भीमेश्वर नगरपालिका : पाँच वर्षमा विकास र समृद्धिको अभियानमा तीव्रता



दोलखा ।

दोलखाको भीमेश्वर नगरपालिकामा नेकपा एमालेको तर्फबाट विजयी नगरप्रमुख भरतबहादुर केसीले आफुले पार्टीको घोषणापत्र अनुसार ९० प्रतिशत काम गरेको बताएका छन् । दोलखा सदरमुकाम चरिकोटमा रहेको पर्यटकीय नगरी भीमेश्वर नगरपालिकाको विकास र समृद्धिको लागि नेकपा एमालेले चुनावी घोषणापत्रमा उल्लेख गरेका योजनाहरुमा ९० प्रतिशत सम्पन्न भएको नगर प्रमुख केसीको दावि छ ।

धार्मिक एवं प्राकृतिक पर्यटकीय केन्द्रको रुपमा रहेको भीमेश्वर नगरपालिकामा पर्यटकलाई आकर्षित गर्न ९ वटा पर्यटकीय केन्द्र पहिचान गरी सोही अनुसार त्यसको व्यवस्थापन गरिएको नगरप्रमुख केसीको भनाई छ ।

नगरपालिकाले वडा नम्बर १ को राङराङथली, वडा नम्बर २ को भीमेश्वर मन्दिर, वडा नम्बर ३ को चरिघ्याङ गुम्बा, वडा नम्बर ४ को जलेश्वर मन्दिर, वडा नम्बर ५ को किरातीछाप, वडा नम्बर ६ को भ्यु टावर, वडा नम्बर ७ को कृषि उत्पादन थलो, वडा नम्बर ८ को किवि जोन र वडा नम्बर ९ को खरीढुङ्गा शिवपोखरीलाई मुख्य प्रस्थान विन्दु मानेर महाङ्काल भगवती, डाङ्डुङे डाँडा, त्रिपुरा सुन्दरी, कोटीहोम यज्ञशाला, सिमपानी पोखरी, चम्पुजा पार्क, मञ्जुश्री पार्क, तामाकोसी, मयुर पार्क, आदीलाई पर्यटकीय गन्तव्यको रुपमा विस्तार गरेको नगरप्रमुख केसीले बताउनु भयो ।

भीमेश्वर नगरपालिकाले शैक्षिक विकासको लागि शिक्षामा हाम्रो लगानी, पढ्न जान्छन् नानी भन्ने मुल नारा तय गर्दै पोशाकमा समानता लगायतका कार्यक्रम सुरु गरेको बताउनु भयो । आफ्नो कार्यकालको पाँच बर्षको अवधिमा नगर प्रवेश गर्ने सिन्धुपाल्चोक जिल्लाको सिमाना मूडेमा सूचना केन्द्र सहितको गेट निर्माण गरिएको, नगर भित्रका झण्डै १६ किलो मिटर सडकमा नगरपालिकाको पहलमा ब्ल्याक टप गरिएको, सातदोबाटो चोकमा व्यवसायीक भवन निर्माण गरिएको, चरिकोट टुडिखेलमा प्याराफिट सहितको रङ्गशाला निर्माण थालिएको केसीले बताउनु भयो ।

भीमेश्वर नगरपालिकाले रोकौ विदेश जान, खोलौ आफ्नै कारखाना भन्ने नारा सहित युवा जनशक्तिलाई आफ्नै ठाँउमा रोजगारीको व्यवस्था गर्न औद्योगिक ग्रामको सुरुवात गरिएको, दलित र गैर दलित बीच बैवाहित सम्बन्ध कायम भए प्रोत्साहन स्वरुप ५० हजार नगद प्रदान गर्ने, अपाङ्गता भएका व्यक्तिको हेरालुको लागि बार्षिक १२ हजार सहयोग, जेष्ठ नागरिक भेटघाट कार्यक्रममा बार्षिक एक हजार सहयोग र सुत्केरी महिला पोषण खर्च वापत एक हजार रुपैया सहयोग कार्यक्रम सञ्चालन हुदै आएको नगरप्रमुख केसीले बताउनु भयो । भीमेश्वर नगरपालिकामा १३ वटा स्वास्थ्य संस्था रहेको र १० वटा खोप केन्द्र सञ्चालनमा रहेको नगरप्रमुख केसीले बताउनु भयो ।

आफुले पाँच बर्षको अवधिमा नगरपालिका भित्र रहेका वडा, टोल र वस्तिहरुको आवश्यकता तथा नेकपा एमालेको चुनावी घोषणापत्रको आधारमा नगरको विकासमा महत्वपूर्ण कार्यक्रम सञ्चालन गरेकोले फेरि पनि नेकपा एमालेकै जीत हुनेमा आफु निश्चिन्त रहेको नगरप्रमुख केसी बताउनु हुन्छ ।

आफुले चाहेर पनि एयरर्पोट निर्माण, साईन्स पार्क र बसपार्क निर्माणको काम अगाडि बढाउन नसकेको उल्लेख गर्नुहुदै आगामी निर्वाचन पछिको नेतृत्वले त्यसलाई पुरा गर्ने केसीले बताउनु भयो । कोरोना महामारीसंगै प्राविधिक जनशक्ति र शाखागत जनशक्तिको अभावका कारण कतिपय काम हुन नसकेको नगरप्रमुख केसीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्