चिनियाँ विदेशमन्त्रीद्वारा पोखरा विमानस्थलको साँचो हस्तान्तरण

राष्ट्रपति सीको प्रतिवद्धता कार्यान्वयन गर्न परराष्ट्रमन्त्रीको आग्रह

0
Shares

काठमाडौं ।

नेपाल भ्रमणमा रहनुभएका चीनको स्टेट काउन्सिलर एवं विदेशमन्त्री वाङ यीले शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक कार्यक्रममा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको सांकेतिक साँचो प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा परराष्ट्रमन्त्री डा. नारायण खड्काकालाई हस्तान्तरण गर्नुभएको छ ।

चीनको एक्जिम बैंकको २२ अर्ब रुपियाँ सहुलियतपूर्ण ऋण सहयोगमा निर्माण भइरहेको उक्त विमानस्थलको मूख्य निर्माण कार्य सकिएको र केही सामान्य काम मात्र बाँकी रहेको नागरिक उड्ययन प्राधिकरणले जनाएको छ । उक्त विमानस्थलको निर्माण चीनको निर्माण कम्पनी सीएएमसी इन्जिनियरिङले वि.सं. २०७४ को असारमा शुरु गरेको हो ।

सम्झौताअनुसार गत वर्षको जुलाई १० भित्र नै निर्माण सम्पन्न गरेर उक्त विमानस्थल नेपाललाई हस्तान्तरण गर्नुपर्ने भएता पनि कोरोना महामारीका कारण विमानस्थलको काम रोकिएकोले एक वर्षको म्याद थपिएको थियो ।

यसअघि चिनियाँ विदेशमन्त्री वाङ र परराष्ट्रमन्त्री डा. नारायण खड्काको नेतृत्वमा सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा द्विपक्षिय वार्ता भएको छ । द्विपक्षिय वार्तामा परराष्ट्रमन्त्री डा. खड्काले चिनियाँ सहयोगमा सञ्चालित विकास निर्माणका परियोजना समयमै पूरा गर्नुपर्नेमा जोड दिनुभएको थियो । उहाँले नेपाल–चीन सीमा नाका सञ्चालन नहुँदा नेपालको अर्थतन्त्रमा परेको नकारात्मक प्रभाव, कोभिड–१९ को महामारीले आर्थिक गतिविधिमा थपेको समस्यालगायतका विषयमा चिनियाँ पक्षलाई जानकारी दिनुभएको थियो ।

परराष्ट्रमन्त्री डा. खड्काले चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमणका बेलामा घोषणा गरिएको आर्थिक सहायता कार्यान्वयनका लागि पनि चिनियाँ विदेशमन्त्रीलाई अनुरोध गर्नुको साथै हिमालय सीमापार सम्पर्क सञ्जाल विस्तार गर्ने विगतको सहमति कार्यान्वयनमा पनि चिनियाँ विदेशमन्त्रीको ध्यानाकर्षण गराउनुभएको थियो ।

द्विपक्षिय वार्तालगत्तै चीन र नेपालबीच नौं बुदे समझदारीमा हस्ताक्षर भएको छ । उक्त नौं बुँदेमा व्यापारिक रुपमा नेपाललाई चीनसँग जोड्ने बहुचर्चित केरुङ–काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययन गर्न चीनले प्राविधिक सहायता गर्ने सहमति पनि समेटिएको छ । वि.सं. २०७६ भदौंमा केरुङ–काठमाडौं रेलमार्गको पूर्वसम्भाव्यता अध्ययन सकिसकेको भएता पनि कोरोना महामारीका कारण विस्तृत सम्भाव्यता अध्ययन भने हुन सकिरहेको थिएन । अब यो सहमतिसँगै बहुचर्चित केरुङ–काठमाडौं रेलमार्गको काम अगाडि बढ्ने भएको छ ।

चीनका लागि पूर्व राजदूत राजेश्वर आचार्यले रेलमार्गको काम अगाडि बढ्नु स्वागतयोग्य भएको भन्दै अब चीनको ‘बेल्ट एण्ड रोड’ अन्तर्गतका ठूला परियोजनाहरू पनि अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो । नेपाल समाचारपत्रसँगको कुराकानीमा उहाँले भन्नुभयो–‘चीनले धेरै अगाडि आजको जस्तो आर्थिक सफलता हासिल नगर्दा पनि नेपालमा राजमार्ग, अस्पताललगायतका विकास निर्माणमा महत्वपूर्ण योगदान दिएको थियो । अब त झन् आर्थिक रुपमा सवल चीनले उदार हृदयले नेपालको विकास र स्थायित्वका लागि बीआरआईअन्तर्गत ठूलो योजनाहरू अनुदानमै दिनसक्नुपर्छ । त्यसतर्फ पनि हाम्रो सरकारले पहल गर्ने र चीनले पनि बिचार गर्नेछ भन्ने विश्वास छ ।’

उहाँले यसअघिको प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण, त्यसपछि राष्ट्रपति विद्यादेवी भण्डारीको चीन भ्रमण र चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणमा भएका सहमति, समझदारी र सम्झौताहरूको संख्या करिब ६० पुगिसकेको स्मरण गर्दै ती सबै सहमति, समझदारी र सम्झौताहरूलाई कार्यान्वयनमा लान सरकारले तत्परता देखाउनुपर्ने आवश्यक्ता पनि औंल्याउनुभयो ।

वार्तामा नेपालको तर्फबाट परराष्ट्रमन्त्री खड्काको नेतृत्वमा परराष्ट्र, अर्थ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, गृह, उर्जा, जलस्रोत तथा सिंचाइ, कृषि तथा पशुपन्छी विकास, उद्योग, वाणिज्य तथा आपूर्ति, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, भौतिक पूर्वाधार तथा यातायात, स्वास्थ्य तथा जनसंख्यामन्त्रालयका सचिवसमेत गरी २४ जनाको सहभागिता रहेको थियो । त्यस्तै चिनियाँ विदेशमन्त्रीको नेतृत्वमा नेपालका लागि चीनका राजदूत हउ यान्छी, चीनको विदेशमन्त्रालयका सहसचिव वु जिङवाओ, वाणिज्य मन्त्रालयका सहसचिव शेङ कुपिङ, विदेश मन्त्रालयको एसियाली मामिला विभागका महानिर्देशक लिउ जेनसङ, नायब शिष्टाचार महानिर्देशक सोङ जिया र विदेशमन्त्री याङका सचिव देङ झेइलगायत १६ जनाको सहभागिता रहेको थियो ।

चिनियाँ विदेशमन्त्री वाङले आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गर्नुका साथै पूर्व प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गर्ने कार्यक्रम रहेको छ । शुक्रबार नेपाल आउनुभएका चिनियाँ विदेशमन्त्री वाङ आइतबार नै स्वदेश फर्कने कार्यक्रम छ ।

नेपाल–चीनबीच नौं वटा समझदारीपत्रमा हस्ताक्षर
नेपाल–चीनबीच भएका नौं वटा समझदारीहरूमध्ये आर्थिक तथा प्राविधिक सहयोगसम्बन्धी समझदारी र नेपालमा चीन–नेपाल अन्तरदेशीय रेलवे परियोजनाको सम्भाव्यता अध्ययनका लागि प्राविधिक सहायता योजनामा अर्थसचिव मधुकुमार मरासिनी र नेपालका लागि चीनका राजदूत हउ यान्छीले हस्ताक्षर गर्नुभएको छ । त्यसैगरी नेपाल–चीन पावर ग्रिड इन्टरकनेक्सन सम्भाव्यता अध्ययनका लागि सहयोग सम्झौतामा उर्जा, जलस्रोत तथा सिंचाइ सचिव देवेन्द्र कार्की र राजदूत हउले हस्ताक्षर गर्नुभएको छ ।

सुरक्षित रुपमा स्वास्थ घाँस नेपालबाट चीन निर्यात गर्नेसम्बन्धमा पशुपन्छी विकास सचिव निरु दाहाल र राजदूत हउले हस्ताक्षर गर्नुभएको छ । चीनमा आयातित ९८ प्रतिशत वस्तुका लागि शुल्कमुक्त कारोबारको विनिमयपत्रमा वाणिज्य सचिव गणेशप्रसाद पाण्डे र चीनको वाणिज्य मन्त्रालयका सहसचिव शेङ कुपिङले, अरनिको राजमार्ग (तेस्रो चरण) मर्मतसम्भार परियोजना हस्तान्तरणसम्बन्धी दस्तावेजमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठ र चिनियाँ सहसचिव शेङले हस्ताक्षर गर्नुभएको छ ।

कोभिड–१९ चीन सहायताअन्तर्गत नेपाललाई पाँचौं र छैठौं खेपमा ४० लाख भेरोसेल खोप आपूर्ति र स्वीकृतिको प्रमाणपत्र र चितवनस्थित विपी कोइराला क्यान्सर अस्पतालमा सेवा गर्न चिनियाँ चिकित्सक टोली पठाउनेसम्बन्धमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले हस्ताक्षर गर्नुभएको छ ।