धुलिखेल कल्याणकारीको वनभोज कार्यक्रममा अंगदान गरियो 



काठमाडौं ।

धुलिखेल कल्याणकारी सेवा समाजले आयोजना गरेको पारिवारिक वनभोज कार्यक्रममा समाजका अध्यक्ष दील बहादुर गजुरेल लगायत संस्थाका ९ जना सदस्यहरूले अंगदानको घोषणा गर्नुभयो । उक्त कार्यक्रममा सहिद धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरका डा. स्वस्तिक प्रधानाङ्ग र अंग प्रत्यारोपण विभागका संयोजक सरु कोजूले मानवको मृत्यु पछि पनि कतिपय शरीरका अंगहरु जीवित मानिसको शरीरमा प्रत्यारोपण गरेर नयाँ जीवन दिन सकिन्छ भन्ने बारेमा जानकारी गराउनुभएको थियो ।

उहाँहरूले मानव शरीर मृत्यु पछि जलेर खरानी हुन्छ तर मस्तिष्कको मृत्यु भए पनि त्यस्ता व्यक्तिको शारिका अन्य अंगहरु भेन्टिलेटरको सहायतामा जीवित राखी अर्को व्यक्तिमा प्रत्यारोपण गर्न सकिने जानकारी गराउनुभयो । नेपालमा हाल सम्म मस्तिष्क मृत्यु पछि ३ जना व्यक्तिको अंगदान गरी ६ जना व्यक्तिले नयाँ जीवन पाउनुभई समाजका अन्य साधारण व्यक्ति सरह व्यापार व्यवसाय र कामकामज गरिरहनुभएको जानकारी गराउनुभयो ।

विदेशमा आफन्तले प्रत्यक्ष अंगदान गर्ने भन्दा यसरी नै मस्तिष्क मृत्युपछि अंगदान गर्ने भएकै कारण धेरै मानिसले नयाँ जीवन पाउँछन् । नेपालमा भर्खरै यो कानुन बनेकाले जनचेतना फैलाउन समय लाग्ने जानकारी सहित अंगदानको महत्त्वका बारेमा जानकारी गराइयो । टोलीको परामर्श लगत्तै वनभोज कार्यक्रममा सहभागी कल्याणकारी संस्थाका  कोषाध्यक्ष भगवती तिमल्सिना, सदस्यहरु गोपाल कुमार श्रेष्ठ, मान बहादुर सुतार कार्की, अमिन सुतार कार्की, लोकेन्द्र सापकोटा, सरस्वती सापकोटा, विष्णु प्रसाद बजगाईँ, हस्त कुमारी बजगाईँ लगायत ९ जनाले अंग दान गर्ने मन्जुरीनामा दिनुभयो ।

कार्यक्रममा ‘जनस्वास्थ्यमा ध्यान दिउँ, मृत्यु पर्यन्त खरानी हुने शरीर दान दिएर पुण्य कमाउँ’ भन्ने विषयमा संस्थाका अध्यक्ष गजुरेलले आफ्नो भनाई राख्नुभएको थियो । सोही अवसरमा अस्पतालबाट परामर्शका लागि सहभागी हुनुभएका द्वय स्वास्थ्यकर्मीहरूलाई संस्थाको तर्फबाट धुलिखेलको पहिचान झल्कने मायाको चिनो प्रदान गर्नुभयो । त्यसैसरि सचिव घिमिरेले संस्थागत विकासका लागि आफूले सकेको सहयोग गर्न मानव जातिले चाहना राख्दा अंग दान जस्तो महादान गरेर पुण्य कमाउन सकिन्छ भन्ने विषयमा जनचेतना जगाउनु जरुरी रहेको कुरा औँल्याउनुभयो ।

कार्यक्रममा सहभागी समाजका पारिवारिक सदस्यहरूले मानिसको दिमागको मृत्यु भए पनि शरीरका अंगहरुले अरूको शरीरमा प्रत्यारोपण गर्दा काम गर्ने विषयमा जानकारी पाउँदा खुसी लागेको कुरा बताउनुभयो । दिमागको मृत्यु पछि पनि मानिसको शरीरमा भएका स्वस्थ मिर्गौला, मुटु, फोक्सो, कलेजो, प्याङ्क्रियाज, सानो आन्द्रा आवश्यक भएको व्यक्तिलाई प्रत्यारोपण गर्न सकिने विषयमा जानकारी पाउँदा खुसी व्यक्त गरेका थिए । यसका साथै मानव शरीरको मृत्यु पर्यन्त छाला, आँखा, कपालको समेत दान गर्न सकिने कुरा परामर्शमा सहभागी डा. प्रधानाङ्गले बताउनुभयो ।

पारिवारिक वनभोज कार्यक्रममा अभिभावक र बालबालिका गरी ८० जनाको सहभागिता रहेको थियो । बालबालिकाहरूलाई शारीरिक तथा मानसिक विकासका विषयमा प्रभावकारी खेल अभिभावकहरू समेतको सहभागीतामा खेलाई पूर्ण रुपमा मनोरञ्जन प्रदान गरिएको थियो । खेलमा बालबालिका, महिला र अभिभावकहरूलाई तीन वटा समूहमा विभाजन प्रतिस्पर्धाका आधारमा खेल खेलाउनुका साथै प्रथम, द्धितिय, तृतीय र सान्त्वना पुरस्कारको समेत प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्