स्थानीय तह निर्वाचन : बेथानचोकमा भगवानको चर्चा



बेथानचोक, काभ्रे ।

जिल्लामा नेपाली कांग्रेसको पकड क्षेत्र मानिएको बेथानचोक गाउँपालिकाको नेतृत्व लिन कांग्रेसका युवा नेता भगवान अधिकारी अघि बढेका छन् । प्राकृतिक स्रोत साधानले भरिपूर्ण अत्यन्त सुन्दर गाउँपालिकाको रुपमा परिचित बेथानचोकलाई आगामी पाँच वर्ष भित्र समग्र विकास गरी देश विदेशमा परिचित गराउने योजनाका साथ अघि बढेका भगवान यो क्षेत्रको लोकप्रिय नेता हुन ।

समाज सेवाको भावका साथ विद्यार्थीकाल देखि नै कांग्रेस राजनीतिमा सक्रिय अधिकारी नेपाली राजनीतिमा जिल्ला देखि केन्द्र सम्म परिचित नाम हो । गुरुयोजनाका साथ आगामी पाँच वर्ष भित्र जन्मभूमि बेथानचोकको विकासलाई लक्ष्यमा पुर्याउन खाका तयार गरिरहेका अधिकारी अघिल्लो निर्वाचनमा पनि अघि सरेका थिए । तर कांग्रेस भित्र पुरानो पुस्तालाई अन्तिम एक पटक अवसर दिनुपर्ने आवाज उठेपछि पछि हटेका अधिकारीले अहिले बेथानचोक विकासको खाका ल्याइसकेका छन् ।

अहिले हाई हाई भएकै बेला युवा पुस्तालाई नेतृत्व हस्तान्तरण गर्न वर्तमान अध्यक्ष प्रेमवहादुर तिमल्सिना पनि तयार भएको बताइएको छ । युवा जोस जागर मात्र हैन राजनीतिक अनुभव समेत प्रशस्त भएका अधिकारीले आफ्नो गाउँपालिका विकासका लागि देश विदेशमा भएका विज्ञहरूसँग निरन्तर छलफलमा गरिरहनु भएको छ । छ वटा  वडा रहेको यो गाउँपालिकामा भौतिक पूर्वाधार निर्माण गरी पर्यटकीय क्षेत्र, कृषि क्षेत्र, जडीबुटी उत्पादन, औद्योगिक क्षेत्र, शैक्षिक क्षेत्र, अनुसन्धान क्षेत्र लगायत छुट्टाछुट्टै क्षेत्र निर्माण गरी गाउँपालिका भित्र लगानी र रोजगारी बढाउने अधिकारीको योजना छ ।

६ वटा वडा रहेको बेथानचोक अघिल्लो निर्वाचनमा अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष र वडा सदस्यको ३८ पद मध्य कांग्रेसले ३७ पदमा विजयी हासिल गरेको थियो । यो पालिकामा वडा नम्बर ६ मा एक जना माओवादीका सदस्य बाहेक सबै कांग्रेसका जनप्रतिनिधि आएका थिए । ‘बेथानचोकलाई प्रत्येक वडामा एउटा/एउटा पकेट क्षेत्र बनाएर अघि बढाउनु पर्छ’ अधिकारी भन्नुहुन्छ– पहिला दुर्गम मानिएका साबिक ढुंखर्क, च्याम्राङवेशी, चलालगणेस्थान, भुदेउ मिलाएर बनाइएको बेथानचोक सम्भावना नै सम्भावनाले भरिपूर्ण छ ।

हाम्रो गाउँपालिका सानो छ सुन्दर छ  । गोवा भञ्जाङ देखि च्याम्राङवेशी जाने बाटोलाई पूर्णता दिने, जडीबुटी लगायत विभिन्न उद्योग खोल्ने, दुग्ध फ्याक्ट्री खोल्ने, बजार क्षेत्रलाई व्यवस्थित गर्ने, माथिल्लो उचाइमा पर्यटकीय क्षेत्रको रूपमा विकास गर्ने, उब्जनी क्षेत्रको विकास गर्ने, परम्परागत निर्वाहमुखी कृषि पेसालाई आधुनिक र व्यवसायी बनाउने मात्र हैन बेथानचोकको एउटा/एउटा एरिया हेर्न लायक बनाउने अधिकारीको योजना छ ।  बेथानचोक वडा नम्बर २ र ३ को संगम स्थलबाट केबुलकार सञ्चालनको सम्भावनाको खोजी गर्ने मात्र हैन पाँच वर्ष भित्र बेथानचोकलाई नगरकोट र धुलिखेल जस्तै पर्यटकको आकर्षणको केन्द्र बनाउने योजना पनि उहाले अघि सार्नु भएको छ ।

बेथानचोकको वडा नम्बर ५ मा कामिडाँडा पर्छ । कामिडाँडा माओवादी द्वन्दकालमा चर्चित ठाउँ हो । यो स्थानलाई कृषि उत्पादनका साथै वैचारिक स्थल बनाउन पूर्वाधार निर्माण गर्ने योजना पनि उहाँले अघि सार्नु भएको छ । बेथानचोकको नेतृत्व लिन अघि बढेका कांग्रेस नेता अधिकारीको पहलमा हालै मात्र यहाँ नागरिक आरोग्य केन्द्र स्थापना भएको छ । बेथानचोकमा निजी लगानीकर्ता भित्राउने कम्तीमा पनि पचा हजार जनालाई रोजगारी उपलब्ध गराउने, विभिन्न विश्वविद्यालयसँग समन्वय गरी शैक्षिक संस्था तथा अनुसन्धान केन्द्र स्थापना गर्ने मात्र हैन हिन्दु र बौद्ध धर्मालम्बिहरुको धर्म संस्कृति जोगाउन गुरुकुल सञ्चालन गर्ने सम्मको उहाको योजना छ ।  बेथानचोकमा अघिल्लो निर्वाचनमा ११ हजार मतदाता थिए भने अहिले १४ हजार मतदाता रहेका छन् ।

बेथानचोकमा हरेक महिना हरेक क्षेत्रका विज्ञहरु ल्याएर वृहत् संवाद कार्यक्रम गर्ने योजना बनाएका अधिकारी कांग्रेस राजनीतिमा विद्यार्थीकाल देखि नै  समयदेखि सक्रिय छन् । राजनीति र पत्रकारितामा स्नातकोत्तर गर्नु भएका अधिकारी नेविसंघको दुई कार्यकाल जिल्ला अध्यक्ष भैसकेका छन् । नेविसंघको पूर्व केन्द्रीय सदस्य, कांग्रेसको श्रमिक तथा ट्रेड युनियन  विभागको पूर्व केन्द्रीय सदस्य रहेका अधिकारी राष्ट्रिय राजनीतिमा जति सक्रिय छन् त्यो भन्दा बढी स्थानीय तहमा सक्रिय छन् । भूकम्प र कोरोना महामारीमा जनताको घरदैलो पुगेर सेवा गरेका अधिकारी यो क्षेत्रको चर्चित नाम हो । आफ्नो अगुवाईमा विद्यार्थिलाई पुस्तक र पोसाक बिरामीलाई औषधि, खेलाडीलाई ड्रेस उपलब्ध गराउँदै आएका अधिकारी अहिले बेथानचोकको विकास र यहाका जनताको समृद्धिको लागि विज्ञहरूसँग छलफल गरी गुरुयोजना बनाउँदै हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्