वाणिज्य फर्महरूको अनुगमन तथा निरीक्षण, अखाद्य वस्तु नष्ट


कृष्ण परियार, सन्धिखर्क । 

घरेलु तथा साना उद्योग कार्यालय अर्घाखाँचीले चालु आर्थिक वर्ष २०७८र०७९ मा जिल्लामा भएका विभिन्न वाणिज्य फर्महरूको अनुगमन तथा निरीक्षण गर्दै आइरहेको छ ।

जिल्लाका विभिन्न स्थानीय तहहरूमा अनुगमन गरिएको घरेलु तथा साना उद्योग कार्यालय अर्घाखाँचीका सन्तोष खनालले जानकारी दिए । पछिल्लो समयमा जिल्लाको शितगंगा नगरपालिका अन्तर्गत चाक्ला, ठाडा र अमराईका बजार क्षेत्र, मालारानी गाउँपालिकाको हंसपुर,रतनमारे र भण्डार आसपासका बजार क्षेत्रमा अनुगमन गरिएको खनालको भनाई छ । अनुगमनको क्रममा भेटिएका विभिन्न अखाद्य बस्तु तथा उत्पादन मिति सकिएका खाद्यबस्तुहरुलाई आइतबार नष्ट गरिएको छ ।

विभिन्न बजार क्षेत्रहरूबाट जफत गरिएका करिब ६४ हजार बराबरका समानहरूलाई आइतबार प्रमुख जिल्ला अधिकारी हरि प्रसाद घिमिरे ,सहायक प्रमुख जिल्ला अधिकारी नमलाल पन्थी,घरेलु तथा साना उद्योगका सन्तोष खनाल, जिल्ला प्रहरी कार्यालयका डिएसपी अम्बर थापा, सशस्त्र प्रहरीका डिएसपी रामकृष्ण महत्रा , अनुसन्धानका डिएसपी सन्तोष बस्नेत,जिल्ला प्रशासनका खरिदार पोमनारायण कुवंर,अन्य कर्मचारी तथा पत्रकार कृष्ण परियारको उपस्थितिमा नष्ट गरिएको हो ।

आगामी दिनहरूमा उपभोक्ताहरूलाई ठगिनबाट बचाउनको लागी घरेलु कार्यालयले अनुगमनलाई तीव्रता दिने प्रमुख खनालले बताए । घरेलु कार्यालय अर्घाखाँचीले स्थानीय तह र प्रशासन र सुरक्षा निकायहरू सँग समन्वयन गरी अनुगमन गर्दै आइरहेको छ ।