्क मृत्युका विषयमा म स्वयंले पनि भारतको मोहन फाउन्डेसनमा गएर तालिम लिएको छु।
भारतमा तालिम लिँदा सिकेका विषयमा पीडामा परेको परिवारलाई कसरी प्रस्ताव राख्ने, अंगदान जीवन दान हो र यो महान् कार्य हो भन्ने विषयमा सम्झाउने क्षमता हुनुपर्छ। मिर्गौला प्रत्यारोपण संयोजकहरू अत्यन्तै बुझेको, जानकार र तालिम प्राप्त हुनुपर्छ। राज्यले जुन–जुन अस्पतालमा मस्तिष्क मृत्यु हुन्छ उनीहरूलाई नै परिचालन गर्न सक्यो भने ठूलो उपलब्धि हासिल हुन्छ। अन्य मुलुकमा पनि यो प्रयोग सफलतापूर्वक अघि बढेको छ।
मस्तिष्क मृत्यु कसले र कसरी प्रमाणित गर्ने ?
यस विषयमा नेपाल सरकारले कार्यविधि बनाइसकेको छ। यो टिममा कार्डियोलोजिस्ट, एनेस्थेसिया, क्रिटिकल केयर टिम, पल्मोनोजोजिस्टलगायतको टिम बनाएर चेक, रिचेक गर्ने व्यवस्था गरेको छ। यतिमात्र नभई शंका लागेमा क्रसचेकको टोलीले पनि पुनः परीक्षण गरेर प्रमाणित गर्न सक्नेछ। यो कार्यविधिको पालना गर्नुपर्छ अत्यन्तै राम्रो छ।
विशेष गरी युवा पुस्ता खाडी मुलुकमा वैदेशिक रोजगारीमा जाँदा खानपान नमिल्ने र पानीको मात्रामा कमी भएकाले मिर्गौलाको समस्या लिएर फर्किएका धेरै छन्। स्वास्थ्य शिक्षा र जनचेतनाका माध्यमबाट परामर्श मात्र दिने हो भने पनि खाडी मुलुकमा जाने नेपाली युवा स्वस्थ हुने थिए। सरकारले सबैभन्दा राम्रो कानुनी व्यवस्था गरेकोमा मस्तिष्क मृत्यु (ब्रेन डेथ) पछि गरिने अंग दान हो। नेपालमा दैनिक १२ जनाको मस्तिष्क मृत्यु हुने गरेको छ। यसबाट २४ जना मिर्गौलाका बिरामीलाई मिर्गौला प्रत्यारोपण गर्न सकिन्छ ।
सरकारले दिएको आर्थिक सहयोगले पीडितलाई कति राहत पुगेको छ ?
अन्य रोगको दाँजोमा सरकारले दिएको राहतले मिर्गौलापीडितलाई धेरै नै सहयोग पुगेको छ। मिर्गौला रोग लाग्नासाथै विपन्न कार्यक्रममा समावेश हुने र राज्यले १ लाख बराबरको सहयोग गरिहाल्छ। मिर्गौला प्रत्यारोपण गराउनुपर्यो भने सरकारको ४ लाखको प्याकेज छ। मेडिकल बोर्डले प्रमाणित गरेर नर्सिङ महाशाखामा पेस गरेपछि बिरामीले डेढ लाखसम्म फिर्ता पाएको अवस्था छ। समग्रमा मिर्गौला रोगीलाई रोग लागेदेखि निको हुँदासम्म सरकारले ठूलो आर्थिक सहयोग गरेको छ। यो सबैभन्दा खर्चिलो रोग भएकाले सहज बनाउँदै लैजानुपर्छ।
तपाईंले प्रशासनमा बसेर हेर्दा कुन भेगका मिर्गौलाका बिरामी बढी आएका छन् ?
विशेष गरी युवा पुस्ता खाडी मुलुकमा वैदेशिक रोजगारीमा जाँदा खानपान नमिल्ने र पानीको मात्राको कमी हुने कारणले मिर्गौलाको समस्या लिएर फर्किएका धेरै छन्। किस्ट मेडिकल कलेजले मिर्गौला दिवस–२०७८ मा पुग्दा १६ जनाको प्रत्यारोपण सम्पन्न भएको छ। किस्ट अस्पतालमा भोलुम सेन्टरका रूपमा विकास गर्ने योजनाका साथ सस्तोमा मिर्गौला प्रत्यारोपण गर्दै आएका छौं।
मिर्गौला प्रत्यारोपणका लागि कति खर्च लाग्छ ?
यो तीन भागमा बाँडिएको छ। ७ देखि साढे ७ लाखसम्म खर्च लाग्छ।
प्रत्यारोपणको नेतृत्व कसले गर्नुभएको छ ?
कानुनी रूपमा डा. किशोरसिंह बस्नेतले गर्नुभएको छ। क्लिनिकल टममा डा. नारायण भुसाल, डा. सन्तोष क्षेत्रीलगायतको टिमले गरेको छ।
किस्टमा मिर्गौला प्रत्यारोपणको क्षमता कति छ ?
नयाँ प्रोग्राम भएकाले हप्तामा दुई जनाको मात्र गर्ने योजना छ। मिर्गौला रोग लागेको पहिचान हुनु जरुरी छ। डाइलासिसमा धेरै खर्च र स्वास्थ्य समस्या निरन्तर आइरहन्छ। प्रत्यारोपणमा जाने बिरामीलाई धेरै नै फाइदा हुन्छ। डाइलासिससँग तुलना गरेर हेर्दा प्रत्यारोपणपछि प्रयोग गर्ने औषधि खर्च अत्यन्तै कम हुन्छ र व्यक्ति र राज्य दुवैको खर्च वचत हुन्छ। स्वास्थ्य शिक्षा र जनचेतनाका माध्यमबाट परामर्श मात्र दिने हो भने पनि खाडी मुलुकमा जाने नेपाली युवा स्वस्थ हुने थिए।