व्यापार घाटा कमका लागि सहजीकरण गर्न राजदूत शर्मालाई आग्रह

0
Shares

काठमाडौं (नेस) ।

नेपाल उद्योग परिसंघले नेपालमा लगानी अभिवृद्धि, दुई देशबीच सहज विद्युत् व्यापार, पर्यटन प्रवद्र्धन र व्यापार घाटा न्यूनीकरणका क्षेत्रमा प्रभावकारी काम अघि बढाउन भारतका लागि नवनियुक्त राजदूत डा. शंकरप्रसाद शर्मासँग आग्रह गरेको छ ।

दुई देशबीचको आर्थिक सम्बन्ध थप विस्तार गर्न नेपालले त्यसबाट अधिकतम लाभ लिने गरी सार्वजनिक निजी साझेदारीमा काम गर्ने वातावरण निर्माणमा ध्यान दिन परिसंघले आग्रह गरेको हो । राजदूत शर्मासँगको छलफल कार्यक्रममा परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले नेपालमा लगानीको सम्भावना भए पनि सन्तोषजनक तरिकाबाट भारतीय लगानी भित्रिन नसकेको उल्लेख गर्नुभयो ।

‘नेपालमा उत्पादनमूलक एवं पूर्वाधार विकासको क्षेत्र भारतीय लगानीकर्ताका लागि आकर्षक गन्तव्य बनाउन सकिन्छ, यसमा सरकार र निजी क्षेत्र मिलेर काम गरौं,’ अध्यक्ष अग्रवालले भन्नुभयो–‘संस्थागत तवरमा नेपाल उद्योग परिसंघ आवश्यक सहजीकरणका लागि तयार छ ।

उहाँले अर्थतन्त्रमा अहिले देखिएका असन्तुलन व्यवस्थापनका लागि पनि नेपालले भारतीय पर्यटक, लगानीकर्ता र ठूला कम्पनीलाई नेपालमा आकर्षित गर्न सक्नुपर्नेमा जोड दिनुभयो । ‘ठूला अन्तर्राष्ट्रिय कम्पनीको उपस्थितिले देशको छवि परिर्वतनमा सहयोग पुर्याउँछ,’ अध्यक्ष अग्रवालले भन्नुभयो– ‘भारतका सूचना प्रविधि, उत्पादन एवं अन्य क्षेत्रका ठूला कम्पनी नेपालमा प्रवेश गर्दा अन्तर्राष्ट्रिय जगत्मा त्यसले दिने सन्देश फरक हुन्छ, त्यसकारण पनि हामीले उनीहरूलाई नेपालमा आकर्षित गर्नुपर्छ ।’

नेपालको सबैभन्दा ठूलो व्यापार साझेदार भारतसँग उच्च व्यापार घाटा छ । त्यसको न्यूनीकरणका लागि नेपाली वस्तुको सहज निर्यातमा पनि परिसंघले जोड दिएको छ । यसै गरी भारतीय बजारमा ऊर्जाको उच्च माग रहेकाले नेपालबाट विद्युत् निर्यातमा सहजीकरण गर्न पनि परिसंघले राजदूत शर्मासँग आग्रह गरेको छ ।

छलफलमा राजदूत शर्माले लगानी र निर्यात अभिवृद्धिका क्षेत्र पहिचान गरेर सरकार र निजी क्षेत्रले संयुक्तरूपमा काम गर्न सक्ने बताउनुभयो । उहाँले दुई देशका निजी क्षेत्रबीच सम्बन्ध विस्तार गरी लगानीमा सहजीकरण गराउनेतर्फ आफूले पहल गर्ने बताउनुभयो । ‘हाम्रा कतिपय कानुनी व्यवस्थासँग म आफैं पनि सन्तुष्ट छैन, संशोधन गरेर लगानीकर्ता मैत्री बनाउन जरुरी छ,’ उहाँले भन्नुभयो– ‘आवश्यक नीतिगत र कानुनी व्यवस्था गरेर लगानीकर्तालाई सहजीकरण गर्न जरुरी छ ।’

उहाँले उच्चस्तरीय दुई पक्षीय भ्रमणका माध्यमबाट पर्यटन तथा लगानी प्रवद्र्धनमा योगदान पुर्याउन सकिने बताउनुभयो । छलफलमा परिसंघका निवर्तमान अध्यक्ष सतिशकुमार मोरले नेपालबाट भारतमा सिमेन्ट निर्यातको सम्भवाना रहेको उल्लेख गर्नुभयो । उहाँले दुई देश छिमेकी मात्रै नभई सामाजिक तथा सांस्कृतिक रूपमा निकै नजिक रहेकाले धार्मिक पर्यटन प्रवद्र्धनको गर्नुपर्नेमा जोड दिनुभयो । यसै गरी परिसंघका पूर्वअध्यक्ष हरिभक्त शर्माले दुई देशबीचका सन्धि सम्झौताको समयानुकूल परिवर्तन हुनुपर्नेमा जोड दिनुभयो ।

छलफल कार्यक्रममा परिसंघले दुई देशबीचको आर्थिक सम्बन्ध विस्तारका लागि राजदूत शर्मालाई विभिन्न सुझाव दिएको छ । कार्यक्रममा परिसंघका उपाध्यक्ष कृष्णप्रसाद अधिकारी, राजेशकुमार अग्रवाल, वीरेन्द्रराज पाण्डे, हेमराज ढकाल र रोहित गुप्ताका साथै विभिन्न काउन्सिलका सभापति तथा नेपालमा सञ्चालनमा रहेका बहुराष्ट्रिय कम्पनीका प्रतिनिधि उपस्थित हुनुहुन्थ्यो ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्षका रूपमा काम गरिसक्नु भएका शर्मा राष्ट्रपतिबाट भारतका लागि नेपाली राजदूत नियुक्त भइसक्नु भएको छ । उहाँसँग अमेरिकाका लागि नेपाली राजदूतको रूपमा समेत काम गरेको अनुभव छ ।