सुर्खेतरोडमा डोजर चल्यो : अतिक्रमित घर–टहरा भत्काइँदै

0
Shares

बाँके ।

सुर्खेतरोडको अतिक्रमण हटाउन शुरू गरिएको छ । सडक डिभिजन कार्यालय बाँकेले फोरलेन सडकको अतिक्रमित घर–टहरा भत्काउन शुरू गरेको हो । कार्यलयले जानकी गाउँपालिकाको पिप्रहवा क्षेत्रबाट डोजर चलाउन शुरू गरेको हो ।

नेपालगन्जको जमुनाहादेखि कोहलपरसम्मको सडक क्षेत्रमा सार्वजनिक सडक ऐन–२०३१ ले तोकेको मापदण्डविपरीत निर्माण भएका, सडक अतिक्रमण गरी बनाइएका र २०६९ असोज ४ गतेको नेपाल सरकार मन्त्रिपरिषद्बाट विल्डर्स एरियाका लागि तोकेको मापदण्डविपरित रहेका स्थायी र अस्थायी संरचनाहरु हटाउन शुरु गरिएको हो । प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्री सडक अतिक्रमण हटाउन कोहलपुर पुग्नुभएको थियो । त्यहाँका बासिन्दाले एक हप्ताको समय मागेपछि डोजर झर्काइएको उहाँले बताउनुभयो ।

दलबलसहित कोहलपुर पुगेको टोलीले त्यहाँ एक हप्ताको समय दिएपछि पिप्रहवा क्षेत्रबाट अतिक्रमण हटाउन शुरु गरेको छ । प्रजिअ खत्रीले कोहलपुरमा स्थानीयले एक हप्ताको समय मागेकाले समय दिइएको बताउनुभयो । ‘स्थानीयले सात दिनको समय मागे । सडक डिभिजन कार्यालयले चिनो पनि लगाइदिएको रहेनछ । चिनो लगाइदिने र स्थानीयले आफ्नो घर–टहरा आफै भत्काउने कुरा भएको छ’, प्रजिअ खत्रीले भन्नुभयो– अतिक्रमण गरेका घर–टहरा भत्काइएन भने आठौं दिनमा हामी गएर भत्काउँछौं ।’

सडक डिभिजन कार्यालयले विल्डर्स एरियामा ४२ मिटर र अन्य ठाउँमा ५० मिटर फराकिलो सडक रहने बताएको छ । कोहलपुर र नेपालगञ्जको केही क्षेत्रलाई विल्डर्स भनिएको छ । एसियाली विकास बैंक (एडीबी) को सहयोगमा सुर्खेतरोडलाई फोरलेन बनाइएको थियो । ५० मिटरकै सडक बनाउने भनिए पनि केही टाठाबाठाले सोर्सफोर्स लगाएर ४२ मिटमा खुम्च्याउन भ्याएका थिए । सबै ठाउँमा त्यही ४२ मिटर पनि छैन ।

सडक डिभिजन कार्यालय, नेपालगन्जका प्रमुख होमबहादुर एसीकाअनुसार बीच भागदेखि २५/२५ मिटरको सडक फराकिलो गर्दा २२ किलोमिटरभित्र अतिक्रमणमा ८ सय ६ वटा संरचना रहेका छन् । त्यसमा १४ वटा सरकारी कार्यालय रहेका छन् । संघ–संस्था, मठ–मन्दिर र ७ सय ५० वटा निजी घर अतिक्रमण गरेर बनेका छन् ।

दुई दिनअघि बसेको सर्वदलीय सर्वपक्षीय बैठकले सुर्खेतरोडको अतिक्रमण हटाउने निर्णय गरेपछि सडक डिभिजन कार्यालय घर भत्काउन अघि सारेको हो । नेपालगन्जको सुर्खेतरोड र नेपालगन्जको धम्बोझीदेखि बर्दियाको मैनापोखरसम्मको सडक अतिक्रमण हटाउने निर्णय एकैपटक गरिएको थियो ।